शाकुन्तलमा देवकोटाको आध्यात्मिक चिन्तन

शनिबार, २८ असोज २०७४, १० : २० नागरिक


ज्ञाननिष्ठ ज्ञवाली   

 

आधुनिक नेपाली महाकाव्यका प्रारम्भकर्ता लक्ष्मीप्रसाद देवकोटाले २००० सालदेखि नै महाकाव्य लेख्ने प्रयास गरेको पाइन्छ । उनले सुलोचना त्यसै साल लेख्न सुरु गरे पनि पूरा हुन सकेन । त्यसको दुई वर्षपछि देवकोटाले तीन महिना लगाएर लेखेको शाकुन्तल प्रकाशित भयो । नेपाली महाकाव्य आइसल्यान्डको सर्पजस्तो रहेको अवस्थामा देवकोटाले महाकाव्य लेखेका थिए । त्यसलाई नेपाली भाषा प्रकाशिनी समितिले प्रकाशित गर्यो ।

देवकोटाले ‘शाकुन्तल’ महाकाव्यमा सत्यलाई सर्वोपरि मानेका छन् । सत्यको उद्घोष गरेर सत्यवादी जीवन चिन्तनतर्फ आकृष्ट भई आध्यात्मिक शान्तितर्फ उनी अभिमुख भएको पाइन्छ । देवकोटा ‘शाकुन्तल’ का २३औँ र २४औँ सर्गमा सत्यवादी जीवन चिन्तनतर्फ लागेका देखिन्छन् । देवता र दैत्यको युद्धका प्रसंगमा सत्यको नै विजय हुने धारणा यहाँ पाइन्छ ।

