१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

साहित्यकार प्रकट पगेनी ‘शिव’ को निधन

पोखरेली साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। ज्वरो र निमोनियाले थलिएका प्रकटको मंगलबार मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

सोमबार अस्पताल भर्ना भएका प्रकटको मंगलबार दिउँसो उपचारका क्रममा निधन भएको पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप) का अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए।

प्रकटलाई केही दिन अगाडिदेखि ज्वरो आएको र ज्वरो आउने क्रम नरोकिएपछि उनलाई जँचाउनका लागि सोमबार बिहान अस्पताल लगिएको थियो।

जाँचका क्रममा प्रकटलाई निमोनिया र जण्डिसको गम्भीर संक्रमण देखिएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। ‘तर मंगलबार चिकित्सकले उनको निधन भएको दिए।’ पोयुसाँप अध्यक्ष पौडेलले भने, ‘अस्पतालका अनुसार प्रकटको मल्टि अर्गान फेल भएको हो।’

निमोनियासँगै प्रकटलाई जण्डिसपनि देखिएको अस्पतालका चिकित्सकको भनाई उद्धृत गर्दै अध्यक्ष पौडेलले बताए।

यसअघि प्रकटको उपचारमा आर्थिक अभाव भएको भन्दै पोयुसाँपले आर्थिक संकलन अभियानसमेत सञ्चालन गरेको थियो। परिवारको आग्रहमै आर्थिक संकलन अभियान सञ्चालन गरेपनि प्रकटको निधनसँगै सो अभियान रोकिएको पौडेलले जानकारी दिए। 

मंगलबार अपराह्न सम्ममा पोयुसाँपको खातामा संस्थाको २५ हजारसहित कुल ९३ हजार ९ सय ५८ रुपैयाँ जम्मा भएको छ भने पोखरा महानगरपालिका र रुपा गाउँपालिकाले समान एक/एक लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएको अध्यक्ष पौडेलले जानकारी दिए। त्यसबाहेक साहित्यकार जे अस्मीताले ५० हजार परिवारलाई सिधै हस्तान्तरण गरेको जनाइएको छ।

श्रृंगारिक गजल, कविता र गीत लेख्ने साहित्यकार प्रकटका कविता, गजलका किताबहरू प्रकाशित छन्। उनले लेखेको ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ गीत चर्चित भएको थियो। उनी विशेष गरेर श्रृंगारिक भावमा गजल लेख्न प्रख्यात थिए।

स्वर्गीय प्रकटको बुधबार अन्त्येष्टि गरिने भएको छ। उनको बुधबार दिउँसो मणिपाल शिक्षण अस्पतालबाट शव यात्रासहित तुलसीघाटमा अन्त्येष्टि गरिने परिवारलाई उद्धृत गर्दै अध्यक्ष पौडेलले जानकारी दिए। प्रकटका श्रीमती, एक छोरा र छोरी छन्।

प्रकाशित: ४ वैशाख २०८१ २०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App