२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोसीका सदस्यसचिवविरुद्ध कारबाही माग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कर्मचारी संघले कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेमाथि कारबाही गर्न विभिन्न निकायलाई अनुरोध गरेको छ। सदस्यसचिव वाग्लेले उसुका प्रशिक्षकमाथि गरेको अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै राखेप कर्मचारी संघले कारबाहीका लागि प्रशासनिक निकायलाई आग्रह गरेको हो। 

मोरङ जिल्ला खेलकुद विकास समितिमा कार्यरत उसु प्रशिक्षक विनोद मारिकले आफूमाथि वाग्लेले अपशब्द प्रयोग गर्दै गाली बेइज्जती र अभद्र व्यवहार गरेको भन्दै गत वैशाख ४ गते मोरङ जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए। १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा खेलाडी सहभागिताको विषयमा बुझ्न सदस्यसचिव वाग्लेको सम्पर्कमा जाँदा आफूमाथि अपशब्द प्रयोग गरिएको मारिकको आरोप छ।

‘राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा खेलाडी सहभागिताका लागि बुझ्न प्रदेश खेलकुद बोर्डको सम्पर्क कार्यालय इटहरी गएको थिएँ। त्यहाँ सदस्यसचिव वाग्लेसँग कुरा बुझ्न खोज्दा अपशब्द प्रयोग गर्दै गालीगलौज गर्नुभयो,’ मारिकको आरोप छ। राष्ट्रपति रनिङ सिल्डकै दौरान पनि वाग्ले र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य जनक बर्तौलाबीच राखेपकै क्यान्टिनमा हात हालहाल भएको थियो। त्यो घटनापछि नेपाली खेलकुदमा वाग्लेको आलोचना हुँदै आएको छ। आइतबार कर्मचारी संघले पनि प्रेस विज्ञप्ति जारी गर्दै उसु प्रशिक्षकमाथि भएको अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको हो।

सदस्यसचिव हंसराज वाग्लेले आफ्नो पदको मर्यादा उलंघन गरेको कर्मचारी संघको आरोप छ। आफ्नो कर्तव्यको बारेमा जानकारी गराइरहेको अवस्थामा प्रशिक्षकमाथि सदस्यसचिव वाग्लेले अभद्र व्यवहार देखाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। वाग्लेले धम्कीको भाषा प्रयोग गर्दै आफ्नो एकल निर्णयबाट प्रशिक्षक, खेलाडी र व्यवस्थापक नियुक्त हुन्छन् भन्दै निज प्रशिक्षक विनोदलाई निम्न स्तरको गालीगलौज, अपशब्द र अभद्र व्यवहार गरेको संघको बुझाइ छ।

वाग्लेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न कोसी प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय मोरङसमक्ष कर्मचारी संघले आग्रह गरेको छ। साथै संघले पीडित उसु प्रशिक्षकलाई न्याय दिलाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष समेत जोडदार माग गरेको छ।

प्रकाशित: १० वैशाख २०८१ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App