२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मतदाता रिझाउन उम्मेदवारका महत्वकांक्षी योजना

भैरहवा- स्थानीय तह निर्वाचनको मिति नजिँकीदै गर्दा दलहरुलाई चुनावी सभा तथा भेला गर्न भ्याई नभ्याई छ। घरदैलो सकेर उम्मेदवारहरु कोण सभा, भेला तथा र्याली मार्फत शक्ति प्रदर्शन गर्दै आकर्षक चुनावी नाराले मतदाता तान्न खोजीरहेका छन।

अघिल्ला चुनावमा जस्तै यस पटक पनि ठूला देखि साना दलका उम्मेदवार, तीनका केन्द्रिय तथा स्थानीय नेताहरुले विकास र समृद्धिको लागि आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरीरहेका छन्। सिद्धार्थनगर नगरपालिकामा काग्रेसका उम्मेदवार मातृका यादवले आफुले जिते भैरहवालाइ औधोगिक र पर्यटकीय नगरीको रुपमा विकास गर्दै समुन्नत र समृद्ध बनाउने प्रतिबद्धता जनाएका छन । भ्रष्टाचार मुक्त, सफा स्वच्छ र सुन्दर पर्यटकीय नगरी बनाउन आवस्यक पर्ने भौतिक पुर्वाधार निमार्ण पाँचै बर्षमा सक्ने काग्रेस सिद्धार्थनगरको प्रतिबद्धता पत्रमा उल्लेख छ।

घरदैलो सकेर उम्मेदवारहरु कोण सभा, भेला तथा र्याली मार्फत शक्ति प्रदर्शन गर्दै आकर्षक चुनावी नाराले मतदाता तान्न खोजीरहेका छन।

 एमालेका मेयरका उम्मेवार हरी अधिकारीलेपनि प्रत्येक टोल टोलमा विकासको लहर ल्याउने बचनबद्धता गरीरहेका छन्। पंचायत र बहुदल गरी लगातार तीन पटक सिद्धार्थनगरको नगरप्रमुखमा जितेका राप्रपाका सागर प्रताप राणाले भैरहवालाई स्वच्छ, साक्षर,स्वस्थ र पुर्वाधार युक्त नेपालकै सुन्दर नगर बनाउने प्रतिबद्धता सहित मत मागीरहेका छन। राणाका अनुसार भैरहवा पाँच बर्षमा देशकै सुविधा सम्पन्न र प्रविधियुक्त नगर बन्नेछ । सिद्धार्थनगरबासी त्यसका मालिक बन्नेछन्। अघिल्ला जितपछि सानो आकारको बजेटले साना देखि ठूला र महत्वाकाँक्षी विकास निर्माणका काम गरेकाले यसपटकपनि विकास र समृद्धिका लागि जनताले राणालाई मत दिने राप्रपाका प्रवक्ता रवि रौनीयारको दावी छ।

 विकासको प्रसस्त सम्भावना बोकेको तिलोत्तमा नगरपालिकामा काग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा छ। दुवै पार्टीका उम्मेदवारले आफ्नो जितले मात्रै विकास संभव हुने दावी गर्दै पाच बर्षमा स्वरोजगारयुक्त,स्मार्ट र स्याटेलाइट सिटी बनाउने नारा लगाएका छन्। कांग्रेसबाट मेयरका उम्मेदवार बनेका रामकृष्ण खाणले जँहा घर त्यँहा बाटो जहाँ बाटो त्यहाँ कालोपत्रे,सिंचाइ,कषिको व्यवसायीकरण,सकुम्बासीलाई लालपुर्जा,सौर्य बत्ति,औधोगिक करीडोर,बाल उद्यान, जेष्ठ नागरिक सेवा केन्द्र,पार्क, बसपार्क, मेडिकल कलेज, खेलमैदान,पर्यटकीय उद्यान देखि नगरलाई पर्यटकीय बिश्राम स्थलको रुपमा विकास गर्ने योजना अगाडि सारेका छन्।

 तिलोत्तमामा देशकै ठूलो र चौडा चक्रपथ निमार्ण गर्ने योजना सहित हाम्रो नगर राम्रो नगर, सबै अटाउने सबै रमाउने, हरीयाली र खुसीयालीको स्मार्ट सिटी बनाउने योजना कांग्रेसको छ। जित पछि सबैको साझा भएर नगर र नगरबासीको हित र विकासमा दिलो ज्यान दिएर लाग्ने मेयर तथा उपमेयरका उम्मेदवारले प्रतिबद्धता जनाएका छन। काग्रेसको चुनावी अभियानलाई सघाउन पार्टीका केन्द्रिय सदस्य तथा पूर्व रक्षा मन्त्री बालकृष्ण खाणपनि दुइ सात देखि जिल्लामै छन्। देशमा भएका हरेक परिर्वतन र महत्वपूर्ण उपलब्धी कांग्रेसकै नेतृत्वमा भएकाले विकास र समृद्धिको नेतृत्व पनि जनताले कँग्रेसलाइ दिने दावी नेता खाणको छ ।

काँग्रेसले स्मार्ट सिटी बनाउने सपना देखाएको तिलोत्तमालाई एमालेले स्याटलाइट सिटीको पुर्वाधार विकास गर्ने महत्वाकाँक्षि योजना नगरबासीलाइ बाँडेको छ । एमालेबाट मेयरका उम्मेदवार वासुदेव घिमिरेले नगरभित्रको ६ लेन सडकका दुबै किनारका घरमा एउटै रङ्ग लगाउने, भित्री बाटाहरु दुइलेनका बनाउने,सबैलाई रोजगारी, सुकुम्बासीलाई लालपुर्जा,चक्रपथ निर्माण गर्दै नगरलाइ स्याटलाइट सिटि बनाउन पुर्वाधार विकास गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । एमालेका उपमहासचिव घनस्याम भुसाल र बिष्णु पौडेलले पनि उम्मेदवारका विकासे नारालाइ साथदिदै ती प्रतिबद्धताहरु पुरा गरेरै छाड्ने दावी गरीरहेका छन।

माओवादी केन्द्र पनि के कम तिलोत्तमालाइ देशकै नमुना नगर बनाउने दावी सहित साना देखि ठूला आश्वासन बाढीरहेको छ। माओवादी केन्द्र मेयरका उम्मेदवार महादेव खनाल(लक्ष्मण)ले व्यवस्थित बासोबास, सडक, ढल निकास, बाटोघाटोको विकास गर्दै भ्रष्टाचार मुक्त नगरपालिका बनाउने योजना अगाडी सारेका छन।

बुद्ध जन्मस्थल लुम्बिनी साँस्कृतिक नगरपालिकामा मुख्य प्रतिस्पर्धी फोरम,काँग्रेस र एमालेका उम्मेदवारले लुम्बिनीलाइ मक्का मदिना जस्तै संसारभरका बुद्ध धर्मावलम्बीहरुको पर्यटन केन्द्र बनाएर नगरपालिकालाइ सुन्दर र समृद्ध बनाउने आश्वासन दिएका छन ।

विकासका एजेण्डामा कार्यगत एकता गर्न नसकेको जनगुनासो रहेकै बेला नेताहरुले चुनाव अघि सम्म जुन पार्टीको भएपनि निर्वाचित भएपछि सबैको साझा बन्ने प्रतिबद्धता जनाउन पनि चुकेका छैनन । मतदाता रिझाउन दलहरुले जतिसुकै आकर्षक नारा लगाएपनि मतदाताहरु भने महत्वकाक्षी योजनामा भन्दा आधारभुत विकासमा ध्यान दिनेलाइ भोट दिने मनस्थितिमा छन । खानेपानी बाटोबाटो ढल निकास सरसफाइ, सिंचाइ, मलखाद र बीउबीजनमा सहुलियत, स्वरोजगार मुलक कार्यक्रम, साना तथा घरेलु उद्योगको प्रबद्र्धन जस्ता विकास आवश्यक रहेको स्थानीयको भनाइ छ। नगरबासीले जो जतीसुकै चिच्चाएपनि स्थानीय समस्या र आवश्यकता बुझेको,दुरदर्शी,जितेपछि सबैलाइ मिलाएर लैजान सक्ने, विकासका एजेण्डामा अन्य दलसंग सहकार्य गर्ने र भ्रष्ट्राचार नगर्ने व्यक्ति छानेर भोट दिने बताएका छन।

प्रकाशित: १० असार २०७४ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App