२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

पोखरा स्पोर्टस् अवार्डः चार विधामा नोमिनेसन सार्वजनिक

वर्ष २०८० को पोखरा स्पोर्टस अवार्ड को नोमिनेसन सार्वजनिक गरिएको छ। खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले यहि वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८० को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो।

मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरेको हो। 

पोखरा स्पोर्टस अवार्ड–२०७८ अन्तर्गत वर्ष सर्वोत्कृष्ट पुरुष विधामा अर्जुन कुमाल (क्रिकेट), प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) नोमिनेसनमा परेका छन्। त्यस्तै, वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा अनुस्का शेरचन (आर्चरी), अरुणा शाही (भलिबल) र सुस्मिता थापा मगर (आईटिएफ तेक्वान्दो) परेका छन्। 

वर्ष उदीयमान खेलाडीमा ज्योत्सीका मरासिनी (क्रिकेट), दिलासा राना (व्याडमिन्टन), र बादल कार्की (एथ्लेटिक्स) नोमिनेसनमा परेको मञ्चका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए। यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा निरज थापा (टेनिस), रमेश केसी ((भलिबल) र रिजन प्रजु (क्रिकेट) नोमिनेसनमा परेको उनले बताए। 

मञ्चले वार्षिक रुपमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डमा ७ विधामा अवार्ड वितरण गर्दै आएको छ। बाँकी ३ विधा लाईफटाईम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड र वर्ष उत्कृष्ट खेल संघ अवार्डको छनौट केहि दिनपछि गरेर सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए। 

मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक–एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ। त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५ हजार रुपैयाँ प्रदान गर्ने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकासँगको सहकार्य तथा राष्ट्रिय खेलकुद परिषद (राखेप), गण्डकी खेलकुद परिषद (गखेप), पोखरा महानगर खेलकुद परिषदको सहयोगमा हुने अवार्डको तयारी तिव्र रुपमा भइरहेको जनाएको छ। अवार्डलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मञ्चले अध्यक्ष दीनानाथ बरालको संयोजकत्वमा मूल समारोह समिति बनाएको छ।

प्रकाशित: १७ वैशाख २०८१ १६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App