१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भाइपुस्तालाई वसन्तको योजना

काठमाडौं- झन्डै दशकअघि वसन्त गौचनले बुट थन्क्याउँदा एउटा सपना देखेका थिए, आफू पुग्न नसकेको गन्तव्यमा भाइ पुस्तालाई पुर्‍याउने। घरेलु फुटबलमा देशको 'नम्बर एक' क्लबबाट खेल्दै सबै उपाधि जिते। राष्ट्रिय टोलीमा रहँदा सधैं मुख्य खेलाडी थिए। मिडफिल्डबाट दर्शनीय प्रतिभाका साथ गोलका अवसर सधैं जसो सिर्जना गरिरहे। टिमलाई आवश्यक पर्दा आफँै गोल गर्ने क्षमता पनि प्रमाणित गरे।  तर पनि नेपालका सर्वकालीन उत्कृष्ट प्लेमेकरमध्येका एक वसन्तले विदेशबाट व्यावसायिक फुटबल खेल्ने मौका कहिल्यै पाएनन्, जुन उनले आफ्नो करियरका लागि आफैँले निर्धारण गरेको एउटा मुख्य गन्तव्य थियो।

पोखराबाट सानै उमेरमा खेलजीवन सुरु गरेका वसन्तको करियरले धेरैजसो लक्ष्य हासिल गर्‍यो। डयामसाइडको सामान्य चउरबाट पोखरा रंगशाला हुँदै एकाएक माथि उठेर उनी दशरथ रंगशालाका स्टारमा रूपान्तरित भए। देशकै सबभन्दा सफल मनाङ मर्स्याङ्दी क्लबको स्वर्णिम पुस्ताका मुख्य खेलाडीको हैसियतमा वसन्तले घरेलु फुटबलका सबैजसो उपाधि जिते। देशभित्र मात्र सीमित नरहेको करियरले नेपालको राष्ट्रिय टोली र एनआरटीबाट उनलाई भारतको गभनर्स गोल्डकपलगायतका अन्य केही उपाधि पनि जितायो। देशको शीर्ष खेलाडी बन्ने र क्लबस्तरमा उपाधि जित्ने उनको एउटा लक्ष्य सुरुआती दिनबाटै पूरा हुन थालिसकेका थिए।

१९९७ मा सानमिगेल यु–१६ प्रतियोगितामा जिल्ला छनोट हुँदै राष्ट्रिय स्तरसम्म कास्की जिल्लाको प्रतिनिधित्व गर्ने क्रममा वसन्तले आफ्नो क्षमता प्रमाणित गरेका थिए। त्यही वर्ष हुन लागेको यु–१६ एसियाली च्याम्पियनसिपका लागि टिम छान्न त्यो प्रतियोगिता गरिएको थियो। राष्ट्रिय प्रतियोगितामा गरेको उच्च प्रदर्शनले वसन्तलाई १६ वर्षमुनिको राष्ट्रिय टिमको कप्तान नै बनायो। यु–१६ खेलेर फर्किनेवित्तिकै तत्कालीन प्रशिक्षक भीम थापाले वसन्तलाई राष्ट्रिय टोलीकै प्रशिक्षणमा बोलाए। राष्ट्रिय टोलीमा भने उनी अर्को वर्ष मात्र अटाए। १९९८ मा थाइल्यान्डमा भएको १३औं एसियाली खेलकुदको नेपाली टोलीमा पहिलो पटक परेपछि राष्ट्रिय खेलाडी बन्ने अर्को लक्ष्य पनि पूरा भयो।

१९९८ मा सुरु भएको राष्ट्रिय टोलीसँगको सम्बन्धलाई २००९ सम्म निरन्तरता दिन वसन्त सफल भए। २००९ मा दशरथ रंगशालामा सम्पन्न प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण कप नेपालको जर्सीमा उनको अन्तिम प्रतियोगिता थियो। प्रधानमन्त्री कपमा नेपालबाट दुई टोली सहभागी हुँदा वसन्त नेपाल नीलोका कप्तान थिए। राष्ट्रिय खेलाडी बन्ने सपना पूरा भए पनि देशका लागि अन्तर्राष्ट्रिय पदक जित्ने लक्ष्य उनले खेलाडीका रूपमा पूरा गर्न सकेनन्।

