१७ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

नङ्गा बाबा

कविता

मेरो प्रिय नङ्गा बाबा,

मेरो आदर्श नङ्गा बाबा

हे परमार्थ! मेरो आदर्श!

वस्त्रमा छु भन्नेहरूले झैं

तिमीले केही पनि लुकाएका छैनौ

तिम्रो हरेक अङ्गप्रत्यङ्ग देख्न सकिन्छ

तिमी अति सत्य छौ

त्यसैले निर्वस्त्र छौ

सत्य सदा निर्वस्त्र हुन्छ

सत्यलाई छोप्नु पर्दैन

सम्पत्ति लुकाउने,

विचार, सिद्धान्त सबै लुकाउने

अनि अरूलाई जीवनभर झुक्याउने

आफूलाई महान् भन्नेहरूसँग

लुकाउनुपर्ने कुराहरू धेरै छन्

त्यसकारण उनीहरू वस्त्रमा छन्

हे नङ्गा बाबा!

तिम्रो नजिक पुग्दा

मानिसहरू किन झस्किएका होलान्?

बेइज्जती भएको किन बोध गरेका होलान्?

सत्यको सामना गर्न किन तर्सिएको होलान्?

तिमी असत्य छैनौ,

अपारदर्शी पनि छैनौ

जे छौ त्येही देखिन्छौ,

जे छैनौ, त्यो देखिनौ

हे सिक्रीधारी नङ्गा बाबा!

तिमीले आफूभित्र रहेको कामक्रोध र लोभमोह

आफूभित्रै रहेको ज्ञान-अग्निले खरानी परेका छौ

तिम्रो नग्न रूप स्तुत्य हुनुपर्ने हो।

होइन र?

लोकले किन नबुझेको होला यो महान् सत्य?

सत्य सदा नग्न हुन्छ तिमीझैं।

प्रकाशित: ५ चैत्र २०८० १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App