२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मार्ग खुलेको चौबीस वर्षपछि सडक स्तरोन्नति

फाइल तस्बिर

म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ। बेनी–बागलुङ सडकअन्तर्गत रत्नेचौरको पीपलडाँडादेखि दमाहचौतारा जोड्ने सडक मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति भएको हो।

वि.सं २०५७ मा तत्कालीन गाविसको ८१ हजार बजेटमा बेनी–बागलुङ सडकको किराखोरस्थित प्रतीक्षालयबाट दमाहचौतारासम्म करिब तीन सय मिटर सडकको मार्ग खोलिएको थियो। दुई सयभन्दा बढी घरधुरी रहेको रत्नेचौरको मुख्य बस्तीभित्र यसअघि निर्माण भएको सडकलाई ढलान र विस्तार गरेर धिमालथर पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष ओम रोकाले बताए।

गण्डकी प्रदेश सरकारको २८ लाख ८० हजार अनुदान र उपभोक्ताको तीन लाख २० हजार तीन सय ५३ रुपैयाँ बराबरको श्रमदानमा योजना निर्माण भएको उनले जानकारी दिए। एक सय ६५ मिटर दुरीमा सडक ढलान, एक सय ३९ मिटर पक्की नाली र एक सय १५ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिएको छ।

ग्त वर्ष बेनी नगरपालिकाले विनियोजन गरेको आठ लाख बजेटबाट किराखोर प्रतीक्षालयदेखि एक सय ५४ मिटर दुरीमा पिसिसी ढलान र १०.१३ घनमिटर मेसिनरी पर्खाल निर्माण भएको थियो।

सडक ढलान र नाली निर्माण भएपछि बर्खामा हिलो र हिउँदमा धुलोको समस्या हटेको स्थानीय ईश्वर रावलले बताए। स्थानीयवासी निर्मला शर्माका अनुसार सो सडकमा पानी पर्दा सडक चिप्लो भएर लड्ने र हिउँदमा धुलोको समस्या थियो।  

विपद् न्यूनीकरण, वातावरणमैत्री र रोजगारी सिर्जनाका लागि डोजरको विकल्पमा मजदुर परिचालन गरेर सडक स्तरोन्नति गरिएको छ। उपभोक्ता समितिका सचिव कृष्ण रावलले बस्तीभित्र डोजर र ब्याकुहोलोडर चलाउँदा विपद् निम्तिने भएकाले मजदुर परिचालन गरेको बताए।

‘ब्याकुहोलोडर ल्याएर भित्ता काट्ने, नाली खन्ने र सम्याउने काम गर्न सकिन्थ्यो, तर विपद्को जोखिम घटाउन मजदुर परिचालन गरेका हौं’, उनले भने, ‘करिब दुई महिना दैनिक पाँचदेखि १४ जनासम्म मजदुरले सडक निर्माण गरेका थिए।’ विकाससँगै स्थानीयवासीलाई रोजगारीका अवसर सिर्जना भएको छ। सडक निर्माणमा खटिएका मजदुरका लागि स्थानीयले स्वेच्छिक रुपमा पालो लगाएर खाजा व्यवस्थापन गरेका छन्।

धिमालथरतर्फ नयाँ मार्ग खोल्नका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन लाख बजेट विनियोजन गरेको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले रत्नेचौरको सडक योजनामा जनसहभागिता जुटाएर उपभोक्ता समितिले लक्ष्यअघि नै काम सकेकोमा खुसी व्यक्त गरे। –रासस

प्रकाशित: १४ वैशाख २०८१ १६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App