१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वन्यजन्तु तस्कर इयान बेकर ग्रिसमा पक्राउ

केपी ढुंगाना/सुबोध गौतम

काठमाडौं- नक्सालमा रहेको इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) का प्रहरी अधिकारी एक महिनादेखि 'अमेरिकी नागरिक इयान बेकरलाई नेपाल ल्याउने' पर्खाइमा छन्।

नेपालले विगत नौ वर्षयता खोजिरहेका वन्यजन्तु तस्कर बेकर एक महिनाअघि ग्रिसमा पक्राउ परेपछि त्यहाँको इन्टरपोलस्थित एनसिबी शाखाले उनलाई नेपाल पठाउने सन्देश नदिएकै कारण नेपाल प्रहरीका अधिकारीको पर्खाइ पनि लम्ँिबदै गएको छ। असार ३ बाट सुरु भएको पर्खाइ साउन ११ सम्म आइपुग्दासमेत जारी छ। अमेरिकी नागरिक त्यसमाथि ग्रिससँग सुपुर्दगी सन्धिलगायत कानुनमा सहमतिको अभाव भए पनि अन्तर्राष्ट्रिय अपराधका रुपमा हेरिने वन्यजन्तुको अभियोग लागेका बेकरलाई भने नेपाल सुपुर्दगी गर्नेमा नेपाल प्रहरीका अधिकारी आशावादी छन्।

नेपाल प्रहरीका प्रवक्ता पुष्कर कार्कीका अनुसार अहिले नेपालमा रहेको एनसिबीका अधिकारी ग्रिसको एन्थेसमा रहेको एनबिसीका अधिकारीसँग नियमित सम्पर्कमा छन्। नेसनल जोग्राफिका लागि समेत काम गरेका चर्चित अमेरिकी पत्रकार बेकरविरुद्ध नेपालमा वन्यजन्तु अपराधको अभियोग छ। उनी २४ वर्षसम्म नेपालमा बसेका थिए। बेकरो नक्साल, सममार्ग घर नम्बर ८०७ मा रहेको डेराबाट वन्यजन्तु र प्राचीन सामग्री फेला परेपछि प्रहरीले २०६५ जेठ ३ बाट उनको खोजी थालेको थियो।

घरधनी राजेश महर्जन पक्राउ परे पनि उनी फरार भए। नेपालबाहिर पुगेका उनलाई नेपाल ल्याउन इन्टरपोलमार्फत रेडकर्नर जारी गराएर २०६५ देखि नेपाल प्रहरीको खोजी सूचीमा राखिएको छ। उनी कहिले भुटान त कहिले थाइल्यान्ड आवतजावत गरिरहे पनि ती देशमा रहेको इन्टरपोल शाखाको राडारमा आएका थिएनन्। ग्रिस पुगेका उनी इन्टरपोलको राडारमा आए र पक्राउ परे। उनी पक्राउ पर्नुको कारण नेपालको आग्रहमा जारी भएको रेडकर्नर नोटिस नै हो। त्यसै आधारमा उनलाई नेपाल ल्याउन सकिन्छ कि भनेर सक्रिय भएका छन्, प्रहरी। 'उनी पक्राउ परेको सूचना आएदेखि नै आवश्यक कागजात अनुवाद गरी उता (ग्रिस) पठाइसकेका छौं,' कार्कीले नागरिकसँग भने, 'हामी अहिले ग्रिस प्रहरीको सकारात्मक प्रतिक्रियाको प्रतीक्षामा छौं।'

नामले झमेला

प्रहरी अधिकारीका अनुसार बेकर २ वर्षअघि भुटानमा फेलापरेका थिए। तर इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गराउन पठाएको अपूर्ण विवरणले उनी सहजै उम्किए। प्रहरी पक्राउ महर्जन र बेकरबारे वेेबसाइटमा रहेको विवरणमै बढी निर्भर रहेको थियो। साइटमा उनको नाम इयान बेकर थियो। भुटानमा निगरानीमा परेका व्यक्तिको पासपोर्ट नाम इयान आर्चबल्ड बेकर थियो।

भुटानले उनको पासपोर्टको विवरणसहित नेपालसँग थप विवरण मागेको थियो। नेपालले इन्टरपोलले सन् २००८ मा रेडकर्नर नोटिस जारी गरेको इयान बेकर र भुटान प्रहरीले नोटिसमा लिएका व्यक्ति इयान आर्चबल्ड बेकर एकै भएको विवरण भुटान सरकारलाई पठाउँदा उनी उम्किसकेका थिए।

नेपाल प्रहरीले २००८ मा जारी गराएको रेडकर्नर नोटिसविरुद्ध बेकरले इन्टरपोल मुख्यालयमा उजुरी दिएका थिए। उनले नेपाल प्रहरीले झुठो विवरणमा आफूविरुद्ध नोटिस जारी गराएको भन्दै मुद्दा हालेपछि केही समय उनको रेडकर्नर नोटिस निस्त्रि्कय भएको थियो। भुटानबाट आएको पासपोर्टको आधारमा प्रहरीले बेकरको पूरा नाम, उनको बाबुको नाम, पासपोर्ट नम्बर र ठेगाना खुलाएर सन् २०१५ मा पुनः रेडर्कनर नोटिसका लागि इन्टरपोललाई आग्रह गरेपछि सो नोटिस जारी भएको थियो। त्यही नोटिसको आधारमा असार ३ मा उनी ग्रिसको पोर्टमा पक्राउ परेपछि दुवै देशका प्रहरी समन्वयमा छन्। कानुनी दस्ताबेजले समेत केही समय अलमल पारेको बेकरलाई नेपाल ल्याउन ग्रिस प्रहरीसँग समन्वय गरिरहेको एक प्रहरी अधिकारीले बताए।

