मिसन फागुन ७
०७ फागुन २०६६
•
२४ मिनेट पाठ
मिसन फागुन ७
धेरैले २०६२/६३ को जनआन्दोलन देखेका छन्। २०४६ को परिवर्तन देख्ने र सुन्ने पनि त्यत्तिकै छन्। तर २००७ को परिवर्तन देख्ने र सुनाउनेहरू अब थोरै बाँकी छन्। यहीँबाट सुरू भयो हाम्रो यो मिसन- एक सय चार वर्षीय जहानिया राणा शासनबाट नेपाली जनताले मुक्ति पाएको घडी सम्झने।

नयाँ पुस्तामात्र होइन, पुराना पुस्ता पनि यी जिज्ञासाबाट मुक्त छैनन्। अरू त अरू, २००७ साल वरपर जन्मेकाहरू समेत त्यतिखेरको क्रान्ति र त्यसको नालिबेलीबाट अनभिज्ञ छन्।

किन यस्तो?

'हामीकहाँ डकुमेन्टेसन राम्रो छैन। केही पुस्तक लेखिए होलान्, त्यो पनि पढ्ने बानी छैन। सबै 'अरे'का भरमा चलेको छ,' बागबजारका अर्जुन श्रेष्ठ, ४३, ले भने।

खोज्दै जाँदा भेटिए कीर्तिपुरका सन्तबहादुर महर्जन। यिनी थिए राणा प्रधानमन्त्री जुद्धशमसेर र चन्द्रशमसेर जंगबहादुर राणाको कार्यकालमा सिंहदरबार बगैंचाका माली।

***

कीर्तिपुरको नयाँबजार। पुरानो सहर, आधुनिक भवन।

'सन्तबहादुर (महर्जन) को घर यही हो?'

भुईतल्लाको इलेक्ट्रोनिक्स पसलेबाट जवाफ आयो- 'हो, किन होला?'

केही छिनको सवाल-जवाफपछि थाहा भयो, ती पसले रहेछन् सन्तबहादुरका नाति- कृष्णगोपाल महर्जन। नातिको उमेरै ४० नाघिसकेछ। बाजेको कति भयो होला? 'पाँच बीस पुग्न चार वर्ष बाँकी,' उनले भने। अर्थात्, ९८ वर्ष।

फलामे भर्‍याङ उक्लँदै पाँचौं तला पुगियो। सन्तबहादुर फागुनको पारिलो घाममा सुकुलमाथि पल्टिरहेका थिए। पातलो च्यादरले उनको बूढो दुब्लो शरीर गम्लंग ढाकिएको थियो। उनलाई चिन्न गाह्रो भएन। छेवै उनको अनुहारसँग मिल्दाजुल्दा अर्का व्यक्ति थिए।

आफ्नो परिचय र हाम्रो मिसनबारे जानकारी गराउनेबित्तिकै जे जवाफ आयो, त्यसले मन अलिकति खिन्न गरायो।

'बा धेरै बोल्न सक्नुहुन्न। फेरि डाक्टरले नबोल्न भनेका छन्,' नजिकै बसेका व्यक्तिले उनको स्वास्थ्य स्थितिबारे जानकारी दिए। लाग्यो किन पाँच-सात वर्षअघि यहाँ आउन सकिएन?

***

सन्तबहादुर चाहेर पनि बोल्न सक्दैनन्। तर उनको स्मृतिबाट सात साल ब्युँताउने हाम्रो उद्देश्यमा साथ दिन तम्सिए आडै बसेका व्यक्ति। उनी रहेछन् सन्तबहादुरका जेठा छोरा जीतलाल। १९९१ सालमा कीर्तिपुरको भाजञ्गलमा जन्मेका जीतलाल सात सालको परिवर्तन हुँदा १६ वर्ष पुगेका थिए। उनले बाबुले विगतमा सुनाएको सात सालको कथा बाबुकै अगाडि हामीलाई कहने बिंडो उठाए।

कुनै समय सन्तबहादुर वरिपरि गाउँका मान्छे भेला पारेर राणा परिवारभित्र र बाहिरका कथा सुनाउँथे। अहिले उनी आफ्नो त्यही कथा छोराको मुखबाट सुन्दैछन्।

