१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दार्जिलिङको शवयात्रामा हजारौं सहभागी

सेनाको गोलीले शनिबार मृत्यु भएका आफ्ना समर्थकलाई श्रद्धाञ्जली दिँदै दार्जिलिङबासीले आइतबार निकालेको ‘श्रद्धाञ्जली र्‍याली’। तस्बिर सौजन्य: रविन राई

इलाम- सेनाको गोलीले मृत्यु भएका आफ्ना समर्थकलाई श्रद्धाञ्जली दिँदै दार्जिलिङबासीले आइतबार ‘श्रद्धाञ्जली र्‍याली’ प्रदर्शन गरेका छन्। आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा हजारौंको संख्याका स्थानीयले गोलीले मृत्यु भएकाहरूको शव दार्जिलिङ बजार परिक्रममा गराए।

                मोर्चाको कार्यालयमा प्रहरीले छापा मारेको विरोध गर्दै मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि सेनाले शनिबार गोली चलाएको थियो । गोली लागेर बिजनबारी कैजलेका सुनील राई, कमजेरका विमल शासंकर र रेलिङका महेश क्षेत्रीको मृत्यु भएको थियो।  राई र शासंकरको घटनस्थलमै र क्षेत्रीको उपचारक्रममा मृत्यु भएको थियो । मोर्चाका कार्यकर्ता र समर्थकले दार्जिलिङमा उनीहरूको शवयात्रा गरेका हुन् । घटनाको विरोधमा मोर्चाले सबै दार्जिलिङबासीलाई घर–घरमा कालो झन्डा राख्न उर्दी गरेको छ। मोर्चाका सहसचिव विनय तामाङले सबै गोर्खा र गोर्खाल्यान्ड समर्थकलाई विरोधमा आउन आग्रहसमेत गरेको जानकारी दिए ।

                मोर्चा अध्यक्ष विमल गुरुङले पश्चिम बंगाल सरकारले गोर्खाहरूमाथि आतंककारीको आरोप लगाएर तानाशाही व्यवहार प्रदर्शन गरेको बताए । उनले गोर्खाल्यान्डका लागि लड्न तृणमुल कंग्रेसहित सबैलाई आग्रह पनि गरे । ‘अस्मिताको लडाइँ लड्दा सरकारले गोर्खाहरूमाथि गोली चलाएर बर्बरतापूर्ण व्यवहार गरेको छ,’ अध्यक्ष गुरुङले पत्रकारहरूसँग भने, ‘हामी ममता बेनर्जी पश्चिम बंगालको मुख्यमन्त्री भएकै बेला गोर्खाल्यान्डको माग पूरा गराउने छौं ।’ शनिबार बेनर्जीले मोर्चालाई आतंककारीको संज्ञा दिँदै मोर्चाको सम्बन्ध नर्थइस्ट र अन्य देशसँग रहेको वत्तव्य दिएकी थिइन्। उनको वक्तव्यपछि दार्जिलिङमा तनाव झन् बढेको थियो।

                मोर्चाले यसअघि नै घोषणा गरेको आमहड्ताल आइतबार चौथो दिन पनि जारी रहँदा जनजीवन कष्टप्रद हुँदैछ । ४ दिनदेखि यहाँका बजार, स्कुल, पसल, सवारी साधनलगायत सबै ठप्प छन् । यहाँ आइसकेका पर्यटकलाई प्रहरीले स्कर्टिङ गर्दै तराई पुर्‍याएको छ। दार्जिलिङ पातलेबासस्थित आफ्नो कार्यालयमा प्रहरीले छापा मारेपछि मोर्चाले बिहीबार अनिश्चितकालीन आमहड्ताल गरेको थियो। ‘गोर्खाल्यान्डको माग पूरा नहुञ्जेल आमहड्ताल फिर्ता हुँदैन,’ तामाङले भने, ‘आन्दोलन बरु झन् कडा हुनेछ।’

                गत बुधबार मोर्चासहित त्यहाँका गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो), भारतीय जनता पार्टी, भारतीय गोर्खा परिसंघ, क्रान्तिकारी माक्र्सवादी पार्टी र गोर्खाल्यान्ड राज्य निर्माणकर्ता दलले संयुक्त रूपमा गोर्खाल्यान्डको आन्दोलन अघि बढाउने निर्णय गरेका थिए। प्रहरीले  मोर्चाको कार्यालयमा छापा मारेर धनुकाण, फरुवा, बञ्चरो, हँसियालगायतका सामग्री बरामद गरेको थियो । प्रहरीले यहाँबाट केही थान ‘फायर आम्स’ समेत बरामद गरेको दाबी गरेको थियो । तर, मोर्चाले भने प्रहरीले आदिवासी जनजाति सामुदायका बालबालिकालाई शिक्षा दिन राखिएका सामान नियन्त्रणमा लिएको प्रतिक्रिया दिएको थियो।

                पश्चिम बंगालको पहाडी क्षेत्रका कक्षा १ देखि १० सम्मको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गर्ने पश्चिम बंगाल राज्य सरकारका शिक्षामन्त्री पार्थ चटर्जीको घोषणापछि दार्जिलिङलगायत पहाडी क्षेत्र अशान्त बनेको हो । शिक्षामन्त्री चटर्जीको घोषणाप्रति विरोध गर्दै मोर्चाले दार्जिलिङ, खर्साङ, कालिम्पोङ र मिरिक क्षेत्रका आन्दोलन चर्काइरहेको छ। मोर्चाको आन्दोलनलाई स्थानीय ५ दलले पनि साथ दिएका छन्। भाषाको विषयमा भइरहेको आन्दोलन पुनः गोर्खाल्यान्डको मागमै केन्द्रित भएपछि झन् चर्किएको हो।

 

प्रकाशित: ४ असार २०७४ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App