२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

महिला हक्कीमा गण्डकी र आर्मी विजयी

फाइल तस्वीर

गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित निकालेका छन्।

काभ्रेको धुलिखेल खेलकुद मैदानमा आइतबार भएको खेलमा गण्डकी र आर्मी दुवैले बाग्मती प्रदेशलाई हराएका हुन्। बाग्मतीले गण्डकीसँग ६–० र आर्मीसँग ९–० को फराकिलो हार सामना गरेको हो।

गण्डकीकी सीतामाया बलले ह्याट्रिक गरिन्। खेलको छैटौं मिनेटमा सीतामायाले गोल गर्दै टोलीलाई अग्रता दिलाइन। ३६औं मिनेटमा गीता पुनमगरले गोल गर्दै अग्रता दोब्बर पारिन्। त्यसको एक मिनेटमा नै सीतामायाले व्यक्तिगत दोस्रो गोल गरिन्। ४५औं मिनेटमा ज्योति काफ्लेले गोल गर्दै गण्डकीको अग्रता ४–० मा पुर्‍याइन्।

ज्योतिले नै ५३औं मिनेटमा अर्को गोल थप्दै गण्डकीलाई ५–० ले अगाडि बढाइन्। सीतामायाले ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् र गण्डकीले ६–० जित निकाल्यो।

आइतबारको अन्तिम खेलमा आर्मीलाई फराकिलो जित दिलाउन सरस्वती तामाङ एक्लैले चार गोल गरिन्। सीमा खड्काले दुई गोल गर्दा डम्मरा भट्ट र सुनीता नेगीले समान एक गोल थपे। त्यसअघि पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र मधेसले १–१ को बराबरी खेले।

सुदूरपश्चिमका लागि १४औं मिनेटमा सन्जु चौधरीले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। ३४औं मिनेटमा भूमिका कुमारीले मधेसका लागि गोल गर्दै टोलीलाई बराबरीमा फर्काइन्।

अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८–० ले हरायो। सुदूरपश्चिमका लागि सन्जु चौधरी ह्याट्रिक पूरा गर्दा नमिता एसके र अनु गिरीले समान दुई गोल थपिन्। पूर्णिमा उरा एक गोल गरिन्।

सोमबार चार खेल हुनेछन्। जारी प्रतियोगितामा आर्मी, बाग्मती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ।  

प्रकाशित: १७ वैशाख २०८१ ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App