१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

यु-१९ विश्वकप : अफगानिस्तान मुख्य तगारो

काठमाडौं- यु-१९ विश्वकपमा छनोट हुने लक्ष्यका साथ छनोट प्रतियोगिताका लागि सिंगापुर पुगेको नेपालले सोमबार आयोजक सिंगापुरविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ।

मलेसिया र सिंगापुर आइसिसी यु–१९ विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत डिभिजन २ को क्रमशः विजेता र उपविजेता हुदै यस प्रतियोगिताका लागि छनोट भएका हुन्। नेपाल र अफगानिस्तान गत संस्करण विश्वकप खेलेका टोली हुन्। नेपाल र  सिंगापुर यसअघि यु–१९ उमेर समूहमा चार पटक आमनेसामने भएका छन्। त्यसमध्ये नेपालले तीन खेलमा विजय हासिल गरेको छ भने एक खेल नतिजाबिहीन बनेको थियो।  नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले प्रतियोगिताका सबै टोली उत्तिकै बलिया रहेको बताए।

‘हामीले कुनै पनि टोलीलाई हल्का रूपमा लिएका छैनौं,’ प्रशिक्षक दासले थपे, ‘सबै टोली उत्तिकै राम्रा छन्। मलेसिया र सिंगापुर पनि राम्रो खेलेर यस प्रतियोगिताका लागि छनोट भएका हुन्।’

नेपाल र अफगानिस्तानलाई प्रतियोगिताको दाबेदारका रूपमा हेरिएको छ। अफगानिस्तानलाई आइसिसीले भर्खरै टेस्ट राष्ट्रको मान्यता दिएको छ। सम्भवतः नेपालले यो स्तरमा अफगानिस्तानविरुद्ध खेल्ने अन्तिम खेल पनि हुन सक्छ। पछिल्लो समय नेपालको तगारोका रूपमा अफगानिस्तान खडा भएको छ, सिनियर टोली होस् या उमेर समूहमा। तथापि प्रशिक्षक विनोद दासले त्यस दिन राम्रो प्रदर्शन गर्न सक्यो भने अफगानिस्तानलाई हराउन नेपाल सक्षम रहेको प्रतिक्रिया दिए। उनले थपे, ‘अफगानिस्तान अर्को एउटा राम्रो टोली हो। हामीले आफ्नो तर्फबाट राम्रो क्रिकेट खेल्नुपर्छ। यदि त्यो दिन हामीले राम्रो खेल्न सक्यौं भने उनीहरूलाई हराउन सकिन्छ। त्यसका लागि हामी तयार छौं।’

२०१८ मा न्युजिल्यान्डमा हुने यु–१९ विश्वकप आफ्नो मुख्य लक्ष्य बताउने विनोद दासले छनोट प्रतियोगिताका लागि भएको तयारीबाट आफू सन्तुष्ट रहेको बताए। ‘तयारी राम्रो भएको छ। हामीले भनेको जस्तो पायौं। भारत भ्रमणले खेलाडीको क्षमता र फिटनेस सुधार्न सहयोग गर्‍यो। हामी उच्च मनोबलका साथ यहाँ आएका छौं,’ प्रशिक्षक दासले भने, ‘विश्वकप हाम्रो मुख्य लक्ष्य हो।’

सिंगापुर उड्नुअघि नेपाली टोलीले भारतको नोएडामा झन्डै एक महिना बन्द प्रशिक्षण गरेको थियो। नेपालले त्यहाँ खेलेका ५ मैत्रीपुर्ण खेलमध्ये ३ मा विजय हासिल गरेको थियो। नोएडामा भएको मैत्रीपूर्ण खेलमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, प्रनित थापामगर, सन्दीप सुनार र एडिल खानले ब्याटिङमा राम्रो प्रदर्शन गरेका थिए। सिनियर टोलीमा स्थान बनाइसकेका स्पिनर सन्दीप लामिछानेले टोलीको कप्तानी गरेका छन्। उनले नेपालको बलिङ आक्रमणको पनि नेतृत्व सम्हाल्नेछन्। स्पिन आक्रमणमा सन्दीपलाई साहब आलम र ललित राजवंशीले साथ दिनेछन्। प्रशिक्षक दासले टोली कुनै एउटा विशेष खेलाडीमा निर्भर नभएको बताए। उनले थपे, ‘मैले एउटा खेलाडीभन्दा टिममा विश्वास गरेको हुँ। हाम्रो सन्तुलित टोली छ। बलिङ आक्रमण राम्रो छ। ब्याटिङ डेप्थ पनि राम्रो छ। फिल्डिङमा सुधार भएको छ। समग्रमा अलराउन्ड टिम तयार भएको छ।'

दीपेन्द्रसिंह ऐरी, सन्दीप सुनार र सन्दीप लामिछानेसँग गत संस्करणमा यु–१९ विश्वकप खेलेको अनुभव छ। ललितनारायण राजवंशीले पनि ग्लोबल छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए। एसिया छनोट प्रतियोगितामा दोस्रो भएको नेपालले ग्लोबल छनोट प्रतियोगिताको फाइनलमा आयरल्यान्डलाई ३ विकेटले हराउँदै बंगलादेश विश्वकपमा स्थान पक्का गरेको थियो। आयरल्यान्डविरुद्धको फाइनलमा ४ विकेट लिएका ललितनारायण म्यान अफ दी म्याच घोषित भएका थिए।

बंगलादेशमा न्युजिल्यान्डलाई ३२ रनले हराउँदै  उत्कृष्ट सुरुआत गरेको नेपालले दोस्रो खेलमा आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो। समूहको अन्तिम खेलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपालले पुनरागमन गर्न सकेन। समूहको उपविजेताको हैसियतमा क्वार्टरफाइनल पुगेको नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भयो। पाँचौं स्थानका लागि भएको खेलमा पनि नेपालले पाकिस्तानलाई १ सय २२ रनको नतिजा सुम्पियो। त्यसपछि सातौं स्थानका लागि भएको खेलमा पनि नामिबियासँग १५ रनले हारेपछि नेपालले यो छनोट प्रतियोगिता खेल्नुपरेको हो। प्रतियोगितामा सातौं स्थानमा रहेको नामिबिया एसोसिएटको शीर्ष टोली बन्दै विश्वकपका लागि स्वतः छनोट भयो। नेपाल आठौं र अफगानिस्तान नवौं स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेका थिए। सिंगापुरमा डबल राउन्डरोविन लिगका आधरमा भएको छनोट प्रतियोगितामा नेपाल, अफगानिस्तान, मलेसिया र सिंगापुरमध्ये शीर्ष टोलीले मात्र यु–१९ विश्वकपमा स्थान बनाउनेछ।

प्रकाशित: २ श्रावण २०७४ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App