महाकाव्यमा देवकोटाको कलम चलेपछि नै नेपाली महाकाव्यमा मौलिक तथा स्वच्छन्दतावादी धाराको प्रवर्तन भएको पूर्वअध्ययनले देखाएका छन् । देवकोटाले सुलोचना (२००३), महाराणा प्रताप (२०२४), वनकुसुम (२०२५), प्रमिथस (२०२९), पृथ्वीराज चौहान (२०४९), अंग्रेजी शाकुन्तल (२०४८) पनि लेखे ।
देवकोटाले अन्य कृतिमा जस्तै आफ्ना महाकाव्यमा पनि दार्शनिक चिन्तन प्रयोग गरेका छन् । शाकुन्तल महाकाव्यमा पनि त्यस्तै दार्शनिक चिन्तन पाइन्छ । पूर्वीय दर्शनले आध्यात्मिक जीवनलाई महŒव दिन्छ । देवकोटाको शाकुन्तलमा पनि यस्तै आध्यात्मिक दर्शन भेट्न सकिन्छ ।
महाकाव्यको सुरुदेखि अन्तिमसम्मको प्रस्तुति र दुष्यन्त र शकुन्तलाको भरतसहित सुखद मिलन आध्यात्मिक, प्राकृत जीवन पद्धतिकै रूपमा देखिन्छ । देवकोटाको महाकाव्यमा प्राचीन पूर्वीय जीवनपद्धति र आध्यात्मिक  चिन्तन भरिएको हुन्छ । त्यसमा उनी मौलिकता र नयाँपन मिसाउन सिपालु छन् । तथापि उनले आध्यात्मिक जीवन र ऋषि मनविना जीवनको सार्थकता देखेका छैनन् ।
महाभारतका रचनाकार व्यासका सेता दाह्रीबाट गंगा बनेको कथालाई आफूले ग्रहण गरेको संकेत गरे पनि यसमा व्यासको तपस्याबाट दुष्यन्त र शकुन्तलाको कथा जन्मेको कुरा सँगै आएको छ । कुनै पनि साधनाबाट प्राप्तिसम्म पुग्नका लागि ध्यान, त्याग, तपस्या र त्यसप्रतिको आस्था हुनुपर्छ भन्ने जीवन चिन्तनलाई यहाँ व्यासका माध्यमबाट प्रस्तुत गरिएको छ । कालिदासको अभिज्ञान शाकुन्तलम् नाटक चर्चा समेत यहाँ पाइन्छ ।
देवकोटाले अनन्त विशाल वैभव भएको ऋषि सभ्यतातर्फ पाठकलाई लैजान थालेको संकेत प्रथम सर्गका विभिन्न श्लोकमा गरेका छन् । विश्वामित्र शाकुन्तल महाकाव्यमा ऋषि पात्र हुन् । देवकोटाले उनलाई धेरै ठाउँमा धेरै प्रकारबाट प्रस्तुत नगरे पनि उनकै तपस्या भंग भएर शकुन्तलाको जन्म भएको पाइन्छ ।
क्षत्रीय राजवंशमा जन्मेका विश्वामित्रको भौतिक सुख सम्पत्तिप्रतिको विमुखता र तपस्यामा कविको आफ्नै अन्तर्मुखी जीवनचेतना प्रकटिएको पाइन्छ । ऋषिको तपो–महिमामा जनस्तरीय (हाम्रा) उदयको छाया प्रतिविम्बित भेटिन्छ भन्ने मान्यता पाइए पनि वास्तवमा यहाँ आत्मिक, आध्यात्मिक, त्यागपरक आनन्दको महिमालाई उजागर गर्न खोजिएको छ । जसलाई आजका शासक–प्रशासक, भौतिक, विलासीले समेत मनन गर्नुपर्ने देखिन्छ । भौतिक सुखभोगमा चुर्लुम्म डुबेर जीवनको वास्तविकता नबुझ्नेका निम्ति विश्वामित्रको चरित्रलाई अनुकरणीय र अनुसरणीय मान्न सकिन्छ । यद्यपि महाकाव्यमा इन्द्रको छलका कारण उनको तपस्या भंग भएको छ र उनी पहिलेको विश्वामित्र रहन सकेनन् ।
देवकोटाले महाभारत र अभिज्ञानशाकुन्तलम्को कथावस्तुलाई स्रोत बनाए पनि आपूmले प्रशस्त फरकपन दिएका छन् । यतिसम्म कि कालिदासको नाटकमा गौतमी कण्वकी धर्म बहिनीकी रूपमा छन् भने देवकोटाले गौतमीलाई कण्वकी पत्नी बनाइदिएका छन् । फरक प्रसंग ल्याउने देवकोटाले चाहेका भए विश्वामित्रलाई पनि तपस्या भंग भएपछि गृहस्थी बनाउन सक्थे । मेनकालाई विश्वामित्रसँगै पृथ्वीमै घर बनाएर गृहस्थी जीवन बिताउने नारीका रूपमा चित्रण गर्न सक्थे । जस्तो कि कथाकार विश्वेश्वरप्रसाद कोइरालाले ‘कथा’ कथामा ऋषिलाई गृहस्थी बनाएका छन् । देवकोटाको उद्देश्य त ऋषिकेन्द्रित आध्यात्मिक जीवनलाई नै सर्वोपरि ठानेर अगाडि बढ्नु देखिन्छ । शाकुन्तल महाकाव्यमा कण्व ऋषिलाई देवकोटाले गृहस्थ महात्माजस्ता देखाएका छन् । उनी