१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘जनयुद्ध’ बारे दाहालको नयाँ खुलासा

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपा माओवादीले २०४४ सालमै ‘जनयुद्ध’ गर्न चाहे पनि परिस्थितिले आठ वर्ष ढिलो सुरु गरिएको खुलासा गरेका छन् ।
पत्रकार उजिर मगरद्वारा लिखित पुस्तक ‘अशं’ को विमोचन गर्न मंगलबार आयोजित कार्यक्रममा दाहालले २०४४ सालमै ‘जनयुद्ध’ सुरु गर्न गोरखाको सिरानचोकमा पहिलो सैन्य तालिम समेत गरेको सम्झना गरे । ‘तर परिस्थिति परिवर्तन भयो, जनयुद्धको मिति पनि धकेलियो’, दाहालले भने । २०५२ फागुन १ गते सुरु भएको माओवादी ‘दीर्घकालीन जनयुद्ध’ १० वर्षसम्म चलेको थियो ।

‘२०४४ सालमै ‘जनयुद्ध’ सुरु गर्न गोरखाको सिरानचोकमा सैन्य तालिम गरेका थियौं तर परिस्थिति परिवर्तन भयो,  केही पछि धकेलियो’

२०४४ सालमा कुनै नेताले चाहेर मात्र सशस्त्र संघर्ष नभएको चर्चासमेत दाहालले गरे । ‘त्यो एउटा रिभुलुस्नरी रोमान्सको उत्सुकता थियो जस्तो लाग्छ’, दाहालले भने, ‘प्रचण्ड (आफू) या बाबुरामले चाहँदैमा जनयुद्ध हुँदैनथ्यो, त्यसैले त्यो बेला भएन ।’
त्यो समयमा जनयुद्ध सुरु गर्न नसक्नुको मुख्य कारण २०४६ सालको जनआन्दोलनको वातावरण बन्दै जानुभएको दाहालको बुझाइ छ । ‘सुरु गर्ने तयारी गरिरहँदा ०४६ को आन्दोलनको वातावरण बन्यो’, उनले भने, ‘त्यसैले भएन ।’
त्यतिबेला ‘जनयुद्ध’ सुरु गरेको भए २÷४ वटा सुरक्षा क्याम्प आक्रमण गर्न सकिने भए पनि पञ्चायत जोगाउन खोजेको भन्ने गलत सन्देश जाने धारणा बनेको थियो । विद्रोह थालिएको भए त्यसैलाई देखाएर राजाले थप ‘कु’ गर्ने र प्रजातन्त्रवादी शक्तिलाई दबाउने सम्भावना देखेकै कारण पहिलो तयारी रोकिएको उनले बताए । त्यसबेला २ वटा बन्दुक, १ नाल पेस्तोल र केही विष्फोटक पदार्थ जम्मा पारिसकेको समेत दाहालले खुलाए ।
नोकरसँग हैन मालिकसँग पार्ता गर्ने कुरा
‘जनयुद्ध’ सुरु गर्नु र शान्ति प्रक्रियामा आउनुको अन्तर्राष्ट्रिय आयाम भएको दाहालले बताए । जनयुद्ध कसैको व्यक्तिगत कारणबाट नभई तत्कालीन सामाजिक, आर्थिक, राजनीतिक र मनोवैज्ञानिक परिस्थतिको उपज भएको दाहालको दाबी छ ।
सशस्त्र संर्घष छाडेर आफूहरू शान्ति प्रक्रियामा आउनुको पछाडि अन्तर्राष्ट्रिय कारणसमेत रहेको उनले बताए । ‘ट्विन टावरमा हमला भएपछि विश्वभरका न्यायपूर्ण आन्दोलनमाथि साम्राज्यवादीले दमन थाले , त्यसको छिर्का यो वा त्यो रुपमा यहाँ नदेखिने कारण भएन,’ उनले भने, ‘दल र राजाबीच पनि तालमेल थिएन । त्यही परिस्थितिमा शान्तिप्रक्रिया सुरु भयो।’
भारतको सिलगुडीमा भएको बैठक पनि शान्तिप्रक्रिया सुरुवातकै लागि भएको उनले बताए । ‘तर त्यो बैठक असफल भयो, दलहरूले पहल कदमी लिन सकेनन्’, दाहालले भने, ‘उक्त बैठकमा मैले संविधानसभाको प्रस्ताव राखेको थिएँ तर दलहरूको राजालाई मनाउने आँट देखिएन, बैठक असफल भयो ।’ सिलगुडी बैठकमा नेपाली कांग्रेस सहभागी थिएन । त्यही बैठकपछि नै आफूहरूले नोकरसँग हैन सीधै मालिकसँग वार्ता गर्ने विज्ञप्ती जारी गरेको उनले बताए ।
राजा वीरेन्द्रसँगको कुराकानी
वार्ताका लागि राजा वीरेन्द्रसँग कुराकानी त्यतिबेलै थालिएको दाहालले बताए । ‘हाम्रा एक केन्द्रीय सदस्यले दरबारसँग कुरा गरिरहेका थिए’, दाहालले भने, ‘कुरा भइरहेकै बेला दरबार हत्याकाण्ड भयो ।’ राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्रमार्फत दरबारसँग कुरा भइरहेकै परिस्थीतिमा दरबार हत्याकाण्ड भएको उनले बताए । दरबार हत्याकाण्डपछि आफू र बाबुराम भट्टराई बसेर लेख तयार पारेर पत्रिकामा दिएको पनि उनले खुलाए । त्यो लेखले धेरै  हलचल ल्याएको उनको भनाइ छ ।
त्यसपछि ज्ञानेन्द्रसँग कुरा भए पनि असली राजा र नाटकीय ढंगबाट भएका राजाको सोच्ने तरिका नै फरक पर्ने भन्दै उनले
राजकुमार दिकपाल’ को कथामा जस्तो सक्कली र नककली राजाको उदाहरण दिए । ज्ञानेन्द्रले राजा हुँदाको मौका छोप्न नसकेको पनि दहालले बताए ।  
१२बुँदेको आधारभूमी रोल्पा
शान्तिप्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको प्रस्थानबिन्दु १२बँुदे समझदारी भएको बताउँदै त्यसको आधारभूमी रोल्पा भएको दाहालले प्रष्ट पारे । ‘रोल्पामा एमाले नेता वामदेव गौतम र युवराज ज्ञवालीसँग भेट भयो, धेरै लामो कुराकानी भयो’, दाहालले भने, ‘त्यहाँ एउटा सहमतिको प्रारम्भिक मस्यौदा भयो, त्यसैले १२बुँदे समझदारीको आधारभूमी तयार पा¥यो ।’ १२बुँदे समझदारी नयाँदिल्लीमा भए पनि त्यो मौलिकतामा भएको उनले प्रष्ट्याए ।

प्रकाशित: ७ असार २०७४ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App