१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लाभका लागि मर्यादाको खिल्ली

चुनाव लड्न राजदूत उपाध्यायको राजीनामा

काठमाडौं- कार्यकाल पूरा हुनुभन्दा तीन वर्षअघि नै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । अघिल्लो पटक भारतका लागि राजदूत हुँदा तत्कालीन सरकारले उनलाई जबरजस्ती फिर्ता बोलाए पनि अहिले भने आफ्नै ‘स्वार्थ’ का कारण उनले राजदूतको पद त्याग्ने निर्णय गरेका हुन् ।

‘स्थानीय (कपिलवस्तु) जनता र पार्टीले निर्वाचनमा सहभागी हुन र उम्मेदवार बन्न दबाब दिएपछि मैले राजदूत पदबाट राजीनामा गर्ने निर्णय गरेको हुँ ।’- दीपकुमार उपाध्याय, भारतका लागि नेपाली राजदूत।

राजदूत उपाध्यायले शुक्रबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका छन् ।
‘मेरो आवश्यकता अहिले देशभित्रै भएको हुनाले राजदूत पदबाट राजीनामा गरेको हुँ,’ राजदूत उपाध्यायले शुक्रबार भने, ‘उपप्रधान तथा परराष्ट्रमन्त्रीज्यूलाई मैले आज राजीनामा बुझाएको छु ।’
राजदूत उपाध्यायले शुक्रबार दिउँसो १ बजे परराष्ट्र मन्त्रालय पुगी उपप्रधान तथा परराष्ट्रमन्त्री महरालाई राजीनामा बुझाएका थिए । मन्त्री महराले शुक्रबार नै राजदूतले बुझाएको राजीनामापत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका थिए । आउँदो मन्त्रिपरिषद् बैठकले उपाध्यायको राजीनामा स्वीकृत गर्नेछ ।  
आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा केन्द्रको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले राजदूत नियुक्त भएको वर्ष दिनमै राजीनामा गरेका हुन् । नेपाली कांग्रेस जिल्ला कार्य समितिले कपिलवस्तुको निर्वाचन क्षेत्र–१ बाट उनलाई केन्द्रको निर्वाचनका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ । उनी केन्द्रीय निर्वाचनमा उम्मेदवार हुन नयाँदिल्ली छोडी अहिले काठमाडौं आएका छन् ।
‘स्थानीय (कपिलवस्तु) जनता र पार्टीले निर्वाचनमा सहभागी हुन र उम्मेदवार बन्न दबाब दिएपछि मैले राजदूत पदबाट राजीनामा गर्ने निर्णय गरेको हुँ,’ उपाध्यायले भने ।
करिव ६ वर्षदेखि रिक्त रहेको भारतस्थित नेपाली दूतावासमा तत्कालीन सुशील कोइराला सरकारले कांग्रेस नेता दीपकुमार उपाध्यायलाई २०७१ माघ २ गते सिफारिस गरेको थियो । २०६६ पुस ६ गते कूटनीतिक मर्यादाविपरीत कार्य गरेको भन्दै तत्कालीन राजदूत रुक्मशमशेर राणालाई सरकारले फिर्ता बोलाएपछि करिब ६ वर्ष नयाँदिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन बनेको थियो । राणा कांग्रेस कोटामा भारतका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए ।
राणालाई फिर्ता बोलाएको करिब ६ वर्षपछि उपाध्याय कांग्रेस कोटामा राजदूत नियुक्त भएका थिए । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पराजित उपाध्यायले २०७२ वैशाख १७ गते राजदूतको जिम्मेवारी सम्हालेका थिए । उनी भारतका लागि राजदूत रहँदा भारतले नेपालमाथि पाँच महिनासम्म नाकाबन्दी लगाएको थियो ।
सुशील कोइरालापछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूत उपाध्यायको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै २०७३ वैशाख २४ गते उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सत्ता परिवर्तनमा संलग्न भएको, बिना जानकारी कार्यक्षेत्र छोडेको र कूटनीतिक मर्यादाविपरीत कार्य गरेको आरोप लगाई सरकारले उपाध्यायलाई फिर्ता बोलाएको थियो । सरकारले फिर्ता बोलाएपछि त्यतिबेला उनले सरकारले आपूmमाथि अन्याय गरेको र सरकारको यो कार्यले दुई देशबीचको सम्बन्धमा असर गर्ने बताएका थिए ।

उपाध्याय फिर्ता भएको केही सातापछि ओली सरकार ढलेको थियो । त्यसपछि कांग्रेसको सहयोगमा बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले उपाध्यायलाई २०७३ भदौ १६ गते पुनः भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । दोस्रो पटक भारतको लागि राजदूतमा सिफारिस भएपछि उनले त्यतिबेला आपूmले न्याय पाएको प्रतिक्रिया जनाएका थिए ।
चारवर्षे कार्यकालको एक वर्ष मात्र पूरा हुँदा उनले सांसद हुने लोभमा राजदूतको पद त्यागेका हुन् । यसरी कार्यकालको बीचमै राजदूतबाट राजिनामा गर्दा भारतसँगको कूटनीतिमा असर गर्दैन ? भन्ने जिज्ञासामा राजदूत उपाध्यायले भने, ‘त्यति असर गर्दैन । नेपाल–भारतबीचको विवाद समाप्त भइसकेको छ । सम्बन्ध सहज रूपमा अघि बढेको छ । जुन उद्देश्य लिएर म गएको थिएँ त्यो पूरा भएको छ । ’

प्रकाशित: २१ आश्विन २०७४ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App