जीतलाल बोलिरहँदा उनका बाबु बीचबीचमा मुन्टो हल्लाएर सहमति जनाउँथे। सन्तबहादुर आफैंले ती कुरा सुनाउन सकेका भए कसरी सुनाउँथे होलान्? सायद यसरी नै सुरुवात गर्थे कि :

सालचाहिँ मलाई ठ्याक्कै याद हुँदैन कुनै पनि। अब उमेर पनि निकै भयो। बुढ्यौली जति बढ्यो त्यति भुलक्कड बन्दै गइने रहेछ।

जनताको आफ्नो भन्नु केही थिएन। जे थिए सबै राणा र तिनकै आसेपासेका। सम्पत्तिका नाममा एउटा छाप्रो, त्यसभित्र रहेका भाँडाकुडा- ताप्के, हाँडी, कराई, घ्याम्पो, भुँड्को, थाल। व्यक्तिगत सम्पत्ति थिएन। हुनेखानेकहाँ पित्तल, तामाका भाँडा हुन्थे।

किसानमाथि निकै थिचोमिचो गरे राणाहरूले। अरू जनतामाथि पनि उस्तै। खेती गर्ने किसान, अन्न लान्थे राणाहरू। एक रोपनी जग्गाको दुई मुरी धान राणाकहाँ कुत बुझाउनुपर्थ्यो। अनि किसानको भागमा कति बच्थ्यो, अनि उनीहरू कति खान्थे?

धान आफैंले लगेर बुझाउनुपर्थ्यो बबरमहलस्थित 'बबर गोदाम' मा। यसलाई उन्ताका 'धान गोदाम' पनि भनिन्थ्यो क्यार। पैसा दिएर हुँदैनथ्यो। हुन त गरिब किसानसँग के नै पैसा हुन्थ्यो र? गरिब किसान आफैं बोकेर धान बबर गोदाम पुर्‍याउँथे।

सात सालको परिवर्तन हुनुमा किसानको ठूलो हात छ। नेपाली कांग्रेसले त्यतिबेला 'पाँच पाथी भाउ' नारा दियो। एक मुरी धान उब्जनी भएमात्र पाँच पाथी सरकारलाई बुझाए पुग्ने। यो नारा कांग्रेसले गाउँगाउँमा पुर्‍यायो। किसानको विश्वास जित्यो। फलस्वरूप किसानले राणाविरोधी आन्दोलनलाई सघाए। सात सालको परिवर्तनलगत्तै कांग्रेसले यसलाई कार्यान्वयन पनि गर्‍यो। किसानले यसबाट धेरै राहत पाए।

बबर गोदाममा जम्मा भएको धान राणा परिवारकहाँ पुग्थ्यो। किसान मरी-मरी काम गर्थे, अनि राणा बसी-बसी खान्थे। राणा कर्नेल, जर्नेल, विचारी, खरदार, लप्टन, कप्तान सबैले खान्की पाउँथे। हुन त म पनि सिंहदरबारमा माली थिएँ, राणाकै एक कर्मचारी। तर हामीलाई खान्की दिंदैनथे।

मैले चन्द्रशमसेरको पालामा सिंहदरबारमा माली भएर काम सुरु गरेको थिएँ। सात मोहर मेरो तनखा थियो। राणाको कर्मचारी भएकाले सात सालको आन्दोलनमा म सहभागी हुन सकिन। मेरो नैतिक समर्थन भने थियो। राजनीतिक कुरा जीतलाललाई सोध्नोस्, आन्दोलनमा हिंड्ने उही हो। राणा प्रधानमन्त्रीकोमा जागिरे भइकन पनि छोरालाई मैले राणाविरोधी आन्दोलनमा लाग्न सघाएको थिएँ। त्यो समय यो कुरा राणाले थाहा पाएको भए म आजसम्म ज्युँदो रहने थिइन होला। जे जति भयो सबै गोप्य।

