१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

दुर्गापाठ त गर्थें, प्रसाद चाख्न पाउँदिनथेँ

शान्ति प्रियवन्दना

‘कान्छा, कहिले भ्याउँछस् हँ तोरी पेल्न जान ? अलि छिट्टै जा गरियो (तेल राख्ने काठको ठेको) को पिँध देखिन थालिसक्यो । दसैँसम्मलाई पुग्ने हो कि होइन ?’ मेरी हजुरआमा मेरो बुबालाई निर्देशन दिनुहुन्थ्यो ।
आज्ञाकारी बालकजस्तै मेरो बुबा दसैँका लागि गर्नुपर्ने कामको सूची र ती काम कुन दिन परिवारको कुन सदस्यले जिम्मा लिएर पूरा गर्ने भनी मेरी हजुरआमालाई बताउनुहुन्थ्यो ।
दसैँको छेउछाउतिरै तोरी पेल्ने, चामल, चिउरा कुट्ने र जंगलबाट बाबियो काटेर ल्याउने काम लगभग एकैपटक पथ्र्यो । त्यतिबेला आफ्नै बारीमा वर्षभरिलाई खान पुग्ने तोरी उब्जिन्थ्यो, तेल पेल्न भने भीमफेदी जानुपथ्र्यो । गाउँमा आधुनिक मिल थिएन । आफ्नो खेतीबाट उब्जनी भएको धान सबै ढिँकीमै कुटिन्थ्यो । धान कुट्ने काम आमा, फुपू र हजुरआमाको भागमा पथ्र्यो । जंगलबाट बाबियो काटेर ल्याउने, तोरी पेल्न भीमफेदी जाने जिम्मा बुवाको हुन्थ्यो । हजुरबाको भागमा भने दसैँको किनमेल र अन्य चाँजोपाँजो मिलाउने हुन्थ्यो । बुबाले जंगलबाट काटेर ल्याउनुभएको बाबियोलाई हजुरबाले कपालको चुल्ठोजस्तै बनाएर सुकाउनका लागि तयार पार्नुहुन्थ्यो । हामी केटाकेटी रमाउँदै परालको कुन्यु, आँगनको डिल र बारीको कान्लामा त्यसलाई सुकाउँथ्यौँ ।

दशमीको दिन मेरो सजाय भुक्तान हुने दिन अथवा अबका एक वर्षसम्म दुर्गापाठ गर्नुनपर्ने हुँदा मन फुरुंग हुन्थ्यो । टीकाटालो सकाएर हातमा दक्षिणा परेपछि खुसी भएको मन पूजाको प्रसाद खानेबेला खिन्न हुन्थ्यो । मन नलागी–नलागी म दुर्गापाठ गर्थें तर मलाई नै दुर्गालाई चढाएको प्रसाद खानबाट वञ्चित गरिन्थ्यो । मलाई मात्र होइन, मेरो माइतीघरमा आज पनि दुर्गालाई चढाएको प्रसाद कुनै पनि स्वास्नी मान्छेलाई खान दिइँदैन ।

हामी पाँच दिदीभाइ । फुपूको छोरा भाइ पनि हाम्रै घरमा हुर्किएको हो । दसैँमा हरेक वर्ष हामी केटाकेटीलाई मात्र नभएर बुबा, आमा र हजुरआमालाई पनि हजुरबाले नयाँ लुगा किनिदिनुहुन्थ्यो । कुनै वर्ष त हामीले दसैँका लुगा भनेर स्कुलको ड्रेस समेत पाउँथ्यौँ । दसैँ बिदा हुने अन्तिम दिन स्कुलमा सरहरू नयाँ लुगा सिलाउँदा स्कुलको ड्रेस हाल्नु भनेर उर्दी नै जारी गर्थे । ड्रेस पुरानो भइसकेको वर्ष हामीले पनि स्कुलको ड्रेस नै पाउने पक्का थियो । रंगीचंगी अन्य लुगा नपाएको वर्ष दसैँ खल्लो लाग्थ्यो तर चुपचाप बसिन्थ्यो । हजुरबाले आफ्ना लागि भने कुनै–कुनै वर्ष मात्र लुगा किन्नुहुन्थ्यो । प्रायः वर्ष उहाँको भागमा हात्तीछाप चप्पल र ढाका टोपी पथ्र्यो । चप्पल किनेपछि उहाँको एउटै गुनासो हुन्थ्यो– टिक्दैन, फाटिहाल्छ । तर, त्यो समय रेडियो नेपालमा एउटा विज्ञापन खुब चर्चित थियो– हात्ती बलियो कि हात्तीछाप चप्पल ? उस्तै–उस्तै हो नानी । हामी पनि यही भन्दै, उफ्रँदै अभिनय समेत गथ्र्यौं । हजुरबाको हात्ती छाप चप्पल हामी भुराका लागि अत्यन्त प्रिय थियो । उहाँ कतै गएर घर फर्कंदै गर्दा हामी केटाकेटी कुनै बदमासी गरिरहेका हुन्थ्यौँ, या खेलिरहेका हुन्थ्यौँ भने पनि हतपत छोडेर किताब च्याप्न भ्याउँथ्यौँ । हात्तीछाप चप्पलको पटपट आवाज परैबाट सुनिन्थ्यो । त्यही आवाजले हामीलाई गाली र कुटाई खानबाट हमेसा बचाउँथ्यो ।
त्यतिबेला हाम्रो घर र नजिकै अर्को एकजना छिमेकीको घरमा बाहेक अन्यत्र गाउँभरि ढिँकी थिएन । अहिले आएर त त्यो पनि बिलायो । जाँतो भने धेरैजसोको घरमा थियो । आजकाल ढिँकीजाँतोबाट कुटानी–पिसानी हरायो । घरको शोभाका लागि भए पनि गाउँघरमा अझै जाँतोसम्म राख्ने गरेको देखिन्छ  । त्यतिबेला धान कुट्न मात्र होइन, दसैँमा मसला र तिहारमा चामल पिन्न गाउँभरिका मान्छे प्रायः हाम्रैमा जम्मा हुन्थे । कहिलेकाहीँ त हामीले घान हाल्न तयारी गर्दागर्दै अर्कैले ओखल भरिसकेको हुन्थ्यो । आफ्नो घरमा ढिँकीजाँतो भएर पनि आफैँपछि पर्नुपर्दा हजुरआमा फतफताएको सुन्थ्यौँ हामी । दसैँमा त खासै फरक पर्दैनथ्यो, तिहारमा भने छिमेकीको धुरीबाट धुवाँ सँगै सेलरोटी र अनरसाको बास्ना निस्किसक्दा पनि हाम्रोमा ढिँकी कराइरहेको हुन्थ्यो ।
आजभोलि केटाकेटीमा दसैँ भित्रिँदाको खुसी त्यति साह्रो देखिँदैन । त्यतिबेला दसैँ आउँदा हामी असाध्यै खुसी हुन्थ्यौँ । मीठो खान, नयाँ लुगा लगाउन, पिङ खेल्न, मामाघर जान मात्र कहाँ हो र ? हातमा दुई–चार पैसा पर्न दसैँ नै कुर्नुपथ्र्यो । परिवारका सम्पूर्ण सदस्यलाई व्यस्त दिनचर्या छाडेर अलिकति भए पनि फुर्सदिलो हुन र रमाइलो गर्न चाडबाडबाहेक अरु मौका पनि जुर्दैनथ्यो ।
आजकल म दसैँमा खासै रम्न सक्दिनँ । सानो छँदा जब दसैँ भिœयाउने तर्खर गरिन्थ्यो, असाध्यै रमाइलो लाग्थ्यो । नौरथा सुरु भएदेखि दशमीसम्म दिनहरू काट्न भने मलाई असाध्यै मुस्किल पथ्र्यो । ती दिनमा म कुनै ठूलो सजाय भोगिरहेको महसुुस गर्थें । कक्षा ३ मा पढ्दै गर्दा हो, पहिलोपटक मलाई हजुरबाले जमरा राखेको ठाउँमा दुर्गापाठ गर्न लगाउनुभएको । हजुरबाको आदेश हाम्रा लागि महावाणीजत्तिकै