१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१ कप चिया बनाउँदा ७ ग्राम कार्बन !

इलाम–चिया प्रशोधनमा आधुनिक प्रविधि विकास हुन नसक्दाको सोझो असर वायुमण्डलमा परिरहेको छ । दाउरा र कोइला प्रयोग गरी चिया प्रशोधन गर्ने परम्परागत प्रविधिले अधिक मात्रामा हानिकारक कार्बनडाइक्साइड ग्यास उत्सर्जन गरिरहेको अध्ययनले देखाएको छ ।

एसिया महादेशमा पर्ने ८ मुलुकका चिया प्राविधिकले ३ देशमा गरेको अध्ययनअनुसार १ किलो तयारी अर्थाेडक्स चिया उत्पादन गर्दा ४.०६ किलो कार्बनडाइक्साइड उत्सर्जन भइरहेको पत्ता लागेको छ । करिब ४ वर्ष लगाएर गरिएको अध्ययनले अर्गानिक चियामा लगाइने १ किलो मल उत्पादन गर्दा २.०७ किलो कार्बनडाक्साइड उत्सर्जन हुने गरेको देखाएको छ ।

अध्ययन रिपोर्टअनुसार बिजुली र जेनेरेटर प्रयोग गरी १ किलो तयारी चिया बनाउँदा ०.१५ किलो, कोइला–दाउरा प्रयोग गर्दा १.७ किलो  कार्बनडाक्साइड उत्सर्जन हुने गरेको छ । अध्ययनमा संलग्न चिया प्राविधिक तथा साखेजुङस्थित हिमालयन सांग्रिला टी प्रड्युसर्स प्रालिका प्रबन्धक आरसी नेपालले हामीले खाने १ कप चिया उत्पादन गर्दा वायुमण्डलमा ७ ग्राम कार्बनडाक्साइड उत्सर्जन हुने गरेको बताए । ‘हामीले पिउने प्रत्येक कप चियाले वायुमण्डलमा ७ ग्राम कार्बनडाइक्साइड जम्मा भइरहेको पाइयो,’ उनले भने, ‘चिया प्रशोधनमा विद्यमान परम्परागत प्रविधिलाई आधुनिक बनाउन नसके यसले जलवायु परिवर्तनलाई बढावा दिने खतरा छ ।’ यो तथ्यांक सन् २०१५ को अन्त्यतिरको भएको उनले बताए ।
एक अन्तर्राष्ट्रिय संस्थाको अगुवाइमा भएको अध्ययनमा नेपाल सरकार अन्तर्गतको नेपाल स्ट्यान्डर्ड बडी र नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसमेत संलग्न थिए । प्रालि प्रबन्धक नेपालका अनुसार नेपालको अर्थाेडक्स र कर्ल टियर कल (सिटिसी) चियाको अध्ययन गर्ने भनिए पनि सिटिसीको भने अध्ययन हुन सकेन । अध्ययन टोलीमा संलग्न नेपालले नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान, कम्बोडिया, लाओस र भियतनाममा यसबारे अध्ययन भएको बताए ।

टोलीले चिया प्रशोधनले पनि कार्बनडाइक्साइड बढाएको र त्यसले भविष्यमा ठूलो रूप लिन सक्ने भन्दै हिमालयन अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसन (होट्पा) र हिमटपलाई प्रतिवेदन पेस गरेको छ । विभिन्न सुझावसहित पेस गरिएको प्रतिवेदनमा उद्योगमा बिजुली खपत कम गर्ने, उद्योगमा प्रयोग गरिने धातुका प्यानलगायतलाई प्लास्टिकको बनाउनुपर्ने, भिजेका दाउरा र कोइला प्रयोगले कार्बन बढाउने भएकाले त्यसलाई कम गर्नुपर्ने लगायत सुझाव उल्लेख छन् ।

 

प्रकाशित: २७ असार २०७३ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App