चन्द्रशमसेरपछि जुद्धशमसेरको पालामा पनि म सिंहदरबारकै माली थिएँ। पछि जुद्धशमसेरका ठूला छोरा, नामचाहिँ मलाई याद भएन, ठाइँलो जर्नेल भन्थे। उनले जावलाखेलस्थित आफ्नो महलमा माली नै बनाएर लगे। एकदिन मैंले बगैंचामा १४ इन्चको लाहुरे फूल फुलाएपछि उनले मलाई बकस दिएका थिए। ठाइँलो जर्नेलले टेप ल्याएरै नापेका थिए, मैले भन्दा नपत्याएर।

एकदिन मैले गजबको दृश्य देखें सिंहदरबारमा। अझै पनि त्यो दृश्य मेरो आँखाअगाडि आउँछ। गणेशमान सिंहलाई समातेर सिंहदरबार ल्याइएको थियो। नरशमसेरले उनले कोर्रा हान्ने आदेश दिए। बीपी कोइराला बाहुन भएकाले उनलाई कुट्दैनथे। गणेशमानमाथि भने कोर्रा बर्साइयो। सम्भि्कंदा अहिले पनि आङ सिरिङ्ग हुन्छ। कोर्रा हान्दाहान्दा पिट्ने व्यक्तिले थाकेर भने, 'बिरामी छु भन पिट्दैनन्, छाडिदिन्छन् पनि।'

'किन बिरामी छु भन्ने। तिमीहरूजस्तो राणाका छोरी बहिनी ताकेका छैनौं क्यारे,' गणेशमानले यही जवाफ फर्काएका थिए। म गाउँ फर्कंदा हल्ला भइसकेको थियो, आज गणेशमानले कुटाइ खायो रे भन्ने।

राणाहरूले त कीर्तिपुरबासीलाई पानी खान पनि दिएनन्। दूधपोखरीको पानी कीर्तिपुरबासीले प्रयोग गर्दै आएका थिए। पानी निकै मिठो भनेर राजधानीमै कहलिएको थियो। राणाहरूको नजर दूधपोखरीको पानीमा पर्‍यो। तिनले त्यो पानी जावलाखेल पुर्‍याए। कीर्तिपुरबासी चिल्लै।

सात सालअघि ठूलाठूला महल खडा गर्ने काम राणाहरूबाट भयो। सबै आफ्नै नाममा। महल बन्थे राणाहरूका लागि, दुःख पाउँथे गरिब जनता। काठ चिर्न जाउ जनता, काठ बोकेर ल्याउ जनता, ढुङ्गा बोक जनता। कम ज्याला लेउ जनता। हदैसम्मको थिचोमिचो थियो।

जंगलमा काठ कटाउन राणाहरूले सहर र गाउँका मानिस लग्थे। राणाहरूले पहिला झ्याली पिटाउँथे काम गर्ने मान्छे चाहियो भनेर। फलानो दिन यति मानिस यो गाउँ, यो सहर, यो ठाउँबाट चाहियो भन्ने झ्याली पिटिन्थ्यो। राणाबाट बक्स भएको कुरा ल्याउनेलाई 'मा' भनिन्थ्यो। यो मुखियाजस्तै हो। राणाका काममा क-कसलाई लाने भन्ने निर्णय 'मा'ले गर्थ्यो। कसैले नाई भन्न पाउँदैनथे।

राणाको दरबार बनाउने काठ चिर्न कीर्तिपुरबाट एक वर्षमा ४० जना गएका थिए। काठ चिर्ने काम काठमाडौंमा हुँदैनथ्यो। कहाँ हो कहाँ। गएर फर्केर आउनेले भन्थे, हप्तौं दिनमा बल्ल त्यो जंगल पुगिन्थ्यो। जंगल जाने दिन घरमा रूवाबासी चल्थ्यो। कस्तो जंगलमा जान लागेको हो, बाघ भालुले खाने पो हो कि वा रूखले थिचेर मर्ने पो हो कि, फर्केर आउने हो कि होइन भनेर परिवार निकै चिन्तित हुन्थे। तर जे भए पनि नगई सुख थिएन। जंगल पठाउनुअघि सगुन दिएर पठाउने चलन थियो।

