१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चरा ठोक्किएको जहाज मर्मतपछि उड्यो

काठमाडौं- चरा ठोक्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' नेपाल वायुुुसेवा निगमको एउटा ठूलो नयाँ जहाजले मर्मतपछि पुनः उडान सुरु गरेको छ।

कलसाइन '९एन–एकेएक्स' र 'लुम्बिनी' नाम भएको यो जहाजले सोमबारबाट उडान पुनः सुरु गरेको हो। गत असार २३ गते जहाजको दायाँ इन्जिनमा चरा ठोक्किएपछि ११ दिन ग्राउन्डेड भएको थियो।

'आवश्यक मर्मत गरेपछि एकेएक्स जहाजले उडान गर्न थालेको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले सोमबार नागरिकसँग भने, 'बिहान ११ः५३ बजे पहिलो उडानमा यो जहाजले १ सय २९ यात्रु लिएर थाइल्यान्डको बैंकक गएको छ।'

निगमले एक वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरी ल्याएका १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका दुईमध्ये ९एन–एकेएक्स जहाज काठमाडौंबाट हङकङ जान धावनमार्गमा कुदिरहेका बेला दायाँ इन्जिनमा चरा ठोक्किएको थियो। त्यसबेला जहाजमा ५६ यात्रु र चालकदलका आठ सदस्य थिए। चरा ठोक्किनासाथ चालकले जहाजलाई कुशलतापूर्वक रोकेर पार्किङ क्षेत्रमा ल्याउन सफल भएका थिए।

चरा ठोक्किएपछि जहाजको दायाँ इन्जिनको 'ब्लेड' कुच्चिएको थियो। चालकदल र सबै यात्रु सकुशल थिए। त्यसपछि निगमले ती यात्रुलाई अर्को जहाज व्यवस्था गरी हङकङ पठाएको थियो। 

त्यसपछि निगमले घटनाबारे जहाज निर्माता एयरबस र इन्जिन निर्माता इन्टरनेसनल एरो इन्जिन (आइएई) लाई जानकारी गराएको थियो। घटनालगत्तै निगमका इन्जिनियरले क्षतिको आँकलन गरेका थिए। बाहिरी भागको क्षति देखिए पनि इन्जिन निर्माता कम्पनीबाट आएका इन्जिनियरले भित्री भाग पनि हेरेपछि क्षति आँकलन भएको थियो।

'आइएईबाट आएका इन्जिनियरले हेरेपछि इन्जिनको ब्लेडमात्र कुच्चिएको र भित्री भागमा क्षति नपुगेको पत्ता लागेको थियो,' प्रवक्ता शर्माले भने, 'त्यसलाई सामान्य मर्मत गरेपछि जहाज आइतबार राति उडानयोग्य भएको थियो।'

निगमले दुईथान ए३२० जहाजबाट हाल भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, हङकङ, बैंकक, दोहालगायत गन्तव्यमा उडान गरिरहेको छ। १ सय ५८ सिटे यी जहाजमा ८ बिजेनस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन्। निगमले दुईमध्ये पहिलो जहाज २०७१ माघ तेस्रो साता र दोस्रो २०७२ वैशाख दोस्रो साता काठमाडौं ल्याएको थियो।

प्रकाशित: ४ श्रावण २०७३ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App