१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्मचारीबाटै घुस असुलेको आरोप

काठमाडौं- आफ्नै मन्त्रालय मातहतका कर्मचारीसँग रकम असुलेको आरोपमा सिँचाइ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुर विवादमा तानिएका छन्।  सचिव ठाकुरले सिँचाइ विभागका उच्च अधिकारी, आयोजना प्रमुख, डिभिजन प्रमुखसँग 'घुस' मागेको आरोप लगाउँदै उनलाई हटाउन माग गरिएको हो।

सचिव ठाकुरलाई हटाउन माग गर्दै विभागदेखि देशभरका कर्मचारीले हस्ताक्षर संकलन अभियान चलाएका छन्। मन्त्रालयका उच्च अधिकारीदेखि तल्लो तहका करिब ३ सय कर्मचारीले मन्त्रीलाई हटाउन माग गर्दै हस्ताक्षर गरेका छन्।

उनीमाथि करोडौं रुपैयाँ चलखेल गरेको आरोप लगाइएको छ। 'सुरु–सुरुमा धेरै साथीहरुले लाखौं रकम बुझाए', एक आयोजना प्रमुखले भने, 'क्षमताभन्दा मोटो रकम मागेर दुःख दिएपछि विस्फोट भएपछि सचिवविरुद्ध नै बोल्नुपर्ने अवस्था आयो।'

सचिव ठाकुरले कर्मचारी सरुवामा रकम असुल्ने, रकम नबुझाए अनावश्यक ठाउँमा सरुवा गर्ने, आयोजना र कार्यालय प्रमुखसँग लाभ लिने, दुर्व्यवहारलगायत गतिविधि गरेको गुनासो कर्मचारीले मन्त्रीसँग शुक्रबारै गरेका थिए। सचिवको व्यवहार सहन नसकेपछि अचाक्ली भएर आन्दोलनमा उत्रिएको कर्मचारी बताउँछन्।

सिँचाइ विभागका महानिर्देशक राजेन्द्र अधिकारी नेतृत्वको टोलीले शुक्रबार सिँचाइ मन्त्री दीपक गिरी र राज्यमन्त्री सुरेन्द्रराज आचार्यलाई मन्त्रालयमा भेटेर बहालवाला सचिवसँग काम गर्न सक्ने वातावरण नभएको भन्दै हटाउन माग गरे। डेढ दर्जन संख्यामा रहेका उच्च अधिकारीले सचिवको व्यवहारले असहज परिस्थिति सिर्जना भएको बताए।

सचिवले कर्मचारीलाई गर्ने व्यवहार सहन नसकेपछि हटाउन दबाब दिएको सिँचाइ विभागका सिनियर डिभिजन इन्जिनियर देवराज निरौलाले बताए। 'मातहत निकायका कर्मचारीलाई रैतीको जस्तो व्यवहारले सहन सक्ने अवस्था भएन', निरौलाले भने, 'सबै तहमा त्रास सिर्जना गरेर अति भएकाले यस्तो अवस्था आयो।' मन्त्रालयकै सचिवविरुद्धमै उच्च तहका कर्मचारी नै एकजुट भई हटाउन दबाब दिएको सम्भवतः यो पहिलो घटना हो।

विभागका महानिर्देशक अधिकारीले काम गर्न असहज परिस्थिति सिर्जना भएकाले मन्त्रीलाई जानकारी गराइएको बताए। 'सबै कर्मचारीबाट सचिवज्यूको व्यवहारले काम गर्न सक्दैनौं भन्ने गुनासो आएपछि मन्त्रीलाई जानकारी गराएका हौं', महानिर्देशक अधिकारीले भने, 'आन्तरिक विषय भएकाले समस्या सुल्भि्कन्छ।'

विभिन्न ठाउँबाट गुनासो आएपछि सचिवलाई यसअघि पनि मन्त्री गिरीले सचेत गराए पनि व्यवहार नसुधि्रएको मन्त्रालयका एक सहसचिवले बताए। 'मन्त्रीज्यूले सचेत गराउँदा एकपटकलाई माफी दिनुहोस् भन्दै आए', ती सहसचिवले भने।

उच्च तहका कर्मचारीले सचिवलाई नहटाए मन्त्रीविरुद्ध पनि आन्दोलनमा जानुपर्ने चेतावनी दिएका थिए। सचिवका कारण जिल्ला–जिल्लामा समेत काम हुन छाडेको उनीहरुले मन्त्रीलाई जानकारी गराएका थिए। कर्मचारी र सचिवबीच 'मन फाटेकाले' उनलाई नहटाएसम्म समस्या नसुल्भि्कने अडान कर्मचारीको थियो।

मन्त्री गिरी भने सचिव ठाकुर सकेसम्म आफंै सरुवा भएर गए हुन्थ्यो भन्ने मनस्थितिमा छन्। 'सरुवा मागे सहज अवतरण होला भन्ने मन्त्रीज्यूको चाहना थियो', डेलिगेसनमा संलग्न एक अधिकारीले भने, 'नमाने परिस्थिति राम्रो नदेखिएकाले ठाडो प्रस्ताव लगेर हटाउने पक्षमा हुनुहुन्छ।'

मन्त्री गिरीले समस्याबारे सचिवलाई बोलाएर छलफल गराउने भने पनि त्यसमा कर्मचारी तयार देखिएनन्। सचिवलाई बोलाएर झगडा गराउने काम राम्रो नहुने उनीहरुको भनाइ थियो। 'म मन्त्री भएर आउँदा उहाँ नै सचिव हुनुहुन्थ्यो', मन्त्री गिरीले कर्मचारीसमक्ष भने, 'म कसैलाई बचाउन  र राख्न आएको होइन।' 'उहाँलाई बचाउन खोजेको होइन', गिरीले कर्मचारीसमक्ष भने, 'सबै कुरा मिलाएर आइतबार या बिहीबार मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छु।'

सिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले पनि सचिवसँग काम गर्न सक्ने अवस्था नरहेको मातहत प्रमुखले गुनासा लिएर आफूकहाँ आएको बताए। 'कर्मचारी उहाँ (सचिव) को व्यवहार चित्त नबुझेर आएका हुन्', राज्यमन्त्री आचार्यले भने, 'सचिवलाई राखेर कुरा गर्छौं।'

गलत काम गर्ने आयोजना प्रमुखमाथि कारबाही प्रक्रिया अघि बढाएपछि गोलबद्ध भएर आफूलाई अनावश्यक आरोप लगाएको सचिव ठाकुरले बताए। 'आफैंले अनियमितता गरेपछि मलाई झुटो आरोप लगाएका हुन्', सचिव ठाकुरले नागरिकसँग भने, 'मलाई कपोलकल्पित आरोप लागेर आफू उम्किने प्रयास गरेका छन्।' उनले आफू नेपाल सरकारको सचिव भएकाले मन्त्रिपरिषद् निर्णय स्वीकार गर्ने बताए। 'कसले सरुवा गर्न दबाब दियो, मलाई थाहा छैन,' ठाकुरले भने, 'सरकारले दिएको जिम्मेवारीअनुसार काम गर्छु।'

प्रकाशित: ७ फाल्गुन २०७३ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App