७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

रोहितको क्लब शीर्षमा

नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार रोहित चन्दको क्लब आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार स्पोर्ट्स एकेडेमी साँगालाई २–० ले हराउँदै आरसी ३२ शीर्ष स्थानमा उक्लिएको हो। आरसी ३२ का लागि सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान एक गोल गरे। जितसँगै आरसी ३२ ले सात खेलबाट १६ अंक जोडेको छ।

समान खेल खेलेको साँगा ९ अंकका साथ छैटौं स्थानमा छ। त्यसअघि आरसी ३२ ले खेलको १०औं मिनेटमा नै अग्रता लिएको थियो। सुजनले गोल गर्दै आरसी ३२ लाई अग्रता दिलाएका हुन्। उनले विवश बिसीको बललाई हेडरमार्फत पोस्टको दिशा दिए।

त्यो गोलपछि पहिलो हाफमा आरसी ३२ ले १–० को अग्रता लियो। दोस्रो हाफमा पनि आरसी ३२ ले दोस्रो गोल थप्यो। ६५औं मिनेटमा सञ्जयले गोल गर्दै आरसी ३२ को अग्रता दोब्बर बनाए।

पेनाल्टी बक्सबाहिरबाट उनले गरेको प्रहारले जाली चुम्न पुग्यो। त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र आरसी ३२ जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो। बुधबार नै भएको दोस्रो खेलमा झम्सिखेल युवा क्लबले स्वयम्भू क्लबविरुद्ध १–० को कठिन जित निकाल्यो।

एन्फा कम्प्लेक्सको मैदानमा झम्सिखेलका अविनाश चौधरीको एक मात्र गोल जितका लागि पर्याप्त बन्यो। जितसँगै झम्सिखेलले सात खेलबाट  १० अंक जोड्यो र पाँचौं स्थानमा उक्लियो। स्वयम्भू भने समान खेलबाट एक अंकका साथ पुछारमा छ। त्यसअघि खेलको २७औं मिनेटमा अविनाशले गोल गरेका थिए। उनले आशिष बमको दिएको बललाई नियन्त्रणमा लिँदै पेनाल्टी बक्सभित्रबाट गोल गरेका हुन्।

प्रकाशित: २७ वैशाख २०८१ ०८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App