वसन्त नेपाली फुटबलमा आफ्नो समयका जनस्तरमा सबभन्दा लोकप्रिय खेलाडी थिए। उनले घरेलु फुटबलमा हात पार्न नसकको कुनै पनि पुरस्कार छैन भने व्यक्तिगत पुरस्कार कति हात पारे उनी आफैँलाई थाहा छैन। 

१९९९ को दक्षिण एसियाली खेलकुद (साफ) को फुटबलमा नेपालले फाइनलसम्मको यात्रा तय गर्दा सानो कदका हँसिला वसन्तको प्रदर्शन सबभन्दा राम्रो थियो। त्यसैले उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। त्यति बेला उनलाई उत्कृष्ट खेलाडी भएबापत एन्फाले मोटरसाइकल पुरस्कार दिएको थियो। नेपाली फुटबलमा उत्कृष्ट भएर मोटरसाइकल पुरस्कार पाउने उनी पहिलो खेलाडी हुन्। त्यही प्रदर्शनले उनलाई गोरखा दक्षिणबाहु पनि दिलायो। फाइनलमा बंगलादेशसँग पराजित भएर उपाधिबाट विमुख भएपछि दशरथ रंगशालाको मैदानमा रोइरहेका वसन्तलाई टेलिभिजनमा देख्ने लाखौं नेपालीका आँखा पनि सुक्खा रहेनन्।

विदेशी क्लबबाट आकर्षक रकममा व्यावसायिक फुटबल खेल्ने उनले निर्धारण गरेको मुख्य गन्तव्य थियो। बंगलादेशको फुटबल त्यो बेला निकै चलायमान थियो। नेपालमा राम्रो प्रदर्शन गर्नेहरुका लागि आाकर्षक मूल्यमा खेल्ने अवसर बंगाली लिगमा थियो। वसन्तले दक्षिण एसियाली प्रतियोगितामा सर्बोत्कृष्ट प्रदर्शन गरेर बंगाली क्लबहरूको ध्यान मजाले तान्न भ्याइसकेका थिए। त्यहाँको स्थापित मोहम्मडन र्स्पोटिङ क्लबबाट उनलाई प्रस्ताव पनि आयो। तर उनलाई विदेशी लिग खेल्ने मौका भने जुरेन।

'क्लबका प्रशिक्षक र म्यानेजरले आफैँ मेरो खेल हेरेर सम्झौता गर्ने पक्का भएको थियो। पारिश्रमिकमा पनि सहमति भइसकेको थियो। तर त्यसपछि पनि सम्झौताचाहिँ भएन, किन हो मैले अझैसम्म बुझ्न सकेको छैन,' हाल जापानमा प्रशिक्षण काममा व्यस्त वसन्तले नेपाल आएको अवसरमा नागरिकसँग भने, 'हाम्रो पालामा विदेशी फुटबलसँग नेपाली खेलाडीलाई जोड्ने माध्यम थिएन। त्यसैले हामीले अवसर पाएनौं। तर अब म जापानी फुटबलसँग नेपाली खेलाडीलाई जोड्न चाहन्छु।'

प्रधानमन्त्री कपको समापनमा प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालबाट कोट लगाएर खेलजीवनमा पूर्णविराम लगाएपछि उनले फुटबलमै नयाँ करियर खोजे। २००९ मै इरानमा एएफसी फ्युचर कोच कार्यक्रमको तालिममा सहभागी भएका उनले २०१३ मा बोरुसिया डर्टमन्डमा पुगेर कोर्स पूरा गरे। एएफसी फ्युचर कोर्समा सहभागी झन्डै डेढ सयमध्ये अहिले एसियामा वसन्तसहित १८ प्रशिक्षकले कोर्स पूरा गरेका छन्। त्यही युइएफए कोचिङ लाइसेन्स पनि लिएका उनले त्यसपछि जापानलाई कर्मथलो बनाउने निर्णय लिए।

