७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

खेलाडीलाई तीन करोड रूपैयाँबराबरको पुरस्कार

चीनमा सम्पन्न एसियाली खेलकुदका पदकविजेता र ट्वान्टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले करिब तीन करोड रूपैयाँबराबरको पुरस्कार पाउने भएका छन्।

बिहीबारको मन्त्रिपरिषद् बैठकले १९औं एसियाली खेलकुद र चौथो एसियाली पारा खेलकुदका पदकविजेता तथा प्रशिक्षकका साथै राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई दुई करोड ९७ लाख १० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत वर्षको मंसिरमा नै खेलाडी र प्रशिक्षकको पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत प्रस्ताव पेस गरेको थियो। १९औं एसियाली खेलकुदमा करातेकी खेलाडी एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।  

उनले जितेको पदक एसियाली खेलकुदमा व्यक्तिगततर्फ दोस्रो ठूलो सफलता हो। उनै एरिकाले १९ लाख ५० हजार र उनका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले दुई लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवासगोपाल वैद्यले जनही एक लाख ९५ हजार पाउने भएका छन्। सोही एसियाली खेलकुदमै नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। त्यो पदक जित्ने टोलीका १२ खेलाडीले जनही तीन लाख ९० हजार रूपैयाँ पाउनेछन्।

कबड्डी टोलीकी प्रमुख प्रशिक्षक पार्वती राईले दुई लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले भने जनही एक लाख ३० हजार रूपैयाँ प्राप्त गर्नेछन्। समग्रमा नेपाली कबड्डी टोलीले कुल ४८ लाख दश हजार रूपैयाँ पाउने भएको छ। लगत्तै चीनमा नै सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले कांस्य पदक जितेकी थिइन्। यो पदक पारातर्फ एसियाली खेलकुदमा पहिलो हो। सोही ऐतिहासिक सफलता प्राप्त गरेकी पलेशाले १३ लाख र प्रमुख प्रशिक्षक कविराज नेगी लामाले दुई लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले एक लाख ३० हजार रूपैयाँ पाउनेछन्।

विश्वकपमा छनोट भएको नेपाली टोलीले भने कुल दुई करोड चार लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। टोलीका १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले तीन लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही एक लाख ९५ हजार रूपैयाँ नगद प्राप्त गर्दै छन्। मन्त्रिपरिषद्बाट पुरस्कार अनुमोदन भएसँगै युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाल सरकार र अर्थ मन्त्रालयलाई पनि धन्यवाद दिए।

सदस्यसचिव घिसिङले प्रस्ताव गरेको लामो समयपछि खेलाडी र प्रशिक्षकले पुरस्कार पाउने भएपछि निकै खुसी लागेको उल्लेख गर्दै यसले विश्वकप खेल्ने खेलाडीमा पनि प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे। साथै उनले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को दफा २८ को उपदफा ‘७’ मा पुरस्कारसम्बन्धी व्यवस्था भएबमोजिम प्रतियोगिताको वर्गीकरण गरेकाले खेलाडीलाई पुरस्कार प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे।

प्रकाशित: २८ वैशाख २०८१ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App