हुन्थ्यो । गर्नै नसक्ने काम पनि गर्न सक्दिनँ भनेर भन्न सक्ने हिम्मत परिवारमा कसैको पनि हुँदैनथ्यो । सके पनि नसके पनि सुरु गरिहाल्नुको विकल्प थिएन । त्योभन्दा अघिल्ला वर्षमा जमरामा दुर्गापाठ बुबाले गर्दै आउनुभएको थियो । बुबा जागिरका सिलसिलामा घरबाहिर बस्नुभएकाले मैले दुर्गापाठ गर्नुपरेको हो । म सबैभन्दा जेठी छोरी हुँ । अलिअलि पढ्न पनि जान्ने भएकाले मात्र मलाई तेलको धूप बनाइएको रहेछ भन्ने कुरा मैले केही वर्षपछि मात्र बुझेँ । भाइहरू सानै थिए, सानै भए पनि अलिअलि पढ्न जान्ने हुन्थे भने दुर्गापाठ उनीहरूले नै गर्ने थिए । हजुरबा–हजुरआमा हाम्रो परिवारमा आजसम्म जमरामा स्वास्नी मान्छेले पाठ गरेका छैनन् भनेर सुनाइरहनुहुन्थ्यो । तर, पहिलो चण्डीपाठ गर्ने छोरी स्वयं आफू भएकामा मलाई पटक्कै खुसी थिएन । म जमरा राखेको कोठाको एकछेउ कुशासन ओछ्याएर बस्थेँ । कुशासन ओछ्याउने विषयमा पनि हजुरबा र हजुरआमाबीच भनाभन भएको मलाई अझै सम्झना छ । हजुरआमा स्वास्नीमान्छेले हुँदैन भन्दै मलाई कुशासन ओछ्याउन नदिने पक्षमा हुनुहुन्थ्यो । हजुरबा जसले ओछ्याउँदा पनि हुन्छ भन्नुहुन्थ्यो । हजुरबा र हजुरआमाबीचको वादविवादमा जित हजुरबाको भयो । मैले कुशासन ओछ्याउन पाएँ । कुशासन भन्नु पनि के नै थियो र ? वर्षामा मकै भाँचेपछि सामान्य चकटी बुन्न भनेर राखिएको नरमखाले खोस्टामा केही त्यान्द्रा कुश मिसाएर हजुरआमाले नै त्यो कुशासन बनाउनुभएको थियो । म त्यही कुशासनमा बस्थेँ र दुर्गापाठ गर्न थाल्थेँ । म सजिलै संस्कृतका श्लोक उच्चारण गर्न सक्दिनथेँ । मेरोनजिकै गुन्द्री ओछ्याएर बस्नुभएका हजुरबाले मैले नसकेको शब्द र वाक्यलाई उच्चारण गरिदिनुहुन्थ्यो । म सोच्थेँ र स्वयंलाई प्रश्न गर्थें, जब मैले हेरेर उच्चारण गर्न नसकेका शब्द हजुरबा नहेरी उच्चारण गर्नुहुन्छ भने आफैँ किन गर्नुहुन्न दुर्गापाठ ? तर उहाँसँग सवाल–जवाफ गर्ने हिम्मत मसँग थिएन । मैले धेरैपछि मात्र थाहा पाएँ, हजुरबाले कुनै विद्यालयमा गएर औपचारिक शिक्षा लिनुभएको होइन रहेछ । त्यो समयमा गाउँकै पण्डितसँग उहाँले अक्षर चिन्ने मौका पाउनुभएको रे । उहाँ आफूलाई धेरै ग्रन्थ मुखाग्र भएको बताउनुहुन्थ्यो ।
म मनमा असाध्यै डर बोकेर कछुवाको गतिमा दुर्गापाठ गर्थें । मेरा स्कुलका र छिमेकका साथी धार्मिक ग्रन्थ पढ्दा एउटा मात्र अक्षर उच्चारण गर्न छुटे वा गलत भयो भने ठूलो पाप लाग्ने कुरो सुनाउँथे । कतै गलत हुन गए बाँचुञ्जेल र मरेपछि पनि पापी बन्नुपर्छ भन्ने मेरो दिमागमा परेको थियो, त्यसैले दुर्गापाठ र स्वस्थानी वाचन मेरा लागि डरलाग्दो भूत बन्न गएको थियो । हरेक बिहान म घन्टौँ लगाएर पाठ गर्थें । नौरथाभरि हजुरबाको पनि ड्युटी हुन्थ्यो– हरेक बिहान मेरोछेउ बस्ने । पाठ सकिएपछि त्यो दिनभरिका लागि म कैदमुक्त भएको महसुस गर्थेें । दुर्गा पाठको कष्टपूर्ण समयलाई भुलाउन नौरथाभरि बज्ने रेडियो नाटकले भने केही मात्रामा भए पनि मद्दत गथ्र्यो ।
हामी केटाकेटी हजुरआमाको छेउमा बसेर नाटक सुन्थ्यौँ र रमाउँथ्यौँ । मेरा छिमेकी साथी पनि नाटक सुन्न आउँथे । कहिलेकाहीँ हजुरबा पनि हाम्रोछेउ बसेर नाटक सुन्ने गर्नुहुन्थ्यो । बुबालाई त्यो रेडियो एक जापानी नागरिकले दिएका थिए रे । बुबाले भरमा रेडियो ल्याएको दिन मलाई दसैँ आएको भन्दा पनि धेरै खुसी भएकी थिएँ । म मात्र होइन, घरमा सबै खुसी भएका थिए । आजको साहित्यप्रतिको मेरो लगाब त्यही जापानिज रेडियोको देन हो भन्दा फरक पर्दैन । ती जापानी नागरिकलाई म आज धन्यवाद नदिइरहन सक्दिनँ । हजुरबाले रेडियोका लागि भीमफेदीबाट खोल सिलाएर ल्याउनुभयो । नयाँ लुगा लगाएको, चारवटा ब्याट्री गर्भमा बोकेको रेडियो दलिनमा ठोकिएको काँटीमा झुन्डिएर बोलिरहन्थ्यो । हामी फलैँचामा बसेर सुन्थ्यौँ । एकोहोरो बोलिरहेको रेडियो त्यतिबेला मात्र हजुरबा र हजुरआमाको हातबाट बन्द हुन्थ्यो, जतिबेला ऊ अंग्रे्रेजीमा समाचार भट्याउन थाल्थ्यो ।
फूलपातीको दिन फूलपाती भिœयाउन हजुरआमाले म र बहिनीलाई लगाउनुहुन्थ्यो । जमरा राखेको ठाउँमा फूलपाती भिœयाएपछि हाम्रो हातमा एक रुपैयाँको डबल पथ्र्यो । एक रुपैयाँले सुन्तलाको स्वाद भएको पिपलामेठ टन्नै आउँथ्यो । म साकाहारी थिएँ । अष्टमीको दिन म नरोएको कुनै वर्ष हुँदैनथ्यो । घरमा पालेर राखेको खसी काट्दा त्यसलाई सम्झेर म धेरै दिनसम्म रोइरहन्थेँ । नवमी खासै रमाइलो हुँदैनथ्यो । दशमीको दिन मैले दुर्गापाठ सकाएपछि हजुरबुबाले दुर्गापूजा गर्नुहुन्थ्यो । सम्भवतः त्यतिबेला हाम्रो घरमा मात्र दसैँको जमरा राखिन्थ्यो । त्यही भएर होला, हामीकहाँ जमरा लिन आउनेको ताँती लाग्थ्यो । स्कुलमा मलाई पिट्ने, गाली गर्नेहरू समेत मेरो घरमा जमरा लिने लाइनमा देख्दा मलाई संसार जितेजस्तै लाग्थ्यो । हजुरबाले पूजा सकाएर जमरा काट्नुहुन्थ्यो र मसिना–मसिना मुठा बनाएर जमरा लिन आउनेलाई बाँड्न मलाई नै अह्राउनुहुन्थ्यो । म मनपर्नेहरूलाई चाँडै जमरा दिएर बिदा गर्थें भने अरुलाई कुराएर राख्थेँ ।
