१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेटिङमा राजस्व असुल्दै ट्राफिक

गरुडाबाट चन्द्रनिगाहपुरतर्फ ट्रयाक्टरमा दोब्बर भुस लोड गरेर लगिँदै। तस्बिरः मदन ठाकुर

रौतहट– रौतहटको ट्राफिक प्रहरीले सेटिङमा नै राजस्व असुल गरेको पाइएको छ। खाली ट्रयाक्टरलाई ५ सय रुपैयाँको जरिवाना बिल काटेर लोड गर्नुपर्ने भन्दा दुई गुना बढी सामान बोकेर निर्वाधरुपले सडकमा गुड्न दिएको पाइएको छ।

पहिले नै राजस्व तिरेपछि चाहिए जति लोड गर्न पाइने र कतै प्रहरी वा ट्राफिकले रोकेमा जरिवानाको बिल देखाएपछि बाटोमा रोक्न नै नपर्ने भएपछि ट्राफिक नियम उल्लंघन गर्नेको संख्या दिनानुदिन बढिरहेको पाइएको छ। एकाबिहानै जरिवाना काटेपछि दुई तीन खेप सामान ढुवानी गरिरहेको पाइएको छ।

धान र गहुँको भुस ढुवानी गर्ने ट्रयाक्टरले अत्यधिक मात्रामा ओभर लोड गरी सामान ढुवानी गर्दा पनि ट्राफिकले जरिवाना काट्नेबाहेक केही गर्न सकेको छैन। एक हजारदेखि एक हजार पाँच सय रुपैयासम्म जरिवाना तिरेपछि एक ट्रयाक्टरको ठाउँमा एउटै ट्रयाक्टरले तीन गुना बढी भुस बोकेर दिनको तीन खेप सडकमा कुदाउँदा एउटै जरिवानाले काम चल्ने गरेको एकजना ट्रयाक्टर चालकको भनाइ छ। एउटै ट्रयाक्टरले भुसको ढुवानीमा लागेका ट्रयाक्टरले महिनामा बीस दिनसम्म जरिवाना काट्ने गरेको पाइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले वैशाख महिनामा मात्रै साढे आठ लाख रुपैया राजस्व असुली गरेको जनाएको छ। ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाइकल, टेम्पु तथा टे«क्टरलगायतका सवारी तथा ढुवानी साधनबाट दैनिक पचास हजार रुपैयाँभन्दा बढीको राजस्व संकलन भइरहेको ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख राममणि अधिकारीले बताएका छन्। ट्राफिक नियमको उल्लंघन गरेपछि मात्र चेतावनीस्वरुप राजस्वको दायरामा ल्याउने गरेको र पहिले नै जरिवाना स्वरुप राजस्व लिने गरेको तथ्य स्वीकार्दैनन् प्रमुख अधिकारी।

गत चैत महिनामा तेह्र लाख रुपैयाँ राजस्व संकलन गरेको रौतहट प्रहरीले वैशाखमा पन्ध्र लाख रुपैयाँ राजस्वभन्दा बढी संकलन गर्ने सम्भावना बढेको छ। हरेक दिन सैयौँ विभिन्न सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्दा केवल जरिवाना असुल्नेतिर मात्र ट्राफिकको ध्यान रहेको आरोप लाग्ने गरेको छ।

जति धेरै राजस्व असुली गर्न सक्यो उति धेरै कमिसन आउने हुनाले ट्राफिक प्रहरीले जरिवाना असुल्ने कामलाई मात्र प्राथमिकता दिएको एकजना चालक बताउँछन्। गौरबाट चन्द्रपुरसम्म चल्ने बसका एक चालकका अनुसार ट्राफिकले जरिवाना भनेर मागेजति रकम दिने गरेको र तर व्यापक मात्रामा ट्राफिक उल्लंघन हुँदा पनि रसिद काट्नेबाहेक अरु केही नभन्ने गरेको गुनासो गरेका छन्।

सवारी चालक लाइसेन्स नहुँदा, हेलमेट नलाउँदा, ब्लुबुक नहुँदा, क्षमताभन्दा बढी सामान तथा मानिस बोक्दा ट्राफिकले जरिवाना असुल्ने गरेको छ। यसै गरी गिटी, बालुवा, ग्रावेल, इँटा, दाउरा बोक्ने टे«क्टर र भैँसी तथा भुस बोक्ने ट्रकलाई जरिवाना गर्दा मागे जति रकम दिने गरेको स्रोतको भनाइ छ। जिल्लाको गौर, झुनखुनवा, बमनहर, सुकदेव चौक, शिवनगर, गरुडा, डुमरिया, हर्षाहा, सन्तपुर, चन्द्रपुर लगायतको स्थानमा ट्राफिक प्रहरीले नियमितजसो चेकजाँचको नाउँमा जरिवाना असुल्ने गरेकोले ट्राफिक नियम उल्लंघन गर्नेको संख्या र ट्राफिकबाट राजस्व असुली हरेक महिना बढ्दै गएको देखिएको छ।

ट्राफिक नियम उल्लंघन गरेपछि मात्र राजस्व काट्नु पर्नेमा पहिले नै काट्ने गरेको विषयमा आफूले गहन रुपमा बुझ्ने मध्यमाञ्चल क्षेत्रीय ट्राफिक कार्यालय पथलैयाका प्रमुख एसपी सुरेन्द्रप्रसाद मैनालीले बताए ।

 

प्रकाशित: १६ वैशाख २०७४ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App