उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा उपमहानगरपालिकाले बुधबार प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
ललितपुरको महाङ्काल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा बुधबार हेटौंडाले फाइनलमा मकवानपुरकै थाहा नगरपालिकामाथि ३–२ को कठिन जित निकाल्दै उपाधि उचालेको हो।
हेटौंडाले आफ्नै जिल्लाको प्रतिद्वन्द्वी थाहाविरुद्ध पहिलो दुई सेट गुमाउन पुग्यो। थाहाले पहिलो दुई सेट २५–२१ र २५–१७ ले आफ्नो बनायो। यससँगै थाहा उपाधिनजिक पुग्यो। तर, दुई सेटले पछि परेको स्थितिमा पनि हेटौंडाले उत्कृष्ट पुनरागमन गर्यो।
यस क्रममा हेटौंडाले क्रमशः तेस्रो सेट २५–१६ र चौथो सेट २५–१५ ले आफ्नो बनायो। यससँगै सेटमा २–२ को बराबरी भएपछि खेल निर्णयका लागि पाँचौं सेटतर्फ धकेलियो। तर, पाँचौं सेटमा हेटाैंडाले एकपक्षीय प्रदर्शन गर्दै पूर्ण दबाब बनायो।
यस क्रममा उत्कृष्ट कमब्याक गरेको हेटौंडाले यो सेट १५–४ ले सहजै आफ्नो पक्षमा पार्दै रोमाञ्चक जितसहित उपाधि उचालेको हो। प्रतियोगिताको सेमिफाइनलमा पराजित महाङ्काल गाउँपालिका र घ्याङलेख गाउँपालिका तेस्रो भए।
उपाधि विजेता हेटौंडाले तीन लाख र उपविजेता थाहा नगरपालिकाले दुई लाख रूपैयाँ प्राप्त गरे। तेस्रो टोली महाङ्काल र घ्याङलेखले समान एक लाख रूपैयाँ पुरस्कार पाए। यसअघि बुधबार नै भएको सेमिफाइनलमा थाहाले घरेलु टोली महाङ्काल गाउँपालिकालाई हराएको थियो।
हेटौंडाले भने मंगलबार नै सिन्धुलीको घ्याङलेख गाउँपालिकालाई ३–१ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारीअनुसार थाहा नगरपालिकाका विष्णु क्षत्री उत्कृष्ट खेलाडी घोषित भए।
उपाधि विजेता हेटौंडाका सुजन चोखाल उत्कृष्ट सेटर र उत्कृष्ट लिबेरोमा हेटौंडाका राजन दर्लामी मगर घोषित भए। महाङ्काल गाउँपालिकाका जीवन सुनार उत्कृष्ट ब्लकर भए। उपाधि विजेता हेटाैडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक भए।
विधागत उत्कृष्ट सबैले समान ५० हजार रूपैयाँ पुरस्कार पाए। विजेतालाई आयोजक टोलीकी संयोजक डोल्मामाया गोलेलगायतले पुरस्कार प्रदान गरे। १६ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिताको क्वार्टरफाइनलसम्म बेस्ट अफ थ्री र सेमिफाइनलदेखि बेस्ट अफ फाइभमा प्रतिस्पर्धा भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालका छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो। प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशको सहयोग रह्यो। नेपाल भलिबल संघको प्राविधिक सहयोग र ललितपुर जिल्ला खेलकुद विकास समिति सहआयोजक रहेको थियो।
प्रकाशित: २७ वैशाख २०८१ ०७:३४ बिहीबार