पूर्वेली ब्युरो
विराटनगर- 'मामु, मलाई हिलवाला सेन्डल र चस्मा पनि चाहिन्छ,' स्कुल पढ्दै गरेकी छोरीको माग बढ्यो। गृहिणी इन्दु अर्याल शुक्रबार दसैंको किनमेलका लागि सूची तयार पार्दै थिइन्। यसपालि उनी छोरीलाई कुर्ता–सलवार मात्रै किन्ने सोचमा थिइन्। तर, छोरीले सूची बढाइन्। इन्दुलाई सूचीसँगै बढिरहेको बजेटले चिन्तित तुल्यायो।
‘वर्षभरिकै ठूलो चाड दसैं, छोराछोरीले मन पराएको त किनिदिनैपर्यो,’ इन्दु भन्छिन्, ‘बजारमा सामानको भाउ छोइसक्नु छैन।’
इन्दुले पछिल्ला ५ वर्ष लगातार विराटनगरमै दसैंको किनमेल गदर्ैै आएकी हुन्। हरेक वर्ष दोब्बरले बजार मूल्य बढेको उनको अनुभव छ।
‘पोहोर किनेको जुत्तामा यसपालि ५ सय रुपैयाँ नथपी नआउने रैछ,’ इन्दु भन्छिन्, ‘भान्साकै परिकारको मोल त अकासियो भने अरु सामानको के कुरा?'
दसैं खर्चका लागि साथीसँग ऋण लिइसकेका छन्, नेपाली कांग्रेस सुनसरी क्षेत्र–२ का सचिव रमेश पोखरेलले।
'आफन्त, इष्टमित्र सबैसँग भेटघाट हुन्छ, खर्च त भइहाल्छ,' रमेशले भने, 'यसपालि खर्च नभएर साथीसँग सापटी लिएको छु। फेरि चाडपर्वको मुखमै महँगी बढ्छ।'
विराटनगरमा दसैं नजिकिएसँगै उपभोग्य वस्तुको मूल्य अकासिएको छ। घटस्थापना आउन साता बाँकी रहँदै सदरमुकाममा तरकारीको मूल्य तीन साता अघिभन्दा झन्डै तेब्बरले वृद्धि भइसकेको छ।
सदरमुकाममा केही दिन अघिसम्म लसुन मूल्य प्रतिकिलो डेढ सय थियो, अहिले अहिले तीन सय ६० रुपैयाँ पुगेको छ। प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको भिन्डी अहिले एक सय पुगेको छ। व्यापारीका अनुसार केही अघिसम्म प्रतिकिलो ४० रुपैयाँ पर्ने करेलाको मूल्य अहिले दोब्बर भएको छ। ६० रुपैयाँ प्रतिकिलोको बोडी पनि दोब्बर भएको छ। मुख्य सिजनमा प्रतिकिलो ३० रुपैयाँमा बिक्री हुने फूलकाउली अहिले एक सय रुपैयाँ पुगेको छ। प्रतिकिलो ४० रुपैयाँ पर्ने आलु ७० र ३० रुपैयाँको टमाटर ५० रुपैयाँ पुगेको छ। गाउँ–गाउँमा धेरै उत्पादन हुने इस्कुस समेत यतिबेला सदरमुकाममा ३० देखि ४० रुपैयाँ प्रतिकिलो छ। जब कि पोहोर सालसम्म प्रतिकिलो इस्कुस १५–२० रुपैयाँमा पनि बिक्न मुस्किल हुन्थ्यो। सिमी, रायोसाग लगायतको मूल्य पनि दोब्बरभन्दा बढी नै भएको उपभोक्ता बताउँछन्। ‘पोहोरको तुलनामा त तरकारीको भाउले आकाशै छोइसकेछ,' उपभोक्ता शशी रिमालले भने।
जिल्लामा उत्पादित काउली, ब्रोकाउली, आलु, इस्कुसको जरा, लसुन, रायो साग, सिमीलगायत तरकारी गाउँभन्दा बजारमा दोब्बरभन्दा बढी मूल्य पर्छ। किसानले नै बजारसम्म ल्याइदिएको तरकारी सहरका बिचौलियाले अत्यन्त कम मूल्यमा किन्छन् र दोब्बरमा उपभोक्तालाई बेच्छन्। तरकारीलाई बीउ, मल, जनशक्ति प्रयोग गर्ने र रोग–कीराबाट जोगाउने काम उत्पादकको हो। किसान आफूले उत्पादन गरेको तरकारी पिठ्युँमा बोकेर सदरमुकाम लगायत बजार ल्याउँछन्। हिउँदमा गाउँ–गाउँसम्म गाडी चले पनि कतिपय किसानले डोको र थुन्सेमै तरकारी बोक्छन्। सदरमुकाममा भारतीय बजारहरूबाट पनि बिक्रीका लागि तरकारी आउने गरेको छ।
सदरमुकामस्थित तरकारी व्यापारी प्रतिमा परियारले आफूले किन्दा नै महँगोमा किन्नुपरेको बताइन्। ‘अस्तिसम्म सस्तो थियो,' प्रतिमा भन्छिन्, ‘केही समययता एकाएक भाउ बढेर आएकाले हामीले पनि त्यहीअनुसार बेच्नुपरेको छ।' तरकारी बजारका अर्का व्यापारी खगेन्द्र सञ्जेलले फलफूल, प्याज, काँक्रो, अकबरे लगायतको भाउ उस्तै रहे पनि करेला र लसुनको मूल्य निकै बढेको बताए। उनले भने, ‘तरकारी समयमा नबिक्दा नासिएर जाने भएकाले पनि व्यापारीलाई कम मूल्यमा बेचेर फाइदा हुँदैन।' दसैं–तिहारलगायत चाडमा मसलाका रूपमा लसुनको प्रयोग बढी हुने गरेकाले यसको मूल्य बढेको हुनसक्ने अनुमान छ।
मासुको मूल्य पुरानै!