कष्ट निकै दिएका थिए जनतालाई। ६० वर्षअघि यति खुसीले बाँचेका थिएनन् जनता। सुखले खान पाएका थिएनन्। एक छाक खान धौधौ पर्थ्यो। त्यसै ढलेका होइनन् राणा? राणाहरूले खाएको, लाएको, मोजमस्ती गरेको म कसरी वर्णन गरूँ। मसँग ती कुरा वर्णन गर्ने शब्दै छैनन्। अहिले त्यस्तो मस्ती कसले गर्न सक्छ? गाडी, बग्गी, घोडा, जे चढ्न मन लाग्यो त्यही थियो राणासँग। जनताका खुट्टामा एक जोर जुत्ता थिएन। सिंहदरबारमा राणा प्रधानमन्त्रीकहाँ काम गर्ने मेरा खुट्टाले कहिल्यै जुत्ता पाएन त्यहाँ जाँदा। जति दिन मैले सिंहदरबारमा काम गरें सबै दिन खाली खुट्टा गएँ।

राणालाई छाकैपिच्छे मिठो खाना चाहिन्थ्यो। जुद्धशमसेर तामा, ढलोट, फलामको भाँडामा पकाएको भात खाँदैनथे। उनलाई माटोको भाँडो (माटोको कसौडी) मा पकाएकै भात चाहिन्थ्यो। माटोको भाँडोमा पकाएको भात निकै मिठो हुन्थ्यो रे। भक्तपुर ठिमीबाट कुमालेले दिनको दुईवटा माटोको कसौडी सिंहदरबार ल्याउने काम पाएका थिए।

कुनै दिन राणा शासन ढल्छ, मलाई पक्का थियो। तर यति सहज र छिट्टै ढल्ला भन्ने कल्पना गरेको थिइनँ। सात सालको परिवर्तन हुँदा म सिंहदरबारबाट जावलाखेल ठाइँलो जर्नेलकहाँ सरिसकेको थिएँ। जुन परिवर्तनले मलाई मालीबाट पूर्ण रूपमा अभिभावक बनायो। परिवर्तनले जनतामा निकै ठूलो उत्साह छाएको थियो। जनता अब हाम्रो पनि सम्पत्ति हुन्छ, हाम्रा हातमा पनि लालपूर्जा हुन्छ भन्नेमा थिए। नभन्दै त्यही भयो। किसानले एक रोपनीमा दुई मुरी कुत बुझाउने बाध्यताबाट मुक्ति पाए। मुरीको पाँच पाथी बुझाए हुने भयो। झण्डै वर्षको पाँच-सात मुरी धान किसानको जोगियो। जसले चार-पाँच महिना ओत्थ्यो।

***

बाबुको कुरा सकिएपछि अब जीतलालको आफ्नै अनुभव सुनाउने पालो आयो। सात सालको क्रान्तिमा उनी सक्रिय सहभागी थिए। उनी पढेर राजनीतिमा लागेका होइनन्। ७४ वर्षे जीतलाललाई पनि त्यो बेलाको साल र गते उतिसाह्रो याद छैन। घटनाको स्मरण भने ताजै छ।

'सहरमा राणाविरोधी आन्दोलन चर्केको छ भन्ने सुनेका थियौं। आन्दोलन कस्तो हुन्छ मलाई थाहा थिएन,' जीतलाल भन्दै थिए, 'कीर्तिपुरका दुई-चारजना मान्छे लुकिछिपी कुरा गर्थे आन्दोलनका विषयमा। एकदिन म पनि मिसिएँ।'

गणेशमान सिंह सुन्दरीजल जेलबाट छुटेको खबर पाएपछि तत्कालै केही साथीको हुलमा मिसिएर जीतलाल पहिलोपल्ट गणेशमानको घर पुगे। 'सायद म त्यतिबेला १३ वर्षको थिएँ कि,' बुढ्यौलीले जीतलाललाई पनि छोइसकेको छ। उनी यकिनसाथ आफ्नो उमेर भन्न सकिरहेका छैनन्। त्यतिबेलासम्म उनलाई आन्दोलन के हो, नेपाली कांग्रेस के हो, कम्युनिस्ट के हो भन्ने केही पत्तो थिएन।

