१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मेहन्दीले प्रेमिकाको नाम !

काष्ठमण्डप- कुलदीपकुमार वाष्र्णेयले फुटपाथमा मेहन्दी लगाउने व्यवसाय सुरु गर्दा काठमाडौंमा धेरैले कपाल रंग्याउने रसायनयुक्त मेहन्दी हातमा लगाउँथे । स्वास्थ्यलाई हानि गर्ने रसायन भएको मेहन्दीको विकल्पमा उनले आयुर्वेदिक मेहन्दी लगाउने प्रचलन सुरु गरे ।
त्यतिबेला मेहन्दीको पीठो बजारमा पाइए पनि त्यसलाई कपालमा मात्र लगाउने चलन थियो । ‘मैले मेहन्दीको धुलोलाई शरीरको छालामा कलात्मक बनाएर लगाउन सुरु गरेँ,’ उनले भने ।
उनको मेहन्दीको व्यवसाय सन् २००३ मा ‘मुम्बई मेहन्दी ट्रेनिङ सेन्टर’ खोल्दासम्म अझ व्यापक बनिसकेको थियो । त्यहाँबाट तालिम दिएर व्यावसायिक मेहन्दी कलाकार उत्पादन गर्दासम्म त काठमाडौंमा मेहन्दी व्यावसायिक बनिसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘अहिले त मेहन्दी यति व्यापक भइसक्यो कि नेपालीको विवाह पनि मेहन्दीबिना हुँदैन ।’
विवाहलगायत समारोहमा प्रचलनमा रहे पनि साउनमा मेहेन्दीको महŒव अझ विशेष हुन्छ । साउनमा हरियो पहिरनसँगै हरियो मेहन्दी लगाउने चलन बर्सेनि बढ्दै गएको कुलदीप बताउँछन् । साना बालिकादेखि वृद्धसम्मले साउनमा मेहन्दी लगाउँछन् । यसबेला मेहन्दी आर्टको बजार पनि फस्टाउँछ । मुम्बई मेहन्दी सेन्टरले साउनमा ५० प्रतिशतसम्म छुट दिएर मेहन्दी लगाइदिने कुलदीपले बताए ।
ब्युटिसियन दिविशा बस्याललाई साउनको पहिलो हप्ता मेहन्दी लगाइदिन भ्याइनभ्याई हुन्छ । उनी भन्छिन्, ‘अरु बेला चाडबाड वा विवाहको लगन हुँदा मात्र मेहन्दीको काम हुने भए पनि साउनमा जुन दिन पनि मेहन्दी लगाइदिनुपर्ने हुन्छ ।’
मेहन्दीको व्यवसाय ब्युटिपार्लर र मेहन्दी सेन्टरमा मात्र सीमित छैन । असारको अन्तिम हप्तादेखि नै मेहन्दी आर्टिस्ट काठमाडौंका फुटपाथमा बसिसकेका छन् । बागबजारको फुटपाथमा हात र खुट्टामा लगाइने मेहन्दीको सुन्दर डिजाइन डिस्प्ले गरेर बसेका छन्, रौतहटका राकेश पटेल । भारतमा मेहन्दी आर्टिस्टको रूपमा काम गर्दै आएका उनी हरेक वर्ष साउनमा काठमाडौं आउने गरेका छन् । पटेलले भने, ‘साउनमा नेपाली दिदीबहिनीले धेरै मेहन्दी लगाउँछन् भनेर हरेक साल आउने गरेको छु ।’ उनले मेहन्दीको डिजाइन हेरेर ५० रुपैयाँदेखि एक सय रुपैयाँसम्म लिन्छन् । दैनिक ५० देखि ६० जनासम्मको हात रंग्याइदिन भ्याइने उनले बताए ।
पटेलजस्तै फुटपाथमा मेहन्दी लगाइदिन बसेका छन्, भारतका मनोज कुमार । साउनमा मेहन्दीको धेरै व्यापार हुने थाहा पाएर काठमाडौं आएको उनले सुनाए । असार ३१ गतेदेखि मेहन्दी लगाइदिन फुटपाथमा बसेका उनले व्यापार सोचेजस्तो नभएको गुनासो गरे । उनले भने, ‘व्यापार नै नभएको होइन । तर सोचेजस्तो चाहिँ भएन ।’ सोचेजस्तो व्यापार नभएपछि एक–दुई दिनभित्र भारत नै फर्कने सोच बनाएका छन् ।
साउनमा हरियो लगाउनुपर्ने सांस्कृतिक प्रचलनअनुसार महिलाले मेहन्दी लगाउने भए पनि अचेल साउनमा मेहन्दी लगाउन फेसन भएको छ । पद्मकन्या क्याम्पस पढ्ने सविता पौडेलले हत्केलादेखि पाखुराभरि मेहन्दीले रंग्याएकी छन् । अविवाहित उनका लागि मेहन्दी फेसन हो । भनिन्, ‘धार्मिक र सांस्कृतिक विश्वास एकातिर होला, मैले चाहिँ सबैले लगाएको देखेर लगाएकी हुँ ।’
बानियाँटारकी अनु पाठकले भने हातमा मेहन्दीले फूलबुट्टा मात्र भरिनन् । हत्केलाको बीचमा अंग्रेजी अक्षर ‘एन’ लेखाइन् । आफ्नो प्रेमीको नाम ‘एन’ अक्षरबाट सुरु हुने भएका कारण मेहन्दीले हत्केलामा लेखेको सुनाइन् । भनिन्, ‘मेहन्दीले नाम लेखेर माया दर्शाएकी हुँ । स–साना खुसीले नै हो नि सम्बन्ध गाढा बनाउने । मेहन्दीको गाढा रङले कहाँ हो र ?’ उनको हातमा आफ्नो नाम देखेर प्रेमीलाई खुसी बनाउँदा आफूलाई पनि खुसी मिलेको अनुले बताइन् ।
फेसन वा धार्मिक विश्वास, जुनसुकै उद्देश्यले लगाए पनि मेहन्दीले महिलाको सुन्दरता त बढाउँछ नै । साथसाथै मेहन्दीले स्वास्थ्यलाई समेत फाइदा गर्ने मुम्बई मेहन्दीका सञ्चालक कुलदीप बताउँछन् । मेहन्दीले छालालाई शीतलता दिएर स्वस्थ राख्न मद्दत गर्ने उनको भनाइ छ । उनले भने, ‘गर्मीमा मेहन्दी झन् फाइदाजनक छ । छालामा लगाउँदा कतिपय अवस्थामा छालामा भएको घाउसमेत निको पार्छ ।’ कपालमा मेहन्दी लगाएमा टाउको शीतल बनाएर अनुहारमा डण्डीफोर आउनबाट समेत बच्न सकिने कुलदीप बताउँछन् । यद्यपि गाढा रङ बनाउन विभिन्न रसायन मिसाइएको मेहन्दीको प्रयोग नगर्न उनी सुझाव दिन्छन् । स्वास्थ्यका हिसाबले जुनसुकै ब्रान्डको आयुर्वेदिक मेहन्दी लगाउनु सुरक्षित नै हुने उनको सल्लाह छ ।
मेहन्दीलाई फेसनेबल बनाउन मेहन्दीका डिजाइनर र आर्टिस्टबाट लगाउनुपर्ने उनले बताए ।  मुम्बई मेहन्दीले अरेबियन तथा इन्डियन डिजाइनका दुई दर्जनभन्दा बढी प्रकारमा मेहन्दी लगाइदिने गरेको छ ।

प्रकाशित: २ श्रावण २०७४ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App