१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री आज चीन जाँदै

फाइल तस्बिर

कुबेर चालिसे/सन्तोष न्यौपाने

काठमाडौं- नेपालले चीनबाट सिधै सामान ढुवानी गर्दा भाडा र लाग्ने समयमा व्यापक कटौती हुने दाबी गर्दै व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा यो मुद्दा उठाउन माग गरेका छन्।

नेपालले चीनबाट ल्याउने सामान रसुवागढी हुँदै सिधै ल्याउँदा मासिक भाडाबापत हुने मासिक करोडौं रुपैयाँ र समय बचत हुने व्यवसायीको भनाइ छ।

'चीनबाट नेपालमा केरुङ हुँदै सामान ल्याउने हो भने दैनिक करोडौँ रुपैयाँ बच्छ', १५ वर्षदेखि नेपाल–चीन व्यवसाय गर्दै आएका राजनकुमार जमकट्टेलले भने, 'भारत हँुदै सामान ल्याउँदा दुई महिना लाग्छ, केरुङबाट १४ दिनमै आइपुग्छ।' यसका लागि चीनले ग्वान्जाउदेखि केरुङसम्म सिधै रेलमा सामान ल्याइदिने व्यवस्था मिलाउन नेपाल सरकारले पहल गर्नुपर्ने उनले औंल्याए। व्यवसायीका अनुसार अहिले ग्वान्जाउदेखि केरुङसम्म सामान ल्याउन कम्तीमा ६ ठाउँमा लोड–अनलोड गर्नुपर्ने झन्झट छ।

व्यवसायीका अनुसार ग्वान्जाउदेखि कलकत्ता हुँदै काठमाडौं सामान आइपुग्न एक कन्टेनरको भाडा ७ लाख ५ हजार रुपैयाँ पर्न आउँछ  भने चीनको केरुङबाट रसुवागढी हुँदै काठमाडौं ढुवानी गर्ने हो भने जम्मा ४ लाख ४२ हजार रुपैयाँ मात्र लाग्छ। यस  हिसाबले चीनबाट सिधा नेपालमा सामान ल्याउन प्रतिकन्टेनर २ लाख ६२ हजार रुपैयाँभन्दा कम भाडा लाग्छ। भाडा मात्र होइन, प्रतिकन्टेनर ७० देखि ८० हजार रुपैयाँको भन्सार शुल्कसमेत घट्ने व्यवसायीको दाबी छ।

रसुवागढी भन्सार प्रमुख केदार पनेरू पनि सरकारले पहल गरेर चीनले सिधै सामान ल्याउने व्यवस्था मिलाइदिने हो भने भाडा र समयमा धेरै बचत हुने बताउँछन्। 'अहिले केरुङ हुँदै आउने सामानमा भाडा धेरै भएको व्यवसायीको गुनासो छ', उनले भने, 'केरुङसम्म सिधा रेलबाट सामान ल्याउने हो भने भाडा व्यापक कटौती हुने देखिन्छ।'

व्यवसायीका अनुसार हाल ग्वान्जाउदेखि भारतको कलकत्तासम्म सामान ल्याउन भन्सार लोडसहित १ कन्टेनरको ३ लाख ६५ हजार रुपैयाँ भाडा खर्च हुन्छ। त्यस्तै, कलकत्तादेखि काठमाडौंसम्म ३ लाख ४० हजार भाडा लाग्छ। त्यस हिसाबले ग्वान्जाउदेखि कलकत्ता हुँदै काठमाडौं आइपुग्न एक कन्टेनर सामानको भाडा ७ लाख ५ हजार रुपैयाँ पर्न आउँछ।

लामो समयदेखि नेपाल–चीन व्यवसाय गर्दै आएका अर्का व्यवसायी किशोर बस्नेतका अनुसार हाल चीनको ग्वान्जाउदेखि केरुङसम्म रेलबाट सामान ढुवानी गर्न एक सिबिएम (क्युविक मिटर) को २ सय ३२ युआन पर्छ। त्यसैगरी, केरुङदेखि काठमाडौंसम्म प्रतिसिबिएम १ सय ८० युआन पर्छ। यस हिसाबले ग्वान्जाउदेखि काठमाडौंसम्म सामान ल्याउँदा एक सिबिएमको ४ सय १२ युआन भाडा लाग्छ। हाल एक युआनबराबर १६ रुपैयाँका दरले हिसाब गर्दा एक सिबिएम सामान ग्वान्जाउबाट काठमाडौं ल्याउन ६ हजार ५ सय ९२ रुपैयाँ भाडा पर्न आउँछ। १ कन्टेनरमा ६८ सिबिएम हुन्छ। यी सबै हिसाब निकाल्दा एक कन्टेनर सामान नेपालमा ल्याउन जम्मा ४ लाख ४२ हजार ८ सय १६ रुपैयाँ मात्र भाडाबापत खर्च हुने देखिन्छ।

कलकत्ताबाट नेपालमा एक दिनमा ७० देखि ८० वटा कन्टेनर आउने व्यवसायी बताउँछन्। त्यसैगरी, केरुङबाट आउने कन्टेनर पनि बढ्दै गएका छन्। पनेरुका अनुसार हरेक दिन यत्ति नै भन्न नसकिए पनि यो वर्ष एक महिनामा बढीमा ६ सयवटा कन्टेनर आउने गरेको छ।

चीनबाट आउने सामान सिधै नेपाल ल्याउने हो भने दैनिक करोडौं रुपैयाँ र समयको बचत हुने भन्दै व्यवसायीले चीनबाट भारत हँुदै नेपाल आउने सामानलाई सिधै काठमाडौं ल्याउँदा नेपाली व्यवसायीले भारतको प्रशासनिक झन्झट पनि बेहोर्न नपर्ने बताउँछन्। 

चीनको ग्वान्जाउदेखि कलकत्तासम्म सामान ढुवानी गर्न जम्मा १४ दिन मात्र लाग्छ। तर, भारतको कलकत्तामा सामान डम्पिङको कारण देखाउँदै नेपाल आउने सामानलाई त्यहाँबाट सिंगापुर पुर्‍याइने र कलकत्ता खाली भएपछि मात्र सिंगापुरबाट कलकत्ता ल्याएर काठमाडौंतिर आउँने गर्दा भारतबाट आउने सामान बिना कारण महिनौं अड्किनुपर्ने र प्रशासनिक झन्झट बेहोर्नुपर्ने व्यवसायीको भनाइ छ।

हाल ग्वान्जाउबाट कलकत्ता हँुदै काठमाडौंसम्म सामान आइपुग्न झन्डै २ महिना लाग्ने गरेको छ।  समय धेरै लागेका कारण पनि सामान महँगो हुने व्यवसायीको भनाइ छ। सरकारले चीनबाट सिधै आउने व्यवस्था गरे व्यापारीको समय तथा पैसा दुवै बचत हुने हुनाले उपभोक्ताका लागि पनि सामान सस्तो पर्ने उनीहरुको दाबी छ।

जमकट्टेलका अनुसार ग्वान्जाउबाट सिधै काठमाडौंसम्म सामान आइपुग्न जम्मा १० दिन लाग्छ। हाल ग्वान्जाउबाट लान्चाउ हँुदै सिगात्सेसम्म रेल आउँछ। तर, चीनतर्फ पनि लोडअनलोडको समस्या रहेको व्यवसायीको भनाइ छ। ग्वान्जाउदेखि चिनियाँ भन्सारसम्म आइपुग्दा ६ ठाउँमा लोड–अनलोड गर्नुपर्ने बाध्यता रहेको जमकटेल बताउँछन्।

लान्चाउ चीनको एक प्रमुख रेल हब हो जहाँबाट विभिन्न ठाउँमा रेल जान्छन्। जमकट्टेलका अनुसार लान्चाउबाट  ग्वान्जाउ–लान्चाउ–सिगात्से, इँउ–जान्चाउ, फुजियस–लान्चाउ, हपें–लान्चाउजस्ता विभिन्न स्थानसम्म रेल चल्छ। यो सञ्जाल नेपालसँग जोड्न सक्ने हो भने पनि व्यवसायमा ठूलो फड्को मार्न सकिने व्यवसायीको भनाइ छ।

व्यवसायीले कुनै सामान छिटो ल्याउनुपरे केरुङबाट ल्याउने पनेरु बताउँछन्। केरुङ हुँदै नेपालमा सामान ल्याउँदा १४–१५ दिनमै आउने भएकाले छिटो चाहिए यो रुट रोज्ने गरेको पनेरुले बताए। 'साना व्यवसायीका सामान धेरै यताबाट आउँछन्', पनेरुले भने, 'प्रतीतपत्र (एलसी) खोलेर आउने धेरै कम हुन्छन्।'

चिनियाँ नेपालप्रति सकारात्मक भएकाले केरुङ नाकालाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्नेमा व्यवसायीको जोड छ। 'काठमाडौं–केरुङ बाटो राम्रो बनाउने र रसुवागढी भन्सार व्यवस्थित बनाउनुपर्छ,' व्यवसायी किशोर बस्नेतले भने, 'सिगात्सेबाट केरुङसम्म बिनारोकतोक काठमाडौं आउने व्यवस्था मिलाउन सरकारले सहजीकरण गर्नुपर्छ।'

यस्तै, सिगात्सेदेखि केरुङसम्म सामान ढुवानी गर्दा हुने झन्झट हटाउन पनि चीनसँग नेपाल सरकारले पहल गर्नुपर्ने उनको माग छ।

अहिले रसुवाका बासिन्दा र ड्राइभरले मात्र केरुङसम्म जान पाउँछन्। यसले सीमित व्यक्ति मात्र पारि जान पाउने व्यवस्थाले नेपालतिर पनि मनपरी व्यवहार र महँगो भाडा चलिरहेको गुनासो व्यवसायीको छ। उनीहरुका अनुसार रसुवागढीदेखि काठमाडौंसम्मको बाटोको स्तरोन्नति गरेर ढुवानी यातायात सहज बनाउन सके पनि नेपाली उपभोक्ताका लागि चिनियाँ सामान झन् सस्तो पर्छ।

त्यसैगरी, नेपाल–चीन द्विदेशीय व्यापार सुधार गर्न सके नेपालबाट चीनमा हुन्डीबाट पैसा जाने क्रममा पनि कमी आउने व्यवसायी बताउँछन्। हाल, राष्ट्र बैंकले प्रति १ कन्टेनर ४० हजार डलर मात्र लैजान दिन्छ। तर, यो पैसाले १ कन्टेनर पनि सामान ल्याउन नपुग्ने हँुदा बाँकी सबै पैसा हुन्डीबाट पठाउनुपर्ने बाध्यता रहेको व्यवसायीको गुनासो छ।

प्रकाशित: १० चैत्र २०७३ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App