१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भेरी–बबईमा नोभेम्बरदेखि टिबिएमबाट सुरुङ

काठमाडौं – लामो प्रतीक्षापछि आइपुगेको अत्याधुनिक टनेल बोरिङ मेसिन (टिबिएम) ले आउँदो नोभेम्बरदेखि सुरुङ खन्न थाल्ने छ। चीन र अमेरिकामा तयार गरिएको टिबिएम भेरी बबई डाइभर्सन आयोजनाको कार्यस्थलमा ल्याएर जडान गर्न थालिएको छ। 

‘केही समय टिबिएम जडानमा लाग्ने भएकाले नोभेम्बर १५ देखि सुरुङ खन्ने तयारी गरिरहेका छौं,’ आयोजना प्रमुख शिवकुमार बस्नेतले भने, ‘अहिलेसम्म कार्ययोजना अनुसार काम भइरहेको छ ।’ नेपालमा पहिलोपटक सुरुङ खन्न अत्याधुनिक टिबिएम ल्याएर जडान थालिएको हो । राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजना भेरी बबई डाइभर्सनमा सुरुङ खन्न टिबिएम सफल भए नेपालमा ‘विकास क्रान्ति’ हुने अधिकारीहरूको भनाइ छ। 

अढाइ महिनाअघि चीनबाट हिँडाइएको टिबिएमका उपकरण भारत हुँदै नेपाल ल्याइएको सिँचाइ मन्त्रालयका सहसचिव सागरकुमार राईले बताए । टिबिएमका महŒवपूर्ण पाटपूर्जा चीन र अमेरिकामा तयार गरिएका हुन् । जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट हिँडाइएको उपकरण कोलकाता बन्दरगाह हुँदै ४७ कन्टेनरमा राखेर भेरी बबई डाइभर्सनको जडानस्थलमा पुर्‍याइएको थियो। 

मन्त्रालयले भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ खन्न प्रयोग हुने उक्त मेसिन तयार गर्न नौ महिनाअघि चीनको क्युबेक ओभरसिजलाई जिम्मा दिएको थियो । आयोजनाको निर्माण ठेक्का चाइना ओभरसिज ग्रुप कम्पनीले लिएको छ । 
ढुवानी खर्चसहित करिब डेढ अर्ब रुपैयाँ लागतको टिबिएम भेरी बबई डाइभर्सन आयोजनामा पुर्‍याइएको हो । मन्त्रालयका प्रवक्तासमेत रहेका राईले रेलको डिब्बा आकारमा रहेको टिबिएम जडान हुनेबित्तिकै सुरुङ खन्ने काम तीव्र पारिने बताए । टिबिएम जडानपछि चालु आर्थिक वर्ष उक्त आयोजनमा साढे चार अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य छ । अपुग बजेट अर्थ मन्त्रालयसँग माग गरिने तयारी छ । आयोजना प्रमुख बस्नेतले टिबिएमबाट चालु आर्थिक वर्षमा पाँच किलोमिटर सुरुङ खन्ने बताए । ‘जति काम हुन्छ, त्यति नै बजेट निकासा गर्नेबारे अर्थ मन्त्रालयसँग कुराकानी भइरहेको छ,’ उनले भने । 

भेरी नदीको ४० क्युमेक पानी बबईमा मिसाएर बाँके, बर्दियाका ८० हजार बिघा (५१ हजार हेक्टर जमिन) मा सिँचाइ सुविधा पुर्‍याउने तथा ४८ मेगावाट विद्युत् निकाल्ने लक्ष्य छ । आर्थिक वर्ष ०६८÷६९ मा निर्माण थालिएको भेरी बबई डाइभर्सनको सुरुङ खन्न गाह्रो भएपछि टिबिएमको खोजी गरिएको हो। 

राईका अनुसार नेपालमा अहिलेसम्म टिबिएम उपकरण प्रयोग गरेर कुनै पनि आयोजना निर्माण गरिएका छैनन् । विश्वका विभिन्न देशमा ठुल्ठूला विकास निर्माणका आयोजनामा टिबिएम प्रयोग गरिँदै आइएको छ । भेरी नदीको पानी बबईमा मिसाउन १२ किलोमिटर सुरुङ खन्नु पर्नेछ । उक्त आयोजनाका लागि सुरुङ खन्नु नै सर्वाधिक कठिन मानिएको छ। नेपालको अहिलेकै तरिकालेसुरुङ खन्दा वर्षौं लाग्ने भएकाले अत्याधुनिक टिबिएम आवश्यक ठानिएको हो । ‘एकातिर अहिलेकै तरिकाले १२ किलोमिटर सुरुङ खन्दा वर्षौं लाग्ने र अर्कोतिर अत्याधुनिक उपकरणको उपयोग गर्नुपर्छ भन्ने सोच अनुसार टिबिएम ल्याइएको हो,’ राईले भने, ‘टिबिएम सफल भयो भने नेपालको विकासको गति एकदमै छिटो हुन्छ ।’ 
विद्युत् उत्पादन र सिँचाइ सुविधा उपलब्ध गराउने उक्त आयोजना नेपालमै नमुना हुने धेरैको अपेक्षा छ । तराईको ८० हजार बिघा जमिनमा किसानलाई चाहिएको बेला पानी उपलब्ध गराउने आयोजना नेपालका लागि नमुना हुने ठानिएको हो । टिबिएम सफल भए तोकेकै अवधिमा आयोजनाको लक्षित काम सकिने बताइएको छ । मन्त्रालयले आर्थिक वर्ष ०७७÷७८ मा उक्त आयोजना सक्ने लक्ष्य लिएको  छ। 

करिब १२ अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा हालसम्म एक अर्ब २५ करोड रुपैयाँ जति खर्च भइसकेको छ । भेरी बबई डाइभर्सनमा १२ किलोमिटर सुरुङ खन्न मात्र करिब साढे १० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । उक्त आयोजनाका लागि सुरुङ खन्नु नै सर्वाधिक जटिल र महँगो मानिएको छ। 

टिबिएम सफल भए त्यसले दुई वर्षभित्र सुरुङ खनिसक्ने आयोजनाका अधिकारीले अपेक्षा गरेका छन् । सुरुङभित्र राखिने सिमेन्टेड ह्युम पाइप पनि तयारी अवस्थामा छ । टिबिएमले काम गर्ने या नगर्ने भन्नेबारे सुर्खेतको भौगोलिक वनावटले निक्र्योल गर्ने बताइएको छ । आयोजनामा खटिएका प्राविधिकका अनुसार कडा चट्टान भएको भूगोल हेर्दा टिबिएम सुरुङ खन्न उपयोगी हुने देखिन्छ। 

प्रकाशित: ४ आश्विन २०७४ ०५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App