१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महिला सिटमा बस्दा पक्राउ !

दाङ–सार्वजनिक सवारी साधनको महिला सीटमा अटेर गरी बस्ने ८ जनालाई सोमबार दाङमा प्रहरीले नियन्त्रणमा लिएको छ। महिला सीटमा नबस्न पटक पटक गरेको आग्रह बेवास्ता गरेको भन्दै प्रहरीले पाँचवटा सार्वजनिक सवारी साधनबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

चार बस र एउटा हायसबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक धिरज प्रताप सिंहका अनुसार पक्राउ परेका आठैजनालाई सोमबार बेलुकासम्म नियन्त्रणमै राखेर सोधपुछ गरिएको थियो। ‘नियम पालना गर्न लगाउँदा अटेर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने, ‘उनीहरुसंग सोधपुछ भइरहेको छ।’ प्रहरीले यसलाई आरक्षण सीटको सही कार्यान्वयनको नसियत भनेको छ।
 

यसरी भयो घटना

सोमबार विभिन्न महिला क्षेत्रमा क्रियााशील अधिकारकर्मी तथा प्रहरीहरु बसमा महिला मैत्री व्यवहार भए नभएको अनुगमनका लागि ठाउँठाउँमा खटिएका थिए। प्रहरीका अनुसार योे चेकजाँच जिल्लाका तुलसीपुर, बिजौरी,नारायणपुर, गोग्ली लगाएतका स्थानमा थियो। हरेक सवारी साधन रोकेर जाँच गरियो। चेकजाँचमा महिला सीटमा बसेका पुरुषहरुलाई उक्त सिटमा नबस्न आग्रह गरिएको थियो। प्रहरीको आग्रहलाई बेवास्ता गरेर सिट छाड्न नमानेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

‘सुरुमा एकठाउँमा सम्झाइन्थ्यो, अनि सोही बसलाई अर्को ठाउँमा चेकजाँच गर्दा उही व्यक्ति अटेर गरेर महिला सीटमै बसेको पाइएपछि नियन्त्रणमा लिएका हौँ,’ सिंहले भने। प्रहरीका अनुसार यी सवारी साधनमा महिला उभिएका तर पुरुष महिलाको सिटमा बसेका थिए। ‘महिलाले सिट माग्दा पनि नदिएको अवस्था भेटियो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख अरुणकुमार सिंहले भने, ‘महिलाहरु उभिएको तर महिला सिटमा पुरुष बसेको अवस्था देखेपछि नियन्त्रणमा लिएका हौँ।’

सार्वजनिक सवारी साधनमा आरक्षण सिटको सही सदुपयोग नगरेको भन्दै सवारी चालक तथा सवारी साधनहरुलाई कारवाही गर्दै आएको थियो। तर महिला सिटमै बसेका कारण पुरुष यात्रु पक्राउ परेको भने यो पहिलो घटना हो। ‘हामीले सिट आरक्षणको जुन व्यवस्था छ त्यो कार्यान्वयन भएको नपाएपछि धेरै सवारी साधनहरुलाई कारवाही गर्दै आएका छौँ,’ ट्राफिक प्रहरी निरीक्षक सिंह भन्छन्, ‘यसमा यात्रु स्वयंकै पनि कमजोरी देखिएकाले उनिहरुलाई सजग बनाउनका लागि नियन्त्रणमा लिइएको हो।’

महिला अधिकारकर्मीले पनि यातायात व्यवसायी समिति तथा यातायात मजदुरसहितको अन्तरकृयामा पनि यातायातका साधनमा सिट आरक्षणको व्यवस्था लागू गर्ने सहमति यस अघिनै गरेका थिए। जिल्लामा भएको अन्तरकृयामा सिट आरक्षको व्यवस्था गर्ने सहमति भएको थियो। ‘त्यही सहमति कार्यान्वयन भए नभएको भनेर अनुगमनमा गएका थियौँ,’ महिला रक्षकहरुको राष्ट्रिय सन्जालकी केन्द्रीय सदस्य लक्ष्मी आचार्यले भनिन्, ‘अधिकांश सवारी साधनमा यो व्यवस्था लागू भएको पाइएन।’

कतिपय सवारी चालक तथा सहचालकहरुको मनपरिका कारण आरक्षण सिटको दुरुपयोग भएको पाइएको तथा कतिपयमा भने यात्रुहरु स्वयंकै अटेरी देखिएको उनले बताइन्। मुख्यतः अति खचाखच यात्रु भरिने जिल्लाका स्थानीय रुट (घोराही तुलसीपुर तथा घोराही लमही रुट)मा पसिट आरक्षणको व्यवस्था कार्यान्वयन भएको पाइन्न । अधिकांश सवारी साधनमा आरक्षण सीटकै व्यवस्था समेत भएको देखिन्न ।

प्रकाशित: २८ मंसिर २०७३ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App