नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ट्वेन्टी– २० शृङ्खलाको अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपालले पाहुना टोलीलाई ६ विकेटले पराजित गरेकाे हाे।
वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। जितका बाबजुद नेपालले शृङ्खला भने गुमाएको छ। पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ ३–२ ले च्याम्पियन बन्यो।
नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरे। ओपनर शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाएर आउट भए। अनिलले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रनकाे याेगदान दिए। कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे। ओपनर कुशल भुर्तेललाई नेपालले १३ रनमा गुमाएको थियो।
दीपेन्द्रसिंह ऐरी ६ बलमा ५ रन बनाएर आउट भए। वेस्ट इन्डिज ‘ए’ का लागि ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भ्रमणकारी टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनको योगफल तयार पारेको थियो।
क्यारेबियन टोलीका लागि एलिक अथानाजले नटआउट ४२, क्याप्टेन रोस्टन चेजले ३३, जोन्सन चार्ल्सले २४ र म्याथ्यु फोर्डले २३ रन बनाए। भ्रमणकारी टोलीविरुद्धको शृङ्खलाको अन्तिम खेलमा घातक बलिङ गर्दै सोमपाल कामी र सागर ढकालले समान ३-३ विकेट लिए।
आफ्नो स्पेलमा सोमपालले मात्र १६ रन खर्चिएर ३ विकेट लिएका थिए। २ ओभरमात्र बलिङ गरेका स्पिनर सागरले ३ विकेट लिन मात्र १७ रन खर्चे। अभिनाश बोहोराको नाममा एक विकेट रह्यो।
प्रकाशित: २२ वैशाख २०८१ १५:२६ शनिबार