जिल्ला वन कार्यालय, कामाडौंले महर्जनविरुद्ध पाँच वर्ष कैद सुनाए पनि बेकरबारे फैसला गरेको थिएन। नेपालको कानुनले पक्राउ नपरेका अभियुक्त पक्राउ परेका बखत पूरक अनुसन्धान गरेर अभियोगपत्र दर्ता गर्नसक्ने प्रावधान अनुसार वन कार्यालयले बेकरलाई मुख्य अभियुक्त बनाए पनि उनको अभियोग पुष्टिको फैसला गरेको छैन।

प्रहरीले बेकरसँग सम्बन्धित कानुनी कागजपत्र अनुवाद गर्ने, प्रमाणित गर्ने र उनलाई लागेको अभियोग पुष्टिका प्रमाण संकलन गरेर ग्रिसमा पठायो।  एकै अभियोगमा एकजनाको पुष्टिसँगै सजाय तोकिएको र अर्काबारे केही उल्लेख नभएको भन्दै ग्रिसले विश्वसनीय कागजपत्र पठाउन आग्रह गरेपछि प्रहरीले पुनः कानुनी प्रावधान खुलाएर उनीबारे नेपालमा रहेका सबै प्रमाण र कानुनी दस्ताबेज अनुवाद गरेर ग्रिस पठाएको छ।

जिल्ला वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटा वनले नेपाल प्रहरीमार्फत इन्टरपोललाई बेकरसम्बन्धी दस्ताबेज पटक–पटक उपलब्ध गराएको जानकारी दिए। बेकरलाई नेपाल ल्याइने कुरामा आफू ढुक्क भएको बताउँदै उनले 'यो चूनौतीसमेत रहेको बताए। ग्रिसको डोमेक्रेटिकडटजिआरका अनुसार प्लामेनो मिलिकान काउन्सिलको आदेशमा बेकर अहिले हिरासतमुक्त छन्। मुद्दाको टुंगो नलागेसम्म उनले ग्रिस छोड्न सक्दैनन्।

आखेटोपहार भण्डार

डोमेक्रेटिकडटजिआरसँग बेकर प्रहरीले तीनवटा बाघको छाला फेला पारेको तर त्यो घरधनीको भएको दाबी गरेका छन्। तर जिल्ला वन कार्यालय, काठमाडौंमा रहेको बेकरको मिसिलमा उनको डेराबाट बरामद सामगी्रको संख्या सय बढी छ। उनको टेबलकुर्सी, सोफा, बगैंचा, भान्सा र बेडरुम दुर्लभ वन्यजन्तुका अंग र सयौं वर्ष पुराना पुरातात्विक सामग्रीले भरिएका थिए। डाइनिङ टेबलमा बाघको छाला थियो। ओछ्यानमा चितुवाको छालाले बनेको सिरानी थियो।

सोफामा चितुवाको छालाको चकटी, बैठक कोठामा सिङ नंग्रा, हड्डी र  खप्पर थिए। उनको लुगाफाटो वन्यजन्तुकै अंगबाट बनेका थिए। ओभरकोट, ज्याकेट, टोपी, कम्मरपेटी, ब्ल्यांकेट, बाकसको कभर, दाप बाघ वा चितुवाको छालाले बेरिएको थियो। उनको नक्साल र बालुवाटारमा रहेको डेराबाट सय वर्ष पुराना टुँडाल, भैरव र विष्णुको मूर्ति, दराज, तोरण, खलु, ‰याल, गजुर, कारने, लामोखलुलगायत पुराताŒिवक सामगी्र फेला परेका थिए।

उनले ती सामग्री घरधनी महर्जनको भएको दाबी गरेका छन्। तर महर्जनको बयानमा ती सबै सामग्री बेकरको भएको उल्लेख छ। २०६५ जेठ ३१ गते  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १८ अनुसारको कसुर भएकाले हदैसम्मको (१५ वर्ष कैद र एक लाख रुपैया जरिवाना) माग दाबीमा टेक्दै काठमाडांै जिल्लाका तत्कालीन वन अधिकृत ब्रजकिशोर यादवले महर्जनलाई पुर्पक्षमा राख्न र बेकरलाई इन्टरपोलमार्फत पक्राउ गर्न आदेश दिएका थिए।

वन कार्यालय, काठमाडांैका तत्कालीन जिल्ला वन अधिकृत यादवले ०६६ पुस २९ मा  बेकरले महर्जनको घर भाडामा लिएर वन्यजन्तु र पुराताŒिवक वस्तुको व्यापार गरेको फैसला सुनाएका थिए।  महर्जनको हकमा ५ वर्ष सजाय तोकिएको थियो। सोही अनुसार महर्जनले सजाय भोगिसकेका छन्।

प्रकाशित: १२ श्रावण २०७४ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App