१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

'चुनाव खर्च पारदर्शी बनाऊ'

काठमाडौं- राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) ले व्यक्तिगत उम्मेद्वार वा सयौं राजनीतिक दलहरुलाई पटकपटक चन्दा दिनुको सट्टा सामूहिक रुपमा कुनै कोषमा एकैपटकमा सहयोग जम्मा गर्ने वातावरण भएमा निर्वाचनको चन्दा व्यवस्थापनका लागि अझ सहज हुने बताएको छ।

राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष पद्म ज्योतिको नेतृत्वमा पदाधिकारीहरुको टोलीले आसन्न वैशाख ३१ गते घोषणा भएको स्थानीय निकाय निर्वाचनको विषयलाई लिएर निर्वाचन आयोगका आयुक्तहरुसँगको भेटघाटमा उक्त कुरा बताएको हो।

'लोकतन्त्रको सुदृढीकरणका लागि हुने सबै निर्वाचनमा व्यावसायिक समुदायको सहयोग रहने छ भन्दै एनबिआई अध्यक्ष ज्योतिले विगतका निर्वाचनहरु झैं अव्यवस्थित रुपमा करकाप र जबर्जस्ती चन्दाको माग नहोस् भन्नेमा जोड दिए। यसका लागि उद्योगी व्यवसायीले व्यक्तिगत उम्मेद्वार वा सयौं राजनीतिक दललाई पटकपटक चन्दा दिनुको सट्टा सामूहिक रुपमा कुनै कोषमा एकैपटकमा सहयोग जम्मा गर्ने वातावरण भए निर्वाचनको चन्दा व्यवस्थापनका लागि अझ सहज हुने सुझाव पनि दिए।

त्यसैगरी उपाध्यक्ष कुशकुमार जोशीले नेपाली समाजमा व्याप्त भ्रष्टाचारको एक मूल कारण राजनीतिक दलका आर्थिक गतिविधि पारदर्शी नभएको कारणले हो भन्दै दल तथा उम्मेद्वारले स्थायी लेखा नम्बर लिने, बैंक चेकको प्रयोग गर्ने जस्ता सामान्य प्रचलनबाट पनि धेरै सुधार गर्न सकिने बताए।

निर्वाचन आयोगले आसन्न निर्वाचनमा दलको आम्दानी र खर्च व्यवस्थापनका लागि ल्याउने नियम तथा आचार संहितालाई निजी क्षेत्रले पूर्ण समर्थन गर्ने र दलहरुलाई ती नियमको व्यवहारिक परिपालना गर्न पनि खबरदारी गर्ने उनीहरुको भनाइ छ।

उक्त अवसरमा एनबिआईका महासचिव एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकारले २०७२ मा भएको संविधान सभाको निर्वाचनमा चेकबाट आर्थिक सहयोग प्रदान गर्ने अभियानले गर्दा जबर्जस्ती लिइने चन्दामा प्रभावकारी नियन्त्रण भएको स्मरण गराउँदै आगामी निर्वाचनमा पनि यो पद्धतिलाई निरन्तरता दिन आग्रह गरे

'यसपटक पनि व्यावसायिक समुदायको तर्फबाट मुख्य मुख्य नगरमा निर्वाचन पर्यवेक्षण गर्ने हाम्रो योजना छ,' उनले भने।

निर्वाचन आयोगले बनाउने निर्वाचन आचार संहितालाई कडाइका साथ लागू गरी चन्दा आतंकलाई पूर्ण रुपमा निर्मूल गर्न व्यवसायीले सबै सरोकारवालालाई आह्वान गरेका छन्।

भेटघाटमा प्रमुख आयुक्तका साथमा आयुक्त ईश्वरीप्रसाद पौड्याल र नरेन्द्र दाहाल र सचिव गोपीनाथ मैनाली पनि उपस्थित थिए। व्यवसायीको कुरा सुनेपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले लामो पर्खाइपछि स्थानीय निकाय निर्वाचन घोषणा भएकोले यसलाई सफल तुल्याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए। आयोगले वैशाख ३१ को निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन एवं आर्थिक चलखेल हुन नदिन हरसम्भव प्रयास गर्ने उनले आश्वासन दिए।

प्रकाशित: १६ फाल्गुन २०७३ ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App