१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्मचारी थोरै हुँदा दैनिक काममा अवरोध

ललितपुर– कर्मचारीको संख्या थोरै हुँदा ललितपुरका ६ स्थानीय तहमा प्रशासनिक काममा अवरोध पुगेको छ। पहिलाकै कर्मचारी समायोजन गरी दैनिक प्रशासनिक काम थालिएको छ।

साबिकको ललितपुर उपमहानगरपालिकासहित, लामाटार, इमाडोल, लुभु गाविस र कार्यविनायक नगरपालिकाका १ देखि १३ वडा समायोजन गरी ललितपुर महानगरपालिका बनाइएको छ । साबिक उपमहानगरपालिकाका प्रवक्ता रुद्रप्रसाद गौतमले कर्मचारी अभावले प्रशासनिक कार्यमा अप्ठ्रो परेको बताए। ‘कार्यविनायकमा दरबन्दी भएका २० र करार सम्झौता भएका ६ गरी २६ कर्मचारी नयाँ व्यवस्थाअनुरूप महानगरमा हाजिर भएका छन्’, उनले भने, ‘कर्मचारी अभावमा तल्लो तहका कर्मचारीलाई पनि वडा प्रमुखको जिम्मा लगाइएको छ । अधिकृतस्तरका कर्मचारीलाई योजना कार्यान्वयनको जिम्मा लगाइएको छ।’

हालै घोषित महानगरको कार्यालय उपमहानगरपालिकाकै पुल्चोकस्थित पुरानो भवनबाट काम सुरु भएको छ। महानगरपालिका बनेको साता  नाघिसक्दा पनि साइनबोर्ड फेरिएको छैन । अहिले महानगरपालिकामा वरिष्ठताका आधारमा सचिवलाई कामको जिम्मेवारी दिइएको प्रवक्ता गौतमले बताए । त्यस्तै, साबिकको जिल्ला विकास समितिको पुरानो साइनबोर्ड हटाएको छ तर जिल्ला समन्वय समिति भनेर नयाँ साइनबोर्ड राखिएको छैन । बज्रबाराही, कार्यविनायक नगरपालिकाको डुकुछाप र छम्पी गाभेर गोदावरी नगरपालिका बनाइएको छ भने त्यसको केन्द्र साबिककै बज्रबाराही नगरपालिकालाई बनाइएको साबिक गोदावरी नगरपालिकाका कार्यकारी प्रमुख मनिता श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार अहिले प्रशासनिक काम सञ्चालन भइरहेको छ।

जिल्ला समन्वय समितिका सचिव हेमराज भुसालले वागमती र महाकाल गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखलाई कार्यालयमा खटाइसकिएको जानकारी दिए । उनले भने, ‘कोन्ज्योसोम गाउँपालिकामा चित्रध्वज खड्का, महांकाल गाउँपालिकामा देवराज गौतम र वागमतीमा अम्बिका देवकोटालाई निमित्त प्रमुखको जिम्मेवारी दिएका छौं ।’ माल्टाका स्थानीय अच्युत लामाले वागमतीका निमित्त कार्यकारी प्रमुख कार्यालयमा हाजिर नभएको गुनासो गरे । निर्वाचन आयोगले सात सय ४४ स्थानीय तहमा चैत ३ गतेभित्र पुग्ने गरी कर्मचारी खटाउन सरकारलाई निर्देशन दिए पनि नयाँ स्थानीय तहमा कार्यकारी प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन्।

 

प्रकाशित: ९ चैत्र २०७३ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App