दसैंमा मासु खाने चलन बढी भएकाले माग पनि निकै गुणा बढ्छ। तर, मासुको मूल्य भने बढेको छैन। सदरमुकाममा खसीको मासु प्रतिकिलो ६ सय रुपैयाँ छ। अन्य समयमा दिनको ५ देखि ७ वटा खसी काटेर बेच्ने सदरमुकामका माइला तामाङले दसैंका बेला १८ वटासम्म बेच्ने गरेको सुनाए। मासु व्यापारी भक्त पौडेलले दसैंमा पनि मूल्य पुरानै रहने बताए।
‘दुई वर्षदेखि यही मूल्य चलेको छ,' उनले भने, ‘आउँदो दसैंमा पनि यही रहन्छ होला।' माछाको मूल्य भने जात हेरी प्रतिकिलो तीन सयदेखि एक हजार दुई सय रुपैयाँसम्म छ।
'चाडबाडकै कारण मूल्यवृद्धि भएको होइन'
चाडबाडकै कारण दैनिक उपभोग्य चामल, तेल, चिनी लगायतको मूल्य भने नबढेको व्यापारी बताउँछन्। इलाम उद्योग वाणिज्य संघले किराना पसलहरूमा १ असोजदेखि नयाँ मूल्यसूची राखेकाले त्यहीअनुसार बिक्री गरिरहेको व्यापारी जीवन दाहालले बताए। उनले भने, ‘प्रायः केहीको दाम बढेको छैन, सबैको यथावतै छ।'
संघले तोकेको मूल्यअनुसार तोरीको तेल प्रतिलिटर १ सय ८० रुपैयाँ, रिफाइन तेल प्रतिलिटर १ सय ३०, सूर्यमुखी तेल प्रतिलिटर डेढ सय, चामल प्रतिकिलो ४२ रुपैयाँदेखि चार सय २० सम्म, आयो नुन प्रतिकिलो २२, मसुरोको मसिनो दाल प्रतिकिलो दुई सय र मोटो एक सय ६० रुपैयाँ छ।
०००
विराट व्यापार संघका महासचिव सुजन थापाले महँगी नियन्त्रणका लागि सरकारी पहल र निगरानी नहुँदा उपभोक्ता पिल्सिएको बताए। ‘एउटै सामानको पसलैपिच्छे आफूखुसी मूल्यसूची छ,’ थापाले भने, ‘उपभोक्ता भने महँगोमा सामान किन्न बाध्य छन्।’
इटहरीका नाम चलेका पसलमा तयारी पोसाक खरिद गर्दा अन्यत्रभन्दा महँगो पर्छ। पसलको भाडा महँगो तिरेको भन्दै इटहरीको भित्री बजारमा सस्तोमा पाइने एउटै क्वालिटीको तयारी पोसाक भने नाम चलेका पसलमा महँगोमा खरिद गर्नुपर्छ। यस्ता पसल विशेगरी इटहरीको चौरास्त चोक आसपास छन्।
विराटनगरभन्दा सीमावर्ती भारतीय बजार जोगबनीमा सामान केही सस्तो मोलमा पाइन्छ। त्यसैले त्यहाँ किनमेल गर्ने नेपाली उपभोक्ताको भीड हुन्छ।
अघिल्लो वर्ष दसैंका बेला नयाँ संविधानप्रति असन्तुष्ट मधेसवादी दलले तराई–मधेस बन्द आह्वान गरेका थिए। त्यस्तै, भारतले अघोषित नाकाबन्दी गरेकाका कारण पनि पोहोर साल उपभोग्य सामानसँगै तयारी पोसाक ज्यादै महँगो भएको थियो। पोहोरको तुलनामा यसपटक भने केही सस्तो हो। तर, चाडपर्वको चहलपहल सुरु भएसँगै व्यापारीले भने सामानको मूल्य बढाएको इटहरीका उपभोक्ता पुनम शर्माले बताइन्।
महँगी र कालोबजारी बढिरहेका बेला नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय सुनसरीले भने बजार अनुगमन प्रभावकारी गर्न सकेको छैन। सिडिओ मोहनबहादुर चापागाईं भन्छन्, 'अब अनुगमन व्यवस्थित रुपमा अगाडि बढाउँछौं।'