सिन्धुपाल्चोक– अरनिको राजमार्गको खाडीचौर–बन्देउ खण्डमा मंगलबार भएका छुट्टाछुट्टै दुई सडक दुर्घटनामा तीनको मृत्यु भएको छ। दुई गम्भीर घाइते छन्।
मुडेबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख ४३२९ नम्बरको यात्रुबस र खाडीचौरबाट अँधेरी गइरहेको बा३५प ४१९८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार फुल्पिङकोट–५ का ३४ वर्षीय कृष्णबहादुर भण्डारीको मृत्यु भएको हो। एकै साइडमा हिँडेका बस र मोटरसाइकल दिउँसो २ बजेतिर राजमार्गको अँधेरीनजिक ठोक्किँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक भण्डारीका पाँच वर्षीय छोरा कोसिस र मोटरसाइकल चालक काठमाडौं कोटेश्वरका १८ वर्षीय मनीष पौडेल गम्भीर घाइते छन्। खाडीचौरस्थित सदाबहार सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि दुवैलाई ललितपुरको बीएन्डबी अस्पताल लगिएको छ।
उक्त घटनाको करिब २० मिनेटपछि ५ सय मिटर दूरीमा खाडीचौरनजिक बा२ख ६९३६ नम्बरको टिपर र बा३७प ८६८७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु भयो। मृत्यु हुनेमा मोटरसाइकलमा सवार फुल्पिङडाँडा–९ का यमकाजी श्रेष्ठ र दावा तामाङ रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक जयेश्वर रिमालले जनाए। तामाङको घटनास्थलमै र श्रेष्ठको सदाबहार अस्पतालमा उपचारक्रममा मृत्यु भएको हो।
दुबै घटना सवारीको तीव्र गतिका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनापछि आक्रोशित पीडित परिवार, आफन्त र स्थानीयले लामो समय राजमार्ग अवरुद्ध गराए। सयौं सवारीसाधन र हजारौं यात्रु लामो समय बीच बाटोमा अलपत्र परेका थिए।