१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एण्डी मरेलाई विम्बल्डन

लन्डन- क्यानाडाका प्रतिद्वन्द्वी मिलोस राओनिकमाथि सोझो सेटमा विजय हासिल गर्दै एन्डी मरेले दोस्रो पटक विम्बल्डनको उपाधि जितेका छन्। तीन वर्षअघि नोभाक जोकोभिचलाई हराउँदै पहिलो पटक विम्बल्डन जितेका बेलायती स्टार मरेले आइतबार फाइनलमा राओनिकमाथि ६–४, ७–६(७/३), ७–६(७/२) को सोझो सेटमा पराजित गरे। पराजयपछि ग्रान्ड स्लाम उपाधि जित्ने पहिलो क्यानेडियन टेनिस खेलाडी बन्ने राओनिकको लक्ष्य चकनाचुर भयो। मरेले लन्डन ओलम्पिक २०१२ मा पनि पुरुष एकलको उपाधि जितेका थिए।

२०१२ मा युएस ओपनको उपाधि जितेका मरेको यो तेस्रो ग्रान्ड स्लाम उपाधि हो। सेन्टर कोर्टमा २ घन्टा ४७ मिनेटसम्म मिहिनेत गर्दै उपाधिमा कव्जा जमाएपछि केहीबेर मरे खुसीले प्रतिक्रियाविहिन भएका थिए। रुमालले मुख पुछ्ने क्रममा आँसु झारेका मरेले घरेलु ग्रान्ड स्लाम दोस्रो पटक जित्नु आफ्ना लागि ठूलो खुसीको विषय भएको बताए।

'राओनिकले निकै राम्रो सर्विस गरे। जसले गर्दा आज मलाई गाह्रो भयो। तर यो मैले अपेक्षा गरेकै कुरा थियो,' खेलपछि मरेले भने, 'लन्डनमा जित्नुको मजा वेग्लै हुन्छ। यहाँ समर्थकको साथ विशेष रहने गर्छ।'

२०१३ मा मरेले अल इङल्यान्ड क्लबमा बेलायती पुरुष खेलाडीको एकल उपाधि जित्ने ७७ वर्षदेखिको प्रतिक्षामा पूर्णविराम लगाएका थिए। यसपाली छैटौं वरियताका राओनिकले उनलाई कडा टक्कर दिएका थिए। तर तेस्रो सेटको टाई–ब्रेकरमा अनुभवको कमीका कारण क्यानेडियन स्टार असफल भए।

हारपछि राओनिकले फाइनलसम्मको यात्राबाट आफू सन्तुष्ट भएको प्रतिक्रिया दिए। 'यहाँसम्मको यात्राले मेरा लागि ठूलो अर्थ राख्छ। मरे विश्वकै सर्वोत्कृष्ट खेलाडीमध्ये एक हुन्। उनी अहिले उच्च फर्ममा छन्। विम्बल्डनको यो अनुभव मलाई भविश्यमा अरु ठूला प्रतियोगितामा उपाधि जित्नका लागि सहयोगी हुनेछ,' राओनिकले भने।

प्रकाशित: २७ असार २०७३ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App