२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीलाई असन्तुष्टको, सिटौलालाई बागीको तनाव

झापा – झापाका १५ वटा स्थानीय तहमध्ये सबैभन्दा चाखलाग्दो भीडन्तको थलो बनेका दमक र भद्रपुरमा सबैको नजर सोझिएको छ । नेपाली राजनीतिका दुई प्रभावशाली खेलाडी केपी शर्मा ओली (दमक) र कृष्णप्रसाद सिटौला (भद्रपुर) को गृहनगरमा उनीहरु आफैं चुनावमा खटिएका कारण पनि यी दुई नगरले ध्यान तानेका हुन्। 

दुवै नेता आआफ्नो नगरका उम्मेदवारको चुनावी अभियानमा दौडिएर मतदातासँग भोट मागिरहेका छन् । ओली चार दिन झापा बसेर राजधानी फर्किए भने सिटौलाले नगर छाडेका छैनन् । आआफ्नो नगरका मतदाता भेट्ने, चुनावी सभालाई सम्बोधन गर्ने र कार्यकर्तासँग नियमित छलफल चलाउने काममा उनीहरुले समय लगाइरहेका छन्। 

यसपटक ओली र सिटौला दुवैलाई समान कारणको दबाब पनि छ । ओलीले दमकमा र सिटौलाले भद्रपुरमा आफ्नै निकट व्यक्तिलाई मेयरको उम्मेदवार बनाएका छन् । २०५४ सालमै  दमकको मेयर बनेका रोमनाथ ओलीलाई नै एमालेले यसपटक फेरि उम्मेदवार बनाएको छ । भद्रपुर कांग्रेसका धेरै ‘सिनियर’ हरुको दाबी रहेका बेला सिटौलाले आफू निकट गणेश पोखरेललाई मेयरको उम्मेदवार बनाएका छन्। 

नेताहरुका निकटलाई टिकट दिइएको भन्दै कांग्रेस र एमालेमा ठूलै तनाव जन्मेको थियो । ओलीले दमक एमालेको तनाव आफैं आएर साम्य पारे पनि सिटौलाले भद्रपुर कांग्रेसको असन्तोष व्यवस्थापन गर्न सकेनन् जसका कारण भद्रपुर कांग्रेसले बागी उम्मेदवारको सामना गर्नुपरेको छ । विगतमा कांग्रेसबाटै उम्मेदवार बनेर झापा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा चुनाव जितेका नवराज पनेरु  केही महिनाअघि मात्रै पार्टी छाडेर राप्रपाबाट भद्रपुरको मेयरको उम्मेदवार बनेका छन् । पनेरुले मत काट्ने चिन्ता जारी रहेकै बेला कांग्रेसका पुराना नेता जगदीश काफ्लेले बागी उम्मेदवारी दिएपछि सिटौलाको तनाव झनै बढेको छ। 

आइतबार मनोनयन दर्तापछि काफ्लेलाई मनाउन सिटौलालगायतका धेरै कांग्रेस नेताले गरेको प्रयास असफल भएको छ । ‘सिटौला आफैंले उहाँलाई भेटेर उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारका पक्षमा उभिन आग्रह गर्नुभयो’, भद्रपुर कांग्रेसका एक पदाधिकारीले भने ‘तर, जगदीशजीले मान्नुभएन ।’ अन्तिम समयसम्म पनि जगदीशलाई फकाउने प्रयास जारी राख्नुपर्छ भन्दै  सिटौलाले कार्यकर्ता पंक्तिलाई भनेका छन्  । ‘उम्मेदवारी फिर्ता नलिए पनि सहयोग गराउने प्रयास हदैसम्म गर्नुपर्छ’, भद्रपुरका एक नेताले सिटौलालाई उद्धृत गरे । तर, काफ्लेको बागी उम्मेदवारीले आफूलाई कुनै असर नगर्ने मेयरका उम्मेदवार पोखरेलले बताए । पार्टीको निर्णयका पक्षमा सबै कार्यकर्ता उभिएको बताउँदै उनले आफ्नो जित निश्चित रहेको पनि दाबी गरे। 

