२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कप सेमिफाइनलः टस हारेर पहिला ब्याटिङ्ग गर्दै नेपाल

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।

ओमानस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा केहीबेरमा सुरु हुने खेलमा युएईले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

ओमानमा जारी प्रिमियर कपमा समूह ‘ए’ मा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

गत सिजनमा नेपालले फाइनलमा युएईलाई पराजित गरेर विजेता बनेको थियो। साविक विजेता समेत रहेको नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै फेरि एसिया कप खेल्ने लक्ष्य नजिक पुग्न चाहन्छ। तर, गत सिजनमा नेपालसँग उपाधि जित्न नसकेको युएई आजको खेलमा आफ्नो हारको बदला लिँदै उपाधि रक्षाका लागि अघि बढ्न चाहन्छ।

एसिसी प्रिमियर कपको विजेता टोलीले सन् २०२५ मा हुने एसिया कप खेल्न पाउने छ। त्यसकारण पनि नेपालका लागि आजको जित महत्त्वपूर्ण हुनेछ।

नेपालले जारी सिजनमा खेलेको ४ खेलमा सबैमा सानदार जित हात पारेको छ भने युएईले ४ खेलमा १ खेल गुमाउँदै ३ मा जित हात पारेको छ। त्यसकारण पनि साविक विजेता र उपविजेताबीच आजको खेल निकै रोमाञ्चक हुने मानिएको छ।

आजको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल, आशिफ शेखसहित दिपेन्द्रसिंह ऐरीमाथि विशेष नजर रहने छ। समूह चरणको अन्तिम खेलमा राम्रो प्रदर्शन गर्न नसकेका यी खेलाडीहरूले भोलिको खेलमा कस्तो प्रदर्शन गर्छन् भन्नेमा सबैको चासो हुनेछ।

त्यस्तै अविनाश बोहरा, गुलशन झा, कुशल मल्ल, करण केसी, ललित राजवंशी र सोमपाल कामीमाथि पनि नजर रहने छ। युएईका सुरुआती ब्याट्सम्यान अलिशान सराफु, आशिफ खानलाई रोक्न सके धेरै रन बन्न पाउँदैन। त्यसकारण पनि नेपालको बलिङ्ग र ब्याटिङ्ग दुबैमा विशेष ध्यान दिनु पर्नेदेखिन्छ।

आजै हुने अर्को सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेता ओमानले समूह ‘ए’ को उपविजेता हङकङको सामना गर्नेछ। अमेरात क्रिकेट ग्राउन्डमा हुने यी दुई टोलीबीचको खेल दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।

प्रकाशित: ७ वैशाख २०८१ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App