उनीहरू १५/२० जना कीर्तिपुरबाट गणेशमानको घरसम्म लुकी-लुकी गएका थिए। अरूको मनमा के थियो थाहा छैन। जीतलाललाई भने आन्दोलनको बारेमा बुझ्नु थियो। त्यसैले जेलनेल बसेर छुटेको मान्छेसँग बढी सिक्न पाइन्छ भनेर उनी गणेशमानकहाँ पुगेका थिए। त्यो दिन खासै उनको जिज्ञासा मेटिन सकेन। उनी भीडमा एक छेउ बसेर त्यसै फर्के।

एकदिन कीर्तिपुरमै दही बेच्दै गर्दा जीतलालले सुने, गणेशमान कीर्तिपुर आउँदै छन्। यो गणेशमान सुन्दरीजल जेलबाट निस्केको एक सातापछिको कुरा थियो। उनले तत्कालै निधो गरे, 'म पनि जान्छु भेट्न।'

गणेशमान एउटा घरमा आधा घण्टाभन्दा बढी बिताउँदैनथे, त्यो पनि लुकी-लुकी राणाको आँखा छलेर। को आफ्नो, को पराया छुट्टयाउन निकै कठिन थियो। दुश्मनलाई पनि विश्वासमा लिनुपर्ने समय थियो त्यो।

जुलम भाइको घरमा मिटिङ भयो। गणेशमान पनि आए, हिंडेरै। उपस्थित व्यक्तिहरू थिए सात। त्यो समयका लागि यो संख्या निकै ठूलो थियो। धेरैजना राणासँग डराउँथे। मिटिङमा किसानले दुःख पाएकोमा गणेशमानले निकै चिन्ता व्यक्त गरे। पाँच पाथी भाउको बारेमा गणेशमानले सबैलाई बुझाए।

मिटिङमा गणेशमानले के भने त?

'राणा विरुद्धको संघर्ष मेरालागि मात्र होइन। बुझ्नुहोस् भाइहरू। यत्रो वर्ष जेल बसेर भगवान्को कृपा र तपाईहरूको आशीर्वादले बाँचेका छौं। मलाई पनि समातेर लग्ला भनेर तपाईहरू चिन्ता नगर्नुहोस्। अब चिन्छन् राणाहरूले। अब टोलटोलमा यसरी छलफल गर्दै एकजुट भई अगाडि बढ्नुपर्छ। चिन्ता नगर्नुस्, डर मान्नुपर्दैन। अब राणाहरूले कडा व्यवहार गर्न सक्दैनन्। तैपनि खुला हुनु हुँदैन,' गणेशमानको भनाइ सम्झँदै थिए जीतलाल।

छुट्टिनेबेला गणेशमानले साताको एक दिन आफ्नो घरमा छलफलका लागि आउन निम्तो दिए। त्यसपछि महिनाको एकपटकजस्तो क्षेत्रपाटी पुग्न थाले जीतलाल र उनका साथीहरू। बेलाबेला गणेशमान पनि कीर्तिपुर आउँथे।

एकपटक गणेशमानले गुहेश्वरीमा भोज ख्वाए। भोजमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत तीन सय जनाजति आएका थिए। भोजमा पुगेका थिए जीतलालसहित कीर्तिपुरको टोली। नाम भोज भनिए पनि खास काम भने राजनीतिक छलफल थियो। कार्यकर्ता भेट्ने बहाना, सहज बहाना।

जीतलालका अनुसार भोजमा गणेशमानको सम्बोधन यस्तो थियो, 'आशा गरेअनुसार काम भएको छैन। तैपनि आत्तिनुपर्दैन। गाउँगाउँ एक ढिक्का हुनुपर्छ। भेटघाट बढाउनुपर्छ।' बीपी कोइरालालाई भने जीतलालले भेट्न पाएनछन्।

आन्दोलनले विस्तारै गति लिंदै थियो। लुकिछिपी हुने भेटघाट खुला हुन थाल्यो। सडकमा नाराजुलुस देखिन थाल्यो। यो २००७ साल फागुन ७ गतेभन्दा अगाडिको कुरा। जीतलालले सम्झे, 'न्युरोड, असन हुँदै जुलुसले टुँडिखेल घुम्थ्यो।'

