२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धादिङमा ट्राफिकले मात्रै उठायो सवा तीन करोड राजश्व

जिल्ला प्रहरी कार्यालय धादिङको ट्राफिकले यो वर्ष  मात्रै सवा तीन करोड राजश्व संकलन गरेको छ।

ट्राफिक नियम उलङ्घन गर्ने ३८ हजार आठ सय ५० वटा सवारीबाट तीन करोड १३ लाख चार हजार पाँच सय  राजश्व संकलन गरेको हो। ट्राफिक कारबाहीमा परेका मध्ये दुई सय ३१ वटा सवारीले दुर्घटना गराए बापत राजश्व तिराइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/७९ को भन्दा यस वर्ष आठ लाख ५३ हजार बढी राजश्व संकलन भएको मिश्रले बताए।अघिल्लो आर्थिक वर्षमा ट्राफिक नियम उलङ्घन र दुर्घटनाबाट तीन करोड चार लाख ५१ हजार पाँच सय राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख छ ।

चोरी तस्करी तथा भन्सार छली गरेर पृथ्वी राजमार्ग हुँदै राजधानी काठमाडाै भित्रिँदै गरेका मालवाहक ट्रकबाट दुई करोड २१ लाख १७ हजार आठ सय ५८ रुपैया बराबरको सामान नियन्त्रणमा लिई राजश्व कार्यालय पठाइएको प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले बताए।ट्राफिक कारबाही र सामान नियन्त्रण समेत गरी आर्थिक वर्ष २०७९/८० मा पाँच करोड ३४ लाख २२ हजार तीन सय ५८ रुपैंया राजश्व संकलन भएको उनले जानकारी दिए।

अघिल्लो वर्षको तुलनामा यो वर्ष राजश्व संकलन र कारबाहीको संख्या बढे पनि सवारी दुर्घटनाको संख्या कम गराउन प्रहरी सफल भएको छ।तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा दुई सय ५४ वटा सवारी दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ३१ वटा सवारी दुर्घटनामा परेका छन्।दुर्घटनाको संख्या घटाउन सफल भएसँगै दुर्घटनामा परी मृत्यु हुने भएको र घाइते हुनेको संख्यामा कमी ल्याउन सफल भएको प्रहरी नायव उपरिक्षक जैसवारले बताए।

आर्थिक वर्ष २०७९/८० मा भएका वार्षिक कार्य समीक्षाको क्रममा प्रहरी उपरिक्षक मिश्रले समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनको काम पनि प्रभावकारी बनाउन सफल भएको तथ्याङ्क प्रस्तुत गरे।

प्रकाशित: २ श्रावण २०८० १४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App