१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

विराटनगरमा रुचाइयो ‘जयमाया’

विराटनगर – काठमाडौंको मण्डला थिएटरमा रुचाइएको नाटक ‘जयमाया आफूमात्र लेखापानी आइपुगी’ लाई विराटनगरका दर्शकबाट पनि उत्तिकै माया पाएको छ । लेखक इन्द्रबहादुर राईद्वारा लिखित कथालाई  रंगकर्मी सुनिल पोखरेलले नाट्य रुपान्तरण गरेका थिए । मण्डला थिएटरमा एक महिनासम्म मञ्चन भएको नाटक विराटनगरको सुशीला कोइराला नाटक घर आरोहण गुरुकुलमा गत ५ गतेदेखि मञ्चन भइरहेको छ ।

पहिलो दिनदेखि नै नाटकले ‘हाउसफुल’ दर्शक पाएको कलाकार आभास अधिकारीले बताएका छन् । नाटक हेर्न आएका सर्वसाधारण, विद्यार्थीलगायतले नाटक राम्रो भएको  प्रतिक्रिया दिएको उनले बताए । 

दोस्रो विश्वयुद्धमा जापानले बर्मामा आक्रमण गरेपछि त्यहाँका बर्मेली नेपालीहरू भारतको आसामतिर लागेका थिए । तिनै बर्मेली नेपालीको घाउलाई रंगमञ्चमा कलाकारले अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरेका छन् । कलाकारको अभिनय, नाटकको सेट र प्रकाश व्यवस्थापनको प्रयोगले दर्शकलाई भूतकालको त्यो अवस्थामा पुर्याइदिन्छ, जहाँ दर्शकले आफ्ना मुटुमा नाटकका पात्रको मर्म आफैं महसुस गर्न पाउँछन् ।

नाटकमा सुनिसा बजगाईं, राज न्यौपाने, रेनुका कार्की, सुरज चौलागाईं, पुष्पराज अवस्थी, चाँदनी शाही, सुरज तमु, आभास अधिकारी, श्रेया भुसाल, कृतिका भट्टराई, सुमित तामाङ, रीता केसी, सुजन कार्की, मौसम खड्का, किरण श्रेष्ठ, सञ्जितप्रताप मल्ल र आर्जेश रेग्मीको अभिनय छ । 

नाटकको प्राविधिक विधातर्फ संगीतमा उत्सव बुढाथोकी र विश्वराज काफ्ले, ध्वनिमा कमल पौडेल, प्रकाश परिचालनमा दिलजंग गुरुङ, मञ्च परिकल्पनामा अनुप बराल र भेषभूषामा सरिता गिरी छन् । नाटकमा समीर जोशी र निभाल बज्राचार्यको सहायक निर्देशन छ ।

बुधबारसम्म मञ्चन हुने नाटक विराटनगरका सर्वसाधारण र विद्यार्थीमाझ चर्चाको विषय बनेको छ । यो नाटक हरेक दिन १ बजे र साँझ ५ः३० बजे गरी दुई शो मञ्चन भएको थियो ।

प्रकाशित: १० जेष्ठ २०७४ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App