'जग्गा किसानको हुने भन्ने टुंगो नलागेसम्म किसानको साथ पाइँदैन भन्ने त्यतिबेलाका नेताले बुझेका थिए,' जीतलालले भने, 'पाँच पाथी तलसिङ बुझाउने भनी कांग्रेसले किसान उठाउने नारा दिएपछि आन्दोलनमा जनसहभागिता बढ्यो।'

उनले थपे, 'राणालाई कुत बुझाउनुपर्ने, किसानलाई खानै नपुग्ने। एक घान मकै बढी खाँदा पनि आमाको कुटाइ खानुपर्थ्यो, बढी खायो पुग्दैन भनेर। गणेशमानले भनेको कुरा ठीक रहेछ भन्ने लाग्यो। आफ्नै घरको अनुभवले म आन्दोलनमा होमिएँ।'

कीर्तिपुरमा पनि विस्तारै आन्दोलनले तीव्रता लियो। कीर्तिपुरको जुलुसमा मुश्किलले २५/३० जना जम्मा हुन्थे। जीतलालले कुनै पनि जुलुस छुटाएनन्।

नारा के हुन्थ्यो त जुलुसमा?

'राणा शासन- मुर्दावाद, चारतारे- जिन्दावाद,' उनले सम्झे।

आन्दोलन दबाउन राणाहरूले प्रहरी परिचालन गरेका थिए। त्यो बेला रातो फेटा बाँध्थे प्रहरीले। खुकुरी र बाँसको लठ्ठीसहित आउँथे। प्रहरीको कुटाइबाट घाइते आन्दोलनकारीलाई वीर अस्पताल लगिन्थ्यो। उपचार सम्बन्धित पार्टीले नै गर्थ्यो।

जुलुस यति बजे हुँदैछ भन्ने कसरी खबर हुन्थ्यो त?

'प्रायः आन्दोलनको अन्ततिर अब यो दिन यति बजे यो ठाउँमा जम्मा हुने भन्ने खबर गरिन्थ्यो। कहिलेकाहीँ विशेष मान्छेमार्फत् पनि यो खबर फिंजाइन्थ्यो,' जीतलालले भने, 'जसले पहिला खबर सुन्छ उसैले वरिपरिकालाई खबर दिनुपर्थ्यो।'

खबर पाए जीतलाल सहरको जुलुसमा जान्थे, नपाए कीर्तिपुरको जुलुसमा। ठमेल, असन, क्षेत्रपाटी र न्युरोड त्यो समय बढी आन्दोलन हुने क्षेत्र थिए।

जुलुसमा जान डर लागेन?
'केही हुँदैन भन्ने जोशमा जान्थ्यौं हामी। आफूसरहको साथी देखेपछि साहस त्यसै बढ्थ्यो,' उनले हाँस्दै भने।

आन्दोलन बढ्दै जाँदा टुँडिखेल घुम्ने जुलुसको संख्या दुई-तीन सयबाट बढेर हजार नाघ्नथाल्यो। कीर्तिपुरमै दुई-तीन सय जम्मा हुन थाले जुलुसमा।

आन्दोलन बढेपछि राणाहरूका सामू एउटै विकल्प रह्यो। जनतासामू घुँडा टेक्ने। त्यही गरे उनीहरूले। २००७ फागुन ७ गते देशमा प्रजातन्त्र घोषणा भयो। जनताले सडकमा उर्लिएर खुसियाली मनाए।

