१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

फिटनेस राेज्ने फिमेल

सुष्मा बराली 

सबै व्यस्त थिए, कोही सेटअप गरिरहेका, कोही पुसअप । छेउमा बज्दै थियो, मधुर संगीत, त्यसैको तालमा नाच्न मस्त थिए, एक जमात महिला । संगीतको तालमा कम्मर मर्काउँदा उनीहरू असिनपसिन भएका थिए । गत बुधबार दिउँसो देखिएको यो दृश्य हो, कुमारीपाटी फिटनेस सेन्टरको । कुमारीपाटीस्थित यो फिटनेस सेन्टरमा बुधबार मात्र होइन, हरेक दिन देखिन्छ, यस्तै दृश्य । जहाँ आउँछन्, व्यायाम गर्न सहरका युवती ।

मिसेस नेवा– २०७४ विजेता रेजिना शाक्य हरेक साँझ फिटनेस सेन्टर पुग्छिन् । उनी मिसेस नेवा बन्नुअघि फिटनेस क्लब जाने गर्थिन् । व्यायामले मिसेस नेवा बन्न सहयोग पुगेको उनी बताउँछिन् ।
‘केही अघिसम्म धेरैको सोच हुन्थ्यो, जिम भन्नेबित्तिकै पुरुष मात्र जाने हो । तर, हिजोआज स्वस्थ शरीरका निम्ति व्यायाम आवश्यक छ भन्ने बुझ्न थालेका छन्,’ उनी भन्छिन्, ‘सुरुसुरुमा फिटनेस सेन्टर जाँदा पुरुषको संख्या धेरै थियो, तर अहिले महिलाको संख्या पनि बढेको छ । स्वस्थ शरीर र तनावरहित जीवन जिउन कसलाई पो मन लाग्दैन र ?’ 


पहिले जिम जाने पुरुष मात्रै भन्ने बुझाइ थियो । कुनै महिलाले फिटनेस सेन्टर जान्छु भन्दा पनि नराम्रो नजरले हेरिन्थ्यो । हलमा पनि पुरुष नै बढी हुने भएकाले महिलालाई जिस्काउँथे । अहिले त्यस्तो अवस्था छैन । शारीरिक व्यायामको ट्रेन र स्वस्थ हुनुपर्छ भन्ने सोचको विकासले यो परिवर्तन आएको हो ।

सञ्चालक इन्द्रबहादुर श्रेष्ठ जिम हलमा प्रशिक्षक भएर काम गर्न थालेको झन्डै १० वर्ष भयो । पहिलेको तुलनामा अहिले जिमप्रति महिला आकर्षण बढेको उनी बताउँछन् । 

‘पहिले जिम जाने पुरुष मात्रै भन्ने बुझाइ थियो । कुनै महिलाले फिटनेस सेन्टर जान्छु भन्दा पनि नराम्रो नजरले हेरिन्थ्यो,’ उनी भन्छन्, ‘हलमा पनि पुरुष नै बढी हुने भएकाले महिलालाई जिस्काउँथे । अहिले त्यस्तो अवस्था छैन । शारीरिक व्यायामको ट्रेन र स्वस्थ हुनुपर्छ भन्ने सोचको विकासले यो परिवर्तन आएको हो ।’ 
अहिले महिला प्रशिक्षक पनि बढेको र सहर–बजारका महिलाले इन्टरनेट, सञ्चारमाध्यममार्फत जिमको महŒव बुझेकाले पनि यसतर्फ महिला आकर्षण बढेको उनी बताउँछन् ।

इमाडोलकी मुना श्रेष्ठका लागि जिम दैनिकी नै बनेको छ । उनी दिउँसोको अफिस सकेर हतार–हतार जिम सेन्टर पुग्छिन् । कुमारीपाटीस्थित यमरी आइटी कम्पनीमा काम गर्ने उनले आफ्नो शरीरको स्टामिना र तौल बढाउन जिम आउने गरेको बताइन् । ‘मलाई टे«किङ मनपर्छ, तर अफिसको कामले फुर्सद नै हुँदैन । स्कुटरमा हिँड्ने बानीले गर्दा अल्छी भएकी छु । दैनिक यहाँ आएर व्यायाम गर्छु,’ उनले भनिन् ।

नुमु श्रेष्ठ, अक्सफोर्ड जिम सेन्टरमा फिटनेस प्रशिक्षक छन् । नुमु पनि पछिल्लो समय जिमप्रति महिला आकर्षण बढेको बताउँछिन् । ‘पहिले धेरैजसो महिला घरको काममा व्यस्त हुने भएकाले पनि नियमित जिम आउँदैन पाउँदैनथे । अहिले स्वस्थ शरीरको महŒव बुझेर समय मिलाएर आउने गर्छन् ।’ 

प्रायः मोटोपनको समस्या भएका महिला जिम आउने गरेको उनी बताउँछिन् । ‘केही महिला भने शरीरको तौल, स्टामिना बढाउन, स्वस्थ र स्फूर्तिका लागि जिम आउने गर्छन्,’ उनले भनिन् । 

सातदोबाटोकी निलुफर सिंह ठकुरी फिटनेस सेन्टर धाउन थालेको चार वर्ष भयो । सुरुमा तौल घटाउन उनी नक्सालस्थित रेज फिटनेस सेन्टर पुगेकी थिइन्, अहिले उनी यसैमा प्रशिक्षक छन् ।
उनी राष्ट्रिय स्कुयट प्रतियोगिता– २०१६ की विजेता समेत हुन् । जेस्मिन फिटनेस सेन्टरले महिला दिवसमा गरेको प्रतियोगितामा उनले उपाधि जितेकी थिइन् ।सहर–बजारका महिला स्वस्थ र सुन्दर रहन व्यायाम गर्नैपर्ने उनी बताउँछिन्।

‘यातायातको पहुँच बढेकाले मानिसहरुको हिँड्ने बानी घटेको छ । यसले मोटोपन बढ्ने लगायत समस्या हुन्छ,’ उनी भन्छिन्, ‘खासगरी शारीरिक परिश्रमभन्दा पनि मानसिक परिश्रम गर्नेहरुले व्यायाम गर्न जरुरी छ ।’ निलुफरले भनेजस्तै स्वस्थ र सुन्दर रहन सहर–बजारका कामकाजी महिला फिटनेस क्लब धाउन थालेका छन् । 
हात्तीवनकी सुवर्ण जोशी फुर्सद हुनेबित्तिकै फिटनेस सेन्टर कुदिहाल्छिन् । पेसाले व्यवसायी उनी हरेक साँझजसो कुमारीपाटी फिटनेस सेन्टर पुग्छिन् । 

‘फिटनेस सेन्टरमा आएर व्यायाम गर्न लागेको पाँच वर्षजति भयो । मलाई जुम्बा गर्न मनपर्छ । शरीरको तौल घटाउन मात्रै नभएर हाम्रो शरीरलाई स्वस्थ र स्फूर्त राख्न व्यायाम जरुरी हुन्छ । त्यसकारण म दैनिक जिम जाने गर्छु,’ उनले भनिन् ।
विशालनगरकी चाँदनी राई विद्यार्थी हुन् । स्वस्थ र सुगठित शरीरका लागि फिटनेस क्लब आउने गरेको उनी बताउँछिन्। नक्सालस्थित रेज फिटनेस सेन्टरमा भेटिएकी उनले भनिन्, ‘खासमा तौल घटाउन म क्लब आएकी हुँ । स्वस्थ र सुन्दर रहन कसैलाई मन हुँदैन ?’ 

प्रकाशित: २ आश्विन २०७४ ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App