१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

उत्कृष्ट हुन महिला खेलाडीको प्रतिस्पर्धा

काठमाडौं- लामो दूरीकी धाविका कान्छीमाया कोजु २०७३ सालमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा अन्य प्रतिस्पर्धीसँगै पल्सर स्पोर्ट्स अवार्डका लागि महिला वर्ष खेलाडीको हकदार भएकी छिन् । सशस्त्र प्रहरी बल एपीएफकी धाविका कोजुसँगै ब्याडमिन्टनकी अन्तर्राष्ट्रिय पदकधारी नङ्सल तामाङ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र  त्रिभुवन आर्मी क्लबकी धाविका सरस्वती भट्टराई पनि महिला वर्ष खेलाडीका लागि दाबेदार हुन् ।

कान्छीमाया पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डमा समेत मनोनयनमा परेकी छिन् । गत वर्ष हाफ म्याराथनमा ५ उपाधि जितेकी उनले राष्ट्रिय रेकर्डसहित म्याराथन र हाफ म्याराथनका उपाधि जितेकी छिन्  । कान्छीमायाले गत वर्ष काठमाडौं म्याराथनमा २ घण्टा ५५ मिनेट ५७ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । त्यस्तै उनले पिंकाथन हाफ म्याराथन पनि १ घण्टा १८ मिनेट २५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्यसबाहेक कान्छीमायाले धनगढी, नेपालगन्ज, भारतको दार्जिलिङ र कान्तिपुर हाफ म्याराथनको उपाधिसमेत हासिल गरेकी थिइन् । उनले पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् भने ४ गुणा ४ सय मिटर रिलेमा रजत पदक हात पारेकी थिइन् । त्यस्तै न्यु ताइपेइ सिटी म्याराथनमा ११औं स्थानमा रहँदा उनी आफ्नो उमेरसमूहमा विजेता बनेकी थिइन् ।

त्रिभुवन आर्मी क्लबकी आर्चरी खेलाडी ज्ञानु बंगलादेशको ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा नेपाली महिला टोलीले रजत जित्दा टिमकी मुख्य खेलाडी थिइन् । उनले नेपालका लागि सर्वाधिक ५ सय ६४ स्कोर गरेकी थिइन् । ज्ञानुले सातौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमानसहित रिकर्भ ७० मिटरमा स्वर्ण पदक जितेकी थिइन् । उनले ३ सय ३ अंक जोडेकी थिइन् ।

नङ्सल तामाङले भाइ रत्नजितस“गै मिक्स डबल्समा नेपाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पहिलो स्वर्ण दिलाएकी थिइन् । गत वर्ष सम्पन्न पाकिस्तान अन्तर्राष्ट्रिय सिरिजमा तामाङ दिदीभाइले स्वर्ण पदक जितेका थिए । नङ्सलले घरेलु प्रतियोगितामा सिंगल्स, डबल्स र मिक्स डबल्समा गरी गत वर्ष सात उपाधि जितेकी थिइन् । उनी गत वर्ष सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा सबैभन्दा सफल भएकी भइन्, जहाँ उनले सिंगल्स, डबल्स र टिम इभेन्ट्समा स्वर्ण हात पारेकी थिइन् ।

सावित्रा भण्डारी राष्ट्रिय महिला फुटबल टिमकी प्रतिभाशाली खेलाडी हुन् । उनी एक वर्षमा १३ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएकी थिइन् । तीमध्ये १२ गोल भारतमा सम्पन्न चौथो साफ महिला च्याम्पियनसिपमा गरेकी थिइन् । भुटानविरुद्ध ६ गोल गरेकी उनी एकै खेलमा ‘डबल ह्याट्रिक’ गर्ने पहिलोे नेपाली फुटबलर हुन् । प्रधानसेनापति कपमा १३ गोल गरेकी उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । उनको उत्कृष्ट प्रदर्शनमा एपीएफले प्रधान सेनापति कपको उपाधि जितेको थियो । सावित्राले राष्ट्रिय महिला लिगमा पनि सर्वाधिक १६ गोल गरेकी थिइन् ।

सरस्वती भट्टराई महिला एथलेटिक्सकी स्टार खेलाडी हुन् । सरस्वती रियो ओलम्पिकमा नेपाली प्रतिनिधिमध्ये सबैभन्दा सफल खेलाडी बनेकी थिइन् । उनले १५ सय मिटरमा २६ वर्ष पुरानो राजकुमारी पाण्डेको राष्ट्रिय रेकर्ड तोडेकी थिइन् । उनले राष्ट्रिय रेकर्ड तोड्ने क्रममा निर्धारित दूरी ४ मिनेट ३३ दशमलव ९४ सेकेन्डमा पूरा गरेकी थिइन् । सरस्वतीले सातौं राष्ट्रिय खेलकुदमा १५ सय मिटर, ८ सय मिटर र ४ गुणा ४ सय मिटर रिलेमा गरी ३ स्वर्ण पदक जितेकी थिइन् ।

प्रकाशित: २२ भाद्र २०७४ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App