'नेपाली जनताले प्रजातन्त्र ल्याउन त सके, तर सम्हाल्न जानेनन्। समयले जिम्मेवारी सुम्पेका बेला नेतृत्व वर्गले जनताको चित्त बुझाउन सकेन,' यसो भन्दा जीतलाल निकै गम्भीर देखिएका थिए।
अर्को समाचार
'मिसन पैसा'को 'डेट' अब सर्दैन!
०५ फागुन २०७१
•
३ मिनेट पाठ
'मिसन पैसा'को 'डेट' अब सर्दैन!
काठमाडौं- आउँदो फागुन १५ बाट रिलिजको तयारी गरिएको फिल्म 'मिसन पैसा २'का गीतहरु काठमाडौंस्थित क्युज सिनेमा हलमा सोमबार सार्वजनिक गरियो। फिल्मको गीति एल्बम निशा अधिकारी, हर्षिका श्रेष्ठ, रेश मरहट्ठा, आमिर गौतम लगायतले एक साथ विमोचन गरे।
तीन वर्षमा बल्ल तयार भएको फिल्मको एकपछि अर्को रिलिज मिति तोकिएको भए पनि प्राविधिक कार्य लम्बिँदै गएपछि रिलिज अड्किएको थियो। 'यो मिति चाहिँ अन्तिम हो,' फिल्म निर्माता माधव वाग्लेले भने, 'अब रिलिज हुन्छ र दर्शकले एउटा गतिलो एक्सन थि्रलर फिल्म हेर्न पाउनु हुन्छ।'

कार्यक्रममा फिल्म निर्देशक सिमोश सुनुवारको उपस्थिति थिएन। निर्माण समूहले स्वास्थ्यका कारणले उनी आउन नसकेको जानकारी गराएका थिए। यसअघि 'फस्ट लभ', 'लुट' र 'छड्के' निर्माण गरिसकेको प्रिन्सेस फिल्मले यसको निर्माण गरेको हो। यो फिल्मले पनि आफ्ना अघिल्ला फिल्म जत्तिकै व्यापार गर्ने अपेक्षा माधवले गरे।

आफ्नो पहिलो फिल्म 'मिसन पैसा' भएको र दोस्रोमा पनि आफू दोहोरिन पाउँदा खुसी लागेको अभिनेत्री निशा अधिकारीले बताइन्। उनले पहिलो फिल्मले डिजिटल फिल्म मेकिङमा गोरेटो बनाएको सम्झँदै राम्रो टोलीसँग काम गर्नु सधैं रमाइलो हुने अनुभव साटिन्।

निशाले फिल्मको एउटा गीतमा प्रियंका कार्कीको कामको समेत तारिफ गरिन्। 'मलाई जहिले पनि एक्सन सिन गर्न मन पर्छ,' उनले भनिन्, 'भारतीय हिरोइन पनि एक्सन फिल्ममा जम्न सकेका छैनन् तर हामीले जम्न सक्दो प्रयास गरेका छौँ।'

फिल्ममा मार्सल आर्टको मिसमास द्वन्द्व स्टाइलिस देखाउने प्रयास गरेको फाइट डाइरेक्टर राजकुमार उप्रेतीले जानकारी दिए। काठमाडौंमा फिल्म वितरणको जिम्मा लिएको पपकर्न मुभिजका तर्फबाट दीपेन्द्र के. खनालले माधव वाग्ले र नरेन्द्र महर्जनको टोलीले स्तरीय फिल्म पस्कन्छन् भन्ने विश्वासले यसलाई वितरण गर्ने जिम्मा आफूहरुले लिएको बताए।

फिल्मका कलाकार सन्दीप थापा आफू बालकलाकारका रुपमा देखिएको जनाए। उनले भने, 'फिल्म खेल्न थाल्दा म १८/१९ वर्षको थिएँ, अहिले २३ वर्षको पुगेँ। ढिलै भए पनि फिल्म रिलिज हुने भएकोमा खुसी छु।'

आफ्नो टोलीले 'लुट–२' र 'जार' जस्ता फिल्मको तयारी गरिरहेको निर्माता नरेन्द्र महर्जनले जानकारी दिए। फिल्म नचलिरहेको बेला यसले नयाँ ऊर्जा थप्ने आशा उनले गरे। फिल्म देशभर ७० सिनेमा हलमा चल्दैछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
फेरि अर्को ‘मिसन पैसा'
फेरि अर्को ‘मिसन पैसा'
नागरिक नागरिक • · ०२ पौष २०७१ · २ मिनेट पाठ
चाड मिसन दुई महिनामा फर्कने
नागरिक नागरिक • · २२ फागुन २०६६ · ७ मिनेट पाठ
निशा अब राजनीतिक भूमिकामा
नागरिक नागरिक • · २६ माघ २०७३ · २ मिनेट पाठ
मिसन साग
नागरिक नागरिक • · २० फागुन २०६८ · ३ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस