१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सँगसँगै हिँडेका पाइलाको याद

गीता त्रिपाठी

हावामा बहकिन्छु कहिले

फूल याद आउँछन्

कहिले क्षितिज कहिले घाम

साँझ याद आउँछन्

 बहकिनलाई पनि हावा चाहिन्छ। अहिले त त्यो हावा पनि बाँकी रहेन, जुन हावामा ईश्वरवल्लभको कवि मनले ठाउँ पाउँथ्यो, थामिन्थ्यो र चुपचाप घरीघरी बहकिन्थ्यो पनि। स्वासले स्वतन्त्र खेल्न पाएपछि उच्छ्वास पनि अर्थपूर्ण हुँदो हो। कवि वल्लभका रचनामा सपना र सम्झनाहरूको नियमित प्रयोगले अर्थप्रक्रियामा पनि ती अनिवार्य बनेका हुन्छन्। उनी कोमलतामा परिभाषित हुने कवि हुन्। ढुंगाको चोटलाई फूलमा परिणत गर्नु आदर्शका कुरा होलान्, यद्यपि उनी फूलले पनि ढुंगाकै जति चोट दिने गीत र कविता जन्माउने सामर्थ्य राख्छन्। फरक कति छ भने, उनको त्यो क्षमता चोटलाई भुवादार बनाउने संरचनागत विशिष्टतामा पनि उत्तिकै सफल छ।

जीवनको सौन्दर्य खोज्दाखोज्दै जीवन यथावत् भोगेर, तर सृष्टिको गीतलाई अविभाज्य छोडेर गएका कवि हुन् उनी। तर, आजको समय विभाजित मानसिकतामा अडेको प्रतीत हुन्छ। आजको मानिस खण्डित आग्रह मन पराउँछ कि कसो! उनी त्यसैले पनि कसैको हुन सकेनन् भन्ने दृष्टान्त उनका बारेमा एउटा स्मृति ग्रन्थसमेत प्रकाशित हुन नसक्नुले बताउँछ।

हावा, नदी, फूल, जून, घाम, क्षितिज वा साँझको परिवेश ईश्वरवल्लभका कविताका बाह्य परिवेश हुन्, तर तिनको सोझो सम्बन्ध कविभित्रको अन्तःस्थ मानससँग छ। आफ्ना रचनाहरूभित्र उनले अव्यक्त रहस्यमय प्रकृतिको निर्माण गरेका छन्। ती रहस्यसँग एकाकार भएर आउने उनको अर्को विषय सपना हो। ईश्वरवल्लभ सपनाको गीत गाएर पीडालाई आफूभित्र समाहित गर्ने कवि हुन्। उनको लेखनको आरम्भ र विकासको क्रमिकतामा सपनाहरूको बलियो उपस्थिति छ। सायद उनका लागि जीवन नै एक सपना हो। उनी सपनाका लागि जीवन बाँच्छन् वा जीवनका लागि सपना साँच्छन्, छुट्याउन गाह्रो हन्छ।

 बहकिनु सच्चा कविको स्वभाव नै हो, एउटा खास प्रवृत्ति हो। यसले कविलाई मानवताको पक्षमा डोर्‍याउँछ। कविलाई कल्पनाशील बनाउँछ। कल्पनाले जीवनको भोगाइका विषम अनुभूतिलाई यथार्थबाट आनन्दतिर लैजान्छ। जादुमय संसारको विचरणमा यथार्थको अवमूल्यन र कहिलेकाहीँ अधिमूल्यन पनि गर्न पुग्छ कवि। ईश्वरवल्लभका अधिकांश कविता र अझ ज्यादा गीत अनुभूतिको दोसाँधमा हुन्छन्। हावा र फूलको सम्बन्धले कविलाई गहिरो गरी झस्काउँछ। छोडिजाने बतासले फर्काएर ल्याउने सुगन्धमा कहिलेकाहीँ उनलाई झस्काउने गरी चिरपरिचित फूलको याद बोकिआउँछ। भावनाको सघनतामा बहकिने मनको गीत वल्लभले जस्तै भारतीय कवि तथा गीतकार गुलजारले धेरै रचेका छन्। दुवैका गीतमा आँसु, साँझ, फूल, किनार, स्वप्न, बगर र पर्खाइका कुरा हुन्छन्। अभाव र अन्योलबीच गीतकारिताको सम्पन्नता व्याप्त हुनु तिनका शिल्पका विशिष्टता हुन्। त्यताका गद्य शिल्पी निर्मल बर्माका लेखनका अनुभूति पक्षमा पाइने अत्यधिक तरलता र भावको कोमलता हाम्रा ईश्वरवल्लभका कविता र गीतमा लगभग समान अनुभूत हुन्छन्।

 किरणको सुगन्ध हो कि

 प्यारको वासना हो

 गीत सायद बिर्सिसकेँ

 नाम याद आउँछन्

संगीतकार रत्नबहादुरले संगीत गर्न छनोट गरी हार्मोनियममाथि राखिरहेको यो गीतको एकसरो संगीत सुनेकी हुँ मैले पनि। शब्दहरू आकर्षक लागेर सोधेकी थिएँ र जवाफमा बढो शानले 'ईश्वरवल्लभजीको हो, बल्ल उहाँ गइसकेपछि मौका मिल्यो उहाँको गीतमा संगीत भर्न' भनेको पनि याद आइरहेछ। सायद यो किरणको सुगन्ध र प्यारको वासना दुवै मिसिएको अवस्था थियो भन्ने लाग्दैछ। त्यो गीत सारेर ल्याएकी थिएँ, रत्नबहादुर दाइको स्वीकृति लिएर। त्यसपछि यो गीत रेकर्ड भए–नभएको पनि थाहा भएन। मैले पनि बिर्सेकी रहेछु यो गीत। अकस्मात् विश्वकविता दिवसको सुगन्धले कवि ईश्वरवल्लभको स्मृति दिलायो। हरसाल विश्वकविता दिवसको काव्यिक उमंगभित्र एकपक्ष धूमिल चित्रजस्तो कवि ईश्वरवल्लभको सम्झना गाँसिएको विगतले छटपटिलाई  विस्तृत बनाउँछ। गीतमै पनि विस्मृतिको तरंग भरेर भावकलाई संवेदनशील बनाउने कवि वल्लभप्रति समकालीन र नयाँ दुवै पुस्ता उदासीन भएको अनुभव हुन्छ। गीत नबिर्से पनि नाम बिर्सने क्रमको पहिलो आघात ईश्वरवल्लभमाथि पर्ने अनुमाप्य आशंकाले लेखन कर्म नै कहिलेकाहीँ शिथिल लागेर आउँछ।

 मोहको कथा नै यही हो

 भाँचिने र टुट्ने गर्छन्

 भुलेको पनि झैँ सम्झेको पनि झैँ

 क्षणक्षण याद आउँछन्

स्वजीवनका अविराम अनिश्चितताबीच शब्दको आवृत्तिमा कैयन् ईश्वरलाई जन्माइरहने ईश्वरवल्लभका रचनाहरू प्रकृतिजस्तै छोइएर पनि नछोइने छन्। उनलाई थाह छ, सारा रचनाको पृष्ठभूमिमा मोहले ऊर्जा थपेको हुन्छ। धेरै पटक देखेको खिनौटो तर शब्दको मोहनीले उज्यालो भरेको उनको ललाट स्मृतिमा आइरहन्छ। जीवनको सौन्दर्य खोज्दाखोज्दै जीवन यथावत् भोगेर, तर सृष्टिको गीतलाई अविभाज्य छोडेर गएका कवि हुन् उनी। तर, आजको समय विभाजित मानसिकतामा अडेको प्रतीत हुन्छ। आजको मानिस खण्डित आग्रह मन पराउँछ कि कसो! उनी त्यसैले पनि कसैको हुन सकेनन् भन्ने दृष्टान्त उनका बारेमा एउटा स्मृति ग्रन्थसमेत प्रकाशित हुन नसक्नुले बताउँछ। उनीसँगका रोचक प्रसंगहरू भोगेर र छोएर जानेहरू गइसके, बाँकी गीतिकथा जोगाउने जमर्को अझै भएको छैन। भाँचिने र टुट्ने क्रमहरूको निरन्तरतामै उनी हुर्किएका हुन्। जुद्धशमशेरबाट पाएको आघातले पहिलो पटक उनको बाल्यवस्थाको संगति भाँचिएको हो। त्यसपछि आमाको संघर्षपूर्ण जीवनको कथा सुरु भयो। बुवा जेलबाट नफर्कुन्जेल सात वर्षसम्म श्रमका अनेक रूपलाई सहजै धारण गरेकी उनकी आमाले अनेक तरहले यो परिवारको सूत्रलाई जोडेरै राखेकी थिइन्। मानन्धर परिवारकी उनकी आमासँग अन्तर्जातीय विवाह गरेका भट्टराई बाबुको गृहस्थीलाई भाँचिनु र टुट्नुबाट जोगाइरहेकी आमाको हृदय बाबुको आगमनसँगै भित्रिएकी अर्की आइमाईका कारण विभत्स तरिकाले टुट्न पुग्यो र आमाको आँसुमा कलम चोबेर बुझाएको बाल्यकालको स्कुलको गृहकार्यका पृष्ठमा त्यो भन्दा झन् भयानक रङ थपिन पुग्यो। उनले आफ्नै ढुकढुकीलाई बायाँ हातले थिचेर लेखे केही पृष्ठ कविता– 'मेरी आमाले आत्महत्या गरेको देश' शीर्षकमा! सायद यही कविताको शीर्षकमै उनको जीवनको सौन्दर्य समाप्त भएथ्यो। उनी सधैँ एउटा उदास अनुहारका कविमा परिणत भए त्यसपछि। सम्भवतः त्यही समयदेखि उनी जीवनलाई टुक्राटुक्रामा हेर्न नसक्ने भए। उनको यो कविताको अन्तर्लयमा करुणा बसेको भए पनि प्रत्येक स्वर, व्यञ्जन र संयुक्त वर्णहरूमा अतृप्त भावको लुप्त बिरामी लय न ह्रस्वता न दीर्घता, बरु एकैनासले अव्यक्त स्थितिमा समाहित भइरहेको आभास हुन्छ। त्यसपछि जीवनको एकाग्रता भंग भएर उनी देशावर हिँडेको पनि ज्ञात हुन्छ। कहिले घर बस्नै मन नभएर हिँडे, कहिले घर फर्कने मन लिएर हिँडे पनि बाटैबाट अर्कैतिर भौँतारिन पुगे। यही मानसिक व्यवधान र अभाव–अतृप्तिहरूमा जेलिएर दार्जीलिङसँग जोडिए। यसरी उनले टुक्राटुक्राबाट सिंगो अर्थ खोजे। फूल, पात र पतकरलाई एकै ठाउँ देखेका कविले जीवनलाई समग्रतामा अनुभव गर्ने कविताको पृष्ठपोषण गरेर तेस्रो आयामको त्रिआयामिक अर्थलाई उजागर गर्नतिर होमिए। उनका बारेमा सोच्दा मलाई कहिलेकाहीँ लाग्छ, उनको जीवनमा तीन शब्दको ठूलो महŒव थियो। बाबु, आमा र सन्तानको पारिवारिक संरचना भत्किएपछि उनीभित्र विसंगत चेतनाले आतंक मच्चायो। उनी हिँडे र ठाउँठाउँमा लामो विश्राम लिँदै फेरि पनि हिँड्दै गए। बाटोमा कहिले फूल, पात र पतकर भएर, कहिले तेस्रो आयामका त्रिमूर्तिको एक पात्र भएर उनी नेपाल फर्किए। फर्किनुअघि फेरि दुई मितको कथाका संयोजक तेस्रो शब्दको अमर अस्तित्व बने– गोपाल योञ्जन र नारायणगोपालको मितेरी योगमा मुख्य योगदान कवि वल्लभकै रह्यो।

 नेपाली कवितामा बौद्धिकता र हार्दिकताको अनौठो मेल उनैले सिर्जे। सम्पूर्णतामा अर्थिन चाहने उनका कविता जस्तै उनलाई पनि उनकै कविताको ढाँचामा देख्न सकिन्थ्यो। झट्ट हेर्दा सपाट र शालीन, अलि संगत गर्‍यो सघन र गम्भीर अनि ती सबैबाट निश्रित एक भव्य उच्च काव्यिक भाव र शिल्पका प्रयोक्ता। सदैव नयाँ पुस्ताप्रतिको स्नेहशील वल्लभ दाइ उचित पात्रको प्रशंसामा कलम चलाउनमा पनि त्यत्तिकै अग्रसर भइरहन्थे।

 उनले यही गीतको मध्यभागको अन्तरामा लेखका छन् :

  कतै देखेको छु तिमीलाई

  झझल्को याद आउँछन्

  सँगसँगै हिँडेका

पाइला याद आउँछन्

यो वियोगान्त कविको जीवनमा पहिलो वियोग नै यति दर्दनाक रहन गयो कि उनले आफ्नै आँखाअघि आमालाई गुमाएको स्थितिले एउटी विवश महिलाका रूपमा आमामात्र उनको झझल्कोमा रहन पुगिन्। कतै देखेजस्तो उनकी आमाको आकृति सायद जुद्धशमशेरसँग विनाकारण दोषी बनाई जेल हालिएका पण्डित पिताको मुक्तिको याचना गरिरहेकी, त्यही क्षण बालबच्चाकै अघि पोइला जा भनिएर आँसुको सागरमा डुबेकी अनि बाबुको रिहाइ र आगमनसँगै सारा खुसी र आवेगहरू गुमाएर आफ्नो अस्तित्व खोसिएको अनुभूतिले बाँच्नुसँग विरत भएकी उनकी आमा सम्भवतः उनका गीतमा घरीघरी आउने एउटा रहस्य बनेको छ। पहिलो पाइला उनले आमासँगै चाले हुन् र त्यसपछिका कैयन् पाइलामा आमाको स्पर्श रहेको हुँदो हो। झन् बाबु जेल परेपछि आमाका अघि–पछि लागेर उनले आमप्रजाका सन्तानसरह नै माटोलाई पछ्याए। माटोमै एउटा सुगन्धको तृप्ति बोकेर फक्रिन लागेका बेला कसरी उनको माटोमा आमाको रगतको क्रान्तिकारी रङ मिसिन पुग्यो र सायद त्यही समयदेखि उनलाई आफ्नै माटो बिरानो लाग्न थाल्यो। नयाँ बाटोको खोजीमा हिँडे पनि आफ्नै माटो स्मृतिदंश बनेर बसिरह्यो। संगीतकार रत्नबहादुर खड्गी बारम्बार यही गीतको शब्दभित्र लयको सम्भावना खोजिरहन्थे। कैयन् गायकका नाम लिएर फेरि पनि उनी केहीबेर मौन हुन्थे र भन्थे– 'यो गीत फिल गरेर गाउनेलाई मात्र दिन्छु।' अहिले ती दुवै सर्जक आफ्ना पाठक र श्रोतालाई झझल्को मात्र थमाएर आफू महाशून्यमा विलीन भएका छन्। फेरि पनि कविता र संगीतसँग जोडिएको विश्वकविता दिवसको काव्यिक सुगन्धको सप्ताह चलिरहेछ। कवि ईश्वरवल्लभ स्मृतिमा आउँदा पनि चट्याङजस्तो होइन, इन्द्रेणीजस्तो आउँछन्। घाम र पानीको गीत गाउने उनी यतिबेला भने बहकिनुबाट पूरै रोकिएर स्थिर भएका छन्। उनको गतिमा अब उनका हरफहरू मात्र हिँड्छन् र यही हरफले भनिरहेको छ :

सँगसँगै हिँडेका पाइला याद आउँछन्...!

खोई त्यो हावाको पवित्रता अहिले! बोल्नका लागि आवाज नभएका बेला, बोल्नेका आवाज दबाउने अभ्यास भइरहेका बेला पनि श्वास फेर्नका लागि हावा त प्रशस्त थियो। पार्टीगत एकपक्षीय मनोवृत्तिको दासताले खाएका आम नीतिज्ञहरू र तिनको सेपिला धरामा बाँचेकाहरूको त कुरै भएन, कविका पनि आजभोलि झुन्ड झुन्ड कर्‍याङ्कुरुङ शैलीको आकाश छ। साँगुरो आकाश पहिले मगजभित्रै खुम्चिँदै अनि त्यही आकाशभित्रको कालोे बादलले छोपेको एक पत्र बाहिरी आकाश पूरै डढेर सकिँदै गएको छ। यसरी आजभोलि सहरमा कविताहरू भरिया नभएर भारी भएका छन्। भारीभित्र जोगाएर ल्याइने उज्यालो आजको कवितामा निखि्रँदै गएको आभास हुँदैछ। अघिपछि लस्कर लागेका कतिपय कविहरूले कविताको धूलोलाई पाउडर सम्झेर मुखमा दलेका छन्। दुर्माग्य त्यो धूलो हाम्रो सिङ्गो काव्यिक युगको अनुहारमाथि कालो टक्टकिन खोजिरहेछ र एक पत्र अनुहारमा रङ्गिन मास्क लगाएर हिँड्न विवश भएको छ। आजको युग हाँक्ने कवि भोलिको परिचयहीनताको सङ्कट बेहोरिरहेको छ। यताका कवितामा हावा, पानी, फूल, क्षितिज, घाम वा साँझको याद आउन छाडिसकेको छ। पसिनाभन्दा रगत उमाल्ने कविताहरू ज्यादा ओइरिएर दूषित राजनीतिलाई परोक्षतः सहयोगै पुर्‍याइरहेछन्। कविताको परेवी भुवादार स्पर्शमा क्रान्तिको गीत गाउने वल्लभीय कविताहरू आजको ध्वनिगत आघातले कुँजिदै गएका छन्। जति जति विषयगत विस्तार भइरहेछ, भावगत सङ्कुचनले ईश्वरवल्लभहरूलाई अपव्याख्या र अपमानित गरिरहेछ। देवकोटा, इन्द्रबहादर राई वा ईश्वरवल्लभहरूका योगदानलाई नयाँ कोणबाट परिभाषित गर्ने बहानामा यो वर्तमान इतिहासको उपहास गर्न आतुर भइरहेछ। तर ईश्वरवल्लभ सधैँ नयाँ पुस्ताका कविलाई सम्बोधन गरिरहन रुचाउँथेे। उनलाई सहयात्रा असाध्य मनपर्ने विषय थियो र यसलाई उनी नैतिक दायित्व ठान्ने मात्र होइन मानवताका पक्षमा पनि निःसङ्ग झिँजो नमानी कलम चलाउँथे।   

प्रकाशित: १२ चैत्र २०७३ ०५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App