वानप्रस्थी त हुँदै हुन् तर आफ्नो जीवनमा परेका घटनालाई उनी सहज रूपमा स्वीकार गरेर अगाडि बढ्छन् । उनी पत्नी गौतमीसहित वनमा आश्रममा बसेका छन् । उनको जीवन आध्यात्मिक छ । कण्व ऋषि ज्ञानका मात्र प्रेमी छैनन्, मनुष्यका पनि प्रेमी छन्, उनी प्रतापी छन्, प्रभावशाली छन्, तपस्वीहरूमा उनको अपूर्व प्रभाव छ । कालिदासले उनलाई कुलपति भनेका छन् । पुरानो जमानामा १० हजार विद्यार्थीलाई खानपानका साथ पढ्ने व्यवस्था मिलाउने ऋषिको नेतालाई कुलपति भन्ने चलन थियो ।
देवकोटाले कण्व ऋषिको आध्यात्मिक तपोमय जीवनलाई विभिन्न सन्दर्भबाट पुष्टि गरेका छन् । यहाँ दुष्यन्तले ऋषिको आश्रममा मृगलाई मार्न वाण ताकेका वेला ऋषिका शिष्यले तपोवनको आध्यात्मिक शान्ति र ऋषिको जीवनलाई प्रस्तुत गरेका छन् । प्रस्तुत महाकाव्यका उल्लेखनीय सहायक पात्र शकुन्तलाका धर्मपिता कण्वका माध्यमबाट कविले तपोवन सभ्यता र ऋषि सभ्यताका आदर्श प्रस्तुत गरेका छन् ।
शाकुन्तल महाकाव्यमा दुर्वासा ऋषिको छोटो प्रसंग आउँछ तर यसले काव्यभरि नै वा शकुन्तला र दुष्यन्तको जीवनमै ठूलो उथलपुथल ल्याएको पाइन्छ । कसलाई कोमार्फत कसरी कर्मको फल दिने भन्ने पूर्वीय दर्शनको मान्यताअनुसार दुर्वासा यहाँ माध्यम बनेका छन् । दुर्वासा क्रोधी र श्राप दिन नामी ऋषि हुन् । यिनी रिसाएका बेला आफूले लगाएका कपडा पनि च्यात्छन् । यिनको अभिज्ञानशाकुन्तलम् नाटकमा पनि निकै चर्चा पाइन्छ । यिनी विष्णुको श्रापबाट पीडित मानिन्छन् । महाकाव्यमा दुर्वासाका कारण स्थितिविपर्ययको नयाँ मोड आउँछ । यिनकै श्रापका कारण दुष्यन्तले आफ्नी गर्भवती पत्नीलाई समेत भुलेका छन् । हुन त दुर्वासाले औँठीको चिनोले श्रापमुक्ति हुने उपाय भने बताएका छन् ।
देवकोटाले योगी, ध्यानी, सन्न्यासी, ऋषि, जोगी, अतिथिहरू आफ्ना घरमा आएका वेला तिनलाई बेवास्ता गर्नुहुँदैन भन्ने आध्यात्मिक जीवनवादी सन्देश दिएका छन् । ‘अतिथि देवो भवः’ अर्थात् अतिथि देवता समान हुन् भन्ने हाम्रो पूर्वीय चिन्तनलाई यहाँ देखाइएको छ ।
देवकोटाले शाकुन्तल महाकाव्यमा कश्यप ऋषिको आध्यात्मिक जीवनलाई विशेष महŒवसाथ प्रस्तुत गरेका छन् । कश्यप ऋषिको व्यक्तित्व विविध प्रकारको देखिन्छ । यिनै विविध रूपका कश्यप ऋषिलाई देवकोटाले शाकुन्तल महाकाव्यको २२औँ सर्गको अन्तिम श्लोकबाट चर्चा गरेका छन् । यहाँ राजा दुष्यन्तले औँठी देखेपछि सबै कुरा सम्झेर शकुन्तलाको खोजी गरेका वेला शकुन्तला कश्यप ऋषिका आश्रममा पुगेर आश्रम लिएकी छन् । शकुन्तसँगिनी अर्थात् चराहरूकी साथी शकुन्तला कश्यप ऋषिका आश्रममा प्रकृतिका काखमा जीवन बिताएको प्रसंग यहाँ आएको छ । त्यो आश्रममा पर्वतबाट झरेका निर्भmर झरना र वेद पाठ गर्दा निस्कने ध्वनिमय, पवित्र छ भन्ने देखाएबाट कश्यप ऋषिको अध्यात्मकेन्द्रित जीवनको परिवेश यहाँ पाइन्छ ।     
कश्यप, कण्व, विश्वामित्र आदि ऋषिहरू शिव वा कल्याणका प्रतीक भएकाले यिनको सुन्दर समन्वयमा सततशील लोक जीवनको प्रवाह बगाउन चाहने देवकोटाको जीवन दर्शन शाकुन्तलमा कश्यपमय भएर प्रवाहित भएको पाइन्छ । तिनै ऋषिको उपदेश र आशीर्वादलाई देवकोटाले अझ बढी उच्चता दिएको पाइन्छ । सत्यवादी भएर ईश्वरप्रति श्रद्धा भाव राख्दै जनताको हित नै सेवा हो, त्यो नै राजाको मुकुट हो त्यो नै राजकीय सत्ताको सर्वोत्तम उपलब्धि हो भन्ने कश्यपको उपदेशमा नैतिक आध्यात्मिक राजनीतिक चिन्तन समेत प