पूजास्थल, घरको मूल ढोका, मूल थाम आदिमा हजुरबा गाईको गोबर टाँसेर त्यसमाथि रातो दही अक्षताको टीका र जमरा टाँस्नुहुन्थ्यो । नयाँ केही गरेको देख्नासाथ मभित्र जिज्ञासाले जन्म लिइहाल्थ्यो । राजाका लागि छुट्ट्याएको हो यो दही अक्षताको टीका र जमरा भन्दै हजुरबा सम्झाउनुहुन्थ्यो हामीलाई । राजा हटेर राष्ट्र प्रमुखको रूपमा राष्ट्रपति आएको यतिका वर्ष भइसक्दा पनि ढोकामा त्यसरी नै गाईको गोबरमा टीका र जमरा टाँस्ने परम्परा हाम्रो घरमा उस्तै छ । फरक यति हो, पहिला त्यो काम हजुरबा गर्नुहुन्थ्यो, अहिले बुबाले गर्नुहुन्छ । सायद आउँदा दिनमा भाइहरूले गर्लान् । यो टीका राजालाई कि राष्ट्रपतिलाई उहाँहरूसँग मैले सोधेकी छैन । मलाई लाग्छ, यो ढोकामा टीका टाँस्ने परम्पराले निरन्तरता पाउने छ, राष्ट्र प्रमुख जो भए पनि । टीका लगाउनुपूर्वको सबै काम सकिएपछि हाम्रो टीका लगाउने पालो आउँथ्यो । दशमीको दिन मेरो सजाय भुक्तान हुने दिन अथवा अबका एक वर्षसम्म दुर्गापाठ गर्नुनपर्ने हुँदा मन फुरुंग हुन्थ्यो ।
औँसी–पूर्णिमामा हजुरआमाले टीका लगाएर दिने दक्षिणाको तुलनामा दसैँमा अलि बढी दक्षिणा हात पथ्र्यो । टीकाटालो सकाएर हातमा दक्षिणा परेपछि खुसी भएको मन पूजाको प्रसाद खानेबेला खिन्न हुन्थ्यो । मन नलागी–नलागी म दुर्गापाठ गर्थें तर मलाई नै दुर्गालाई चढाएको प्रसाद खानबाट वञ्चित गरिन्थ्यो । मलाई मात्र होइन, मेरो माइतीघरमा आज पनि दुर्गालाई चढाएको प्रसाद कुनै पनि स्वास्नी मान्छेलाई खान दिइँदैन ।
आजकल म स्वेच्छाले प्रसाद खान्न तर सानो छँदा हरेक वर्ष चोरेरै भए पनि खान्थेँ । स्वास्नी मान्छेले प्रसाद खान नहुने सम्बन्धमा हजुरबा र बुबालाई सोधेँ पनि, कहिल्यै उपयुक्त जवाफ पाइनँ । उल्टै निकैपटक गाली समेत खान परेपछि सोध्नै छोडिदिएँ । गए साल हजुरबा, बुबा र भाइहरू समेत एकै ठाउँमा भएका बेला मैले फेरि सोधेँ । बुबा र हजुरबाले उही पुरानै जवाफ दिनुभयो, महिलाले दुर्गाप्रसाद खान नहुने चलन रहेको भन्दै । भाइको कुराले भने केही चित्त बुझ्यो । उसको तर्क थियो, बलि दिने देवस्थलहरूमा स्वास्नीमान्छे पूजारी कतै हुँदैनन् । त्यसैले पनि प्रसाद नखाने चलन चल्यो होला ।
यो पनि विचारणीय प्रश्न हो । किन हुँदैनन् त स्वास्नीमान्छे मन्दिरको पूजारी ? सायद परापूर्व कालदेखिको बनेको चलन होला । कतिपय कुराको कारण थाहा हुँदैन तर गर्न हुँदैन भनेको र सुनेको भरमा हामी त्यही कुरा मान्दै आइरहेका हुन्छौँ । थाहा छैन, कहिलेसम्म मान्छौँ ?

प्रकाशित: ७ आश्विन २०७४ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App