१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरियामा आत्महत्या : डिप्रेसन प्रमुख कारण

काठमाडौं- पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गइरहेको छ। आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्म अनुमान गर्न थालिएको छ। कोरियाको विकास र आर्थिक उन्नतिलाई सरसर्ती हेर्दा त्यहाँको रोजगारीप्रति गुनासो गर्ने अवस्था नदेखिए पनि युवकयुवतीले धमाधम आत्महत्या गर्न थालेपछि त्यसको कारण खोजिनुपर्ने आबाज उठेको छ।

वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाका अनुसार सन् २०१७ को आठ महिनामा कोरियामा १७ नेपालीको मृत्यु हुँदा चारजनाले आत्महत्या गरेका छन्।

चर्को प्रतिस्पर्धा र कोरियन भाषा सिकेर त्यहाँ पुगेका युवाले किन आत्महत्याको बाटो रोज्छन्  त? इपिएस शाखा प्रमुख बाबुराम खतिवडा भन्छन्, 'कामदारलाई कोरिया लैजाने छनोट प्रक्रिया नै गलत छ।' उनका अनुसार थ्री डी (डर्टी, डेन्जरस र डिफिक्ल्टी) काम गर्न लैजाने कामदार छनोट प्रक्रिया अध्ययन, अनुसन्धान गर्न लैजानेसरहको हुँदा समस्या बढिरहेको हो। 'घरमा रहँदा खेतबारीमा पाइला नटेकेका युवा भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जान्छन्,' खतिवडाले भने, 'कोरिया गएर थ्री डीको काम गर्नुपर्दा कयौं युवाले डिप्रेसन भएर आत्महत्यासम्मको बाटो रोज्न पुग्छन्।'

शाखाका अनुसार कोरियामा सन् २०१६ मा ११ जना नेपालीको मृत्यु हुँदा तीनजनाले आत्महत्या गरेका थिए। कोरियामा आत्महत्या गर्ने क्रम नरोकिएपछि रोकथामका उपाय सुरु गर्न पीडितले पटकपटक आबाज उठाउँदै आए पनि अहिलेसम्म ठोस योजना बन्न सकेको छैन।

श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली रोजगारीका लागि कोरिया पुगेका कामदारले आत्महत्या गर्ने क्रम नरोकिएपछि नेपाल र कोरिया सरकार गम्भीर हुनुपर्ने बेला आएको बताउँछन्। 'आफू र परिवारको सुन्दर भविष्यको सपना बुन्दै कोरिया पुगेका व्यक्तिले किन आत्महत्या गरिरहेका छन् भन्नेबारे अध्ययन गर्न मन्त्रालयले विशेषज्ञ चिकित्सक टोली कोरिया पठाउने हो कि भन्ने सोच बनाइरहेको छ,' मैनालीले भने, 'काम गर्न गएका व्यक्तिको आत्महत्या वृद्धि दर देख्दा ठोस योजना बनाउनैपर्ने भएको छ।'

शाखाका अनुसार सन् २००७ यता कोरियामा एक सय ३० नेपालीको मृत्यु भएको छ। जसमध्ये ३६ जनाले आत्महत्या गरेका हुन्। आत्महत्या गर्नेमा अधिकांश २२ देखि २८ वर्ष उमेरका युवा छन्। रोजगार अनुमति प्रणाली (इपिएस) सुरु भएयता (सन् २००७) कोरियामा ज्यान गुमाउने र आत्महत्या गर्ने नेपालीको विवरण राख्न थालिएको हो। इपिएस सुरु भएदेखि गत साउन १८ गतेसम्म कोरियामा ४८ हजार चार सय ८८ नेपाली कामका लागि पुगेका छन्।

कामदारमैत्री श्रम ऐन तथा आर्थिक अवस्था राम्रो रहेकाले हाल कोरियामा प्रतिव्यक्ति मासिक न्यूनतम पारिश्रमिक एक लाख ४२ हजार रुपैयाँ रहेको खतिवडाले जानकारी दिए। ओभरटाइम र कम्पनीले बेलाबेलामा दिइरहने बोनसका कारण अधिक कामदारले महिनामा दुई लाख रुपैयाँ हाराहारीमा कमाइ गर्ने कोरियाबाट फर्केका नेपाली बताउँछन्।

विज्ञहरू भने कोरियामा आत्महत्याका घटना वृद्धि हुनुको कारण कोरिया जानुअघि त्यहाँको यथार्थ विवरण कामदारलाई नदिइनुलाई ठान्छन्। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा श्रमविज्ञ गणेश गुरुङ कोरिया के हो र त्यहाँ गर्नुपर्ने कामबारे यथार्थ जानकारी दिनसक्ने हो भने स्वदेशमा रहँदा काम नगरेका व्यक्तिले कोरिया जाने इच्छा त्याग्न सक्छन्। 'यतिखेर सबैले कोरियालाई विकसित देश भन्दै राम्रो पारिश्रमिक मात्र पाइन्छ भनेर प्रचार गरेका छन्,' उनले भने, 'कोरियामा गाउँ पनि छन्। त्यहाँ गर्नुपर्ने काम निकै जटिल छ भनेर कोरिया जानुअघि नै सिकाउने हो भने आत्महत्याका घटनामा कमी आउन सक्छ।'