एमाले अध्यक्ष ओलीले चार दिन झापा बस्दा पार्टीका असन्तुष्ट समूहलाई पनि भेटे ।  ‘देशैभरि एमालेको पक्षमा लहर आएका बेला दमकमै हार्ने छुट एमालेलाई छैन’, ओलीको भनाइ उद्धृत गर्दै पार्टीका एक नेताले भने, ‘उहाँले कार्यकर्ता पंक्तिलाई यसै भन्नुभयो।’ 

ओलीकै निर्वाचन क्षेत्रमा पर्ने दमक एमालेको पुरानो गढको रुपमा चिनिएको ठाउँ हो । त्यसैले एमालेलाई विरासत जोगाउने चुनौती छ भने अन्य दललाई एमालेको किल्ला तोड्ने चुनौती । दमक नगरको बागडोर हात पार्न ठूला चार दलका उम्मेदवार कडा प्रतिस्पर्धाको परीक्षाबाट गुजिँ्रदैछन् । २०४९ र २०५४ सालका दुवै स्थानीय चुनावमा एमालेले बागडोर सम्हालेको दमकमा कांग्रेस, राप्रपा  र माओवादी केन्द्र यसपटक आफ्नो झन्डा फहराउने योजनामा छन्। 
 
एमालेबाट २०५४ सालमा १ हजार ३१ मतको अन्तरले राप्रपाका राम थापालाई जितेर मेयर भएका रोमनाथ ओली उम्मेद्वार बनेका छन् भने राप्रपाबाट पनि थापा नै उम्मेदवार छन् । कांग्रेसबाट ढुण्डीराज भण्डारी र माओवादीबाट गगन पुरी मेयरको उम्मेदवार छन् । राप्रपाका थापा पार्टीका सहमहामन्त्रीसमेत हुन । उपमेयरमा राप्रपाबाट रीता श्रेष्ठ, एमालेबाट गीता अधिकारी, कांग्रेसबाट उपमेयरमा रेगिना भट्टराई र माओवादी केन्द्रबाट  शान्ति धिमाल प्रतिस्पर्धा गर्दैछन्। 

राजनीतिक दलले आफ्नो पकड सकेसम्म राम्रो बनाउन घरदैलो अभियान तीव्र  पारेका छन् । दमक नगरको जनसंख्या १ लाख ५ हजार छ । ४६ हजार ५ सय २३ जना मतदाता दमकमा छन्। 

कांग्रेस नेता सिटौलालाई भने आफ्नो नगरमा पहिलोपटक जित दर्ता गर्ने चुनौती छ । संसद् र संविधानसभा चुनावमा एमाले, कांग्रेस र माओवादीले पालैपालो जितेको क्षेत्रमा पर्ने भद्रपुरमा पहिलोपटकको स्थानीय चुनाव एमालेले जितेको थियो । २०५४ को चुनावमा सद्भावनाका तर्फबाट भारतेन्दुकुमार मल्लिकले मेयरमा र एमालेका जीवनकुमार श्रेष्ठले उपमेयर पदमा जितेका थिए । यसपटक तिनै श्रेष्ठलाई एमालेले मेयरको उम्मेदवार बनाएको छ भने कांग्रेसले गणेश पोखरेललाई । हाल फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य रहेका मल्लिकको दलबाट शत्रुधन चौधरी मेयरको उम्मेदवार छन् । मेची बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा जितेर कांग्रेस राजनीतिमा उदाएका पोखरेल नेता सिटौलाका ‘दाहिने हात’ भनेर चिनिन्छन् । उनी अहिले कांग्रेसको क्षेत्रीय सभापति पनि हुन् । २०७० को संविधानसभा चुनावमा झापा ३ का विजेता सिटौलाको निकटतम प्रतिद्वन्द्वी रहेको राप्रपाबाट पनेरु, माओवादी केन्द्रबाट शिवराज राजभण्डारी उम्मेदवार छन् । ४२ हजार ५७ जना मतदाता रहेको भद्रपुरमा यसपटक चन्द्रगढी, पृथ्वीनगर र महेशपुर पनि गाभिएका छन् ।

प्रकाशित: १० असार २०७४ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App