बागलुङ-सडक दुर्घटनामा परी उपचारको क्रममा निधन भएका बागलुङ क्षेत्र नं १ का सभासद तथा नेपाली कांग्रेस बागलुङका सचिब हरि बहादुर खड्काको मंगलबार कालीगण्डकी नदीमा अन्त्येष्टि गरिएको छ। खड्काको पार्थिब शरिरमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको झण्डा ओडाएर अन्तिम श्रद्धान्जली व्यक्त गरे।


सो कार्यक्रममा बोल्दै उपसभापति पौडेलले स्वर्गीय खड्काको सम्झनामा धौलागिरी अञ्चल अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारले निर्णय गरेको बताए। 'लोकतान्त्रिक आन्दोलनको एक सपुत गुमाउन पुगेका छौँ,' पौडेलले भने, 'वहाँको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको छ।' सो अवसरमा पौडेलले घटनाको छानविन गर्नकोलागि पार्टी र सरकारबाट छानविन समित गठन गरेको जानकारी दिए। सो कार्यक्रममा मृतक खड्का जेठा छोरा सन्दिप खड्काले सँधै समाज सेवा गर्ने बुवाको इच्छा पुरा नभएको बताए। सन्दिपले बाबुले सुरु गरेका कामलाई अघि बढाउने प्रतिवद्धता जनाए।

खड्काको सम्मानमा नेपाल प्रहरीले सलामी अर्पण गरको थियो। खड्काको पार्थीव शरिरलाई मंगलबार करिब दुई घण्टा धौलागिरी क्याम्पसमा राखि शव यात्रा सहित कालीगण्डकी नदी किनारमा लगिएको थियो।
खड्का प्रति श्रद्धासुमन व्यक्त गर्न बागलुङका व्यवसायीले आज बजार बन्द गरेको उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताए। खड्काको स्मृतीमा निजी शैक्षिक संस्थाहरु बन्द भएको प्याब्सनका अध्यक्ष नवराज श्रेष्ठले बताए। त्यसै गरी नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक शिक्षक मञ्चको आह्वानमा बागलुङ क्षेत्र नं १ का सम्पूर्ण सरकारी शैक्षिक संस्था पनि बन्द भएका छन्।