'जापानमा सुरुआती दिन मेरा लागि निकै कठिन रहे। टोकियोजस्तो महँगो सहरमा मैले साढे दुई वर्ष स्वयम्सेवक प्रशिक्षकका रूपमा स्कुल र एकेडेमीमा भांैतारिनुपर्‍यो,' आफू कार्यरत फनरुट्स फुटबल एकेडेमीका तर्फबाट अर्को वर्ष रूसमा हुने सडक तथा असहाय बालबालिकाको विश्वकपमा सहभागिता जनाउने तयारीमा रहेको सेल्टर आश्रय नेपालको टोलीलाई खेलसामाग्री सहयोग गर्न नेपाल आएका वसन्तले भने, 'तर फुटबलमै जीवन बिताइसकेको र प्रशिक्षण कोर्स गरिसकेपछि मैले भविश्य यहीँ खोज्नुपर्ने थियो। तर दुई वर्षभन्दा बढी स्वयम्सेवा गरेपछि मैले त्यहाँको प्रतिष्ठित र ठूलो फनरुट्स एकेडेमीमा प्रशिक्षकको काम पाएँ। अहिले त्यहीं रहेर युवा खेलाडीको सीप तिखार्ने काम गरिरहेको छु।'

फनरुटसका मालिक जुन हिरानोले प्रशिक्षकलाई समेत प्रशिक्षण गराउने वसन्तकै कारण आफूले लगातार नेपाली फुटबललाई सहयोग गरेको बताए। गत वर्ष पोखराका एसओएस, सहारा क्लबलगायतका अन्यलाई फुटबल सामग्री सहयोग गरेको स्मरण गर्दै उनले भने, 'वसन्त एउटा अत्यन्तै दक्ष प्रशिक्षक हो। उसको प्रशिक्षण गराउने र टिम व्यवस्थापन गर्ने क्षमता अदभुत छ। वसन्तको सपनाअनुसार हामीले नेपाली फुटबलका लागि केही दीर्घकालिन योजना बनाएका छौं।'

फनरुटस एकेडेमी जर्मनीको बोरुसिया डर्टमन्डसँग भगिनी सम्बन्ध भएको जापानको ठूलो एकेडेमी हो। जहाँ ४ देखि १५ वर्ष उमेरका २ हजार सदस्य छन्। फनरुट्सले जापानमा नियमित रुपमा युरोप र दक्षिण अमेरिकाका समेत ठूला क्लबका एकेडेमीलाई निम्त्याएर कोपा तोमा तोरेरोज फुटबल प्रतियोगिता गर्ने गर्छ। जहाँ वसन्तकै अनुरोधमा दुई वर्षअघि नेपालको यु–१२ टोलीले सहभागिता जनाएको थियो।

'त्यो बेला जर्मनीको हार्था बर्लिनको टोली पनि सहभागी थियो। नेपाली बालकहरुको खेलबाट म निकै प्रभावित भएँ,' युइएफएको व्यावसायिक प्रशिक्षक लाइसेन्सप्राप्त हिरानोले भने, 'अब नेपालमै एउटा स्तरीय एकेडेमी खोल्ने वसन्तको सपना छ। त्यसमा हामी संयुक्त रूपमा काम गरिरहेका छौं।'

वसन्तले नेपालमा सर्वसुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको फुटबल एकेडेमी सञ्चालनको प्रयास थालिसकेको बताए। 'पोखरामा एकेडेमी चलाएर जापानी फुटबलसँग नेपाललाई जोड्ने मेरो प्रयास हो,' वसन्तले भने, 'फनरुट्स एकेडेमी जापानमा निकै पहुँच भएको संस्था हो। जापान फुटबल संघमा पनि हाम्रो एकेडेमीको राम्रो प्रभाव छ। जापानमा काम गर्न थालेपछि मलाई नेपाली खेलाडीमा पनि प्रचुर सम्भावना छ भन्ने विश्वास पलाएको छ। हामी एकेडेमीबीच आपसी आदानप्रदानका कार्यक्रम गर्नेछौं। सँगै क्षमतावान् नेपाली खेलाडीलाई जापानको कुनै श्रेणीको लिगमा अनुबन्ध गराउने योजना हो। आफूले नपाएको अवसर नयाँ पुस्तालाई दिने योजनाचाहिँ सफल गरेरै छोड्छु।'

प्रकाशित: ३ श्रावण २०७४ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App