चार वर्ष कोरियास्थित नेपाली राजदूतावासमा श्रम सहचारीको रूपमा काम गरी हालै सेवानिवृत्त भएका अनिल गुरुङका अनुसार कोरियामा नेपालीले आत्महत्या गर्नुका कारणमा मालिकको व्यवहार, फरक संस्कृति तथा घरपरिवारले उनीहरूबाट धेरै रकम अपेक्षा गर्नु पनि हुन्। 'कोरिया फिल्ममा हेरेको जस्तो छैन,' उनले भने, 'तर, नेपालमा रहँदा भने कोरियालाई फिल्मको आँखाले मात्र हेरिन्छ।' उनी काम गर्न सक्नेका लागि कोरिया निकै राम्रो भए पनि काम नगरी केबल कुरा मात्र गर्नेका लागि उपयुक्त छैन भन्ने बुझाउनु आवश्यक रहेको बताउँछन्।

मानसिक रोग विशेषज्ञ रवि शाक्य आत्महत्याको प्रमुख कारण डिप्रेसन रहेको बताउँछन्। कोरियाको मानव संशाधन विभागका नेपाल निर्देशक किम कि बुकले नेपालीले किन कोरियामा आत्महत्या गर्छन् भन्नेबारे अनुसन्धान थालिएको जानकारी दिए।

सजिलो छैन कोरिया जान

रोजगारीका लागि कोरिया पुगेका व्यक्तिले आत्महत्या गर्ने क्रम बढे पनि कोरिया जान भने त्यति सहज छैन। कोरिया जान सबैभन्दा पहिला कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। कोरियाको मानव संशाधन विभागले बर्सेनि तय गर्ने कोटामा पर्न भाषा परीक्षा उत्तीर्ण गरेर मात्र पुग्दैन। चर्को प्रतिस्पर्धाबाट तय गरिएको कोटाभित्र पर्न पनि सक्नुपर्छ।

परीक्षामा सहभागी हुनुअघि कोरियन भाषा सिक्न प्रायः युवाले कम्तीमा ६ महिना बढी समय खर्चेका हुन्छन्। सन् २०१८ मा उड्न पाउनेगरी गत जेठ २७ र २८  गते भएको भाषा परीक्षामा ७५ हजार पाँच सय ८० जना सहभागी भए। कोरियाको मानव संशाधन विभागले तोकेको १० हजार पाँच सय कोटाका लागि केही दिनअघि प्रकाशन गरिएको नतिजामा  १२ हजार एक सय आठजना उत्तीर्ण भएका छन्। उत्तीर्णको स्वास्थ्य परीक्षण सकिएपछि रोजगारी आवेदन फारम कोरिया पठाइने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए। भाषा परीक्षा उत्तीर्ण गरी स्वास्थ्य परीक्षणमा सफल भएकालाई कोरियन रोजगारदाताले कामको अफर गरेपछि मात्र जान पाइने भण्डारीले बताए। 'त्यसैले हामीले भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको ग्यारेन्टी होइन भन्दै आएका छौं,' उनले भने, 'कोरियन रोजगारदाताले काम नदिएसम्म कोरिया जान पाइन्छ भनेर विश्वास गर्नु हुँदैन।' अघिल्लो वर्ष कोरियाले तीन हजार एक  सय कोटा निर्धारण गर्दा ६१ हजार पाँच सय युवाले भाषा परीक्षामा प्रतिस्पर्धा गरेका थिए।

कोरियाबाहेक अन्य गन्तव्य मुलुकमा पनि नेपाली कामदार सुरक्षित हुन सकेका छैनन्। दुई वर्षअघिको तुलनामा आर्थिक वर्ष २०७३/७४ मा विदेशमा मृत्यु हुने कामदारको संख्या केही घटे पनि वैदेशिक रोजगारीमा कामदार सुरक्षित हुन नसकेको विज्ञको भनाइ छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०७३/७४ मा श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएका ६ सय ८७ को निधन भयो। आर्थिक वर्ष २०७२/७३ मा विदेशमा मृत्यु हुनेको संख्या ८ सय १५ थियो भने त्यसभन्दा अघिल्लो वर्ष एक हजार छ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका थिए। बोर्डका अनुसार आर्थिक वर्ष २०७३/७४ मा विभिन्न मुलुकमा ७८ जनाले आत्महत्या गरेका छन्। जसमा महिलाको संख्या चार छ।

प्रकाशित: १० भाद्र २०७४ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App