१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

लिच्छिविकालीन वामन मूर्तिको बेवास्ता

त्रिभुवन विमानस्थलबाट गौशालातर्फ लाग्दा बाग्मती पुल नपुग्दै दायाँतर्फ ठूलो बस ग्यारेज छ ।

वर्षाको पानी, हिलो र फोहोरले दुर्गन्धित ग्यारेजकै भित्तामा छ–ऐतिहासिक विष्णु विक्रान्त(वामन)को मूर्ति । 

मूर्ति अग्लो स्थानमा भए पनि छेउछाउमा फोहोर र तलपट्टी खाडल छ । खाडलमा जमेको छ, दुर्गन्धित पानी । खाडल नाँघेर  मूर्तिलाई नजिकै गएर नियाल्न सकिँदैन । दुर्गन्ध र फोहोर स्थानमा रहेको यो मूर्तिलाई ऐतिहासिक भनेर पत्याउन गाह्रो हुन्छ । 

‘लिच्छिविकालीन यो मूर्तिमा विश्वकै ‘मास्टर पिस एक्सन’ छ ।’ 
जगमान गुरुङ, संस्कृतीविद्   

वामन मूर्ति त्यही स्थानमा छ भन्ने ग्यारेजमा कार्यरतलाई समेत पत्तो छैन । प्रथम प्रामाणिक लिच्छिवी राजा मानदेवले बनाउन लगाएको यो मूर्ति ऐतिहासिक मात्र नभई धार्मिक हिसाबले समेत महŒवपूर्ण मानिन्छ । संरक्षण अभावमा यो महŒवहीन बनेको छ ।  

इतिहास तथा संस्कृतिविद् जगमान गुरुङ विष्णु विक्रान्तको यस्तो मूर्ति संसारमा कतै पनि नभएको दाबी गर्छन् । बस्तीको बीचमा रहेको लिच्छिविकालीन यो मूर्तिमा विश्वकै ‘मास्टर पिस एक्सन’ रहेको गुरुङ बताउँछन् । ऐतिहासिक मूर्तिको कतैबाट संरक्षण पहल नहुँदा नरमाइलो लागेको गुरुङ बताउँछन् । ‘यस्तो महŒवपूर्ण मूर्तिको संरक्षणमा पहल नहुँदा मन रुन्छ,’ गुरुङले भने । 

गुरुङले आफूले यसको संरक्षणका लागि पुरातत्व विभागलाई खबर गरेपनि सुनुवाई नभएको बताए । ‘ऐतिहासिक महŒव बोकेको मूर्ति उपेक्षित भइरहेको छ । तर, संरक्षणका पहल गरिएन,’ उनले भने । 

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर भने मूर्तिको संरक्षण भइरहेको बताउँछन् । उनले ग्यारेज संचालनमा आएपछि समस्या भएको र थप जानकारी पशुपति क्षेत्र विकास कोषसँग भएको बताए । 

कोषका सदस्य सचिव गोविन्दबहादुर टण्डनले त्यस क्षेत्रको जग्गा अधिकरण गरिसकिएकाले विस्तारै संरक्षण गरिने बताए।

हिन्दू मान्यता अनुसार त्रेतायुगमा विष्णु भगवानले वामन अवतार लिएका थिए । सुरुमा वामन (पुड्के) स्वरूपमा देखिएका विष्णुले बलिको अभिमान अन्त्य गर्न विकराल रूप धारण गरेको विभिन्न पुराणमा वर्णन गरिएको छ । 

मानदेवले आमाका लागि वामनको यही स्वरूपको मूर्ति बनाउन लगाएको इतिहासकार बताउँछन् । वामनको विकराल रूपलाई नै विष्णु विक्रान्त भनिएको संस्कृतिविद् गुरुङले बताए ।  

तिलगंगाका केशव दुलाल अहिले पनि वैकुण्ठ चतुर्दशीका दिन पशुपतिमा तिल छरेर दर्शनार्थी वामनको दर्शन गर्न त्यहाँ आउने गरेको बताउँछन् । उपत्यकाका एक सय आठ कुण्डमा नुहाएर वामनको दर्शन गर्दा सम्पूर्ण पाप नष्ट हुने किम्बदन्ती छ । तर, अहिले सबैजसो कुण्ड लोप भइसकेकाले पशुपतिबाटै भक्तजन तिलगंगासम्म आएर वामनको दर्शन गर्छन् । 

प्रकाशित: १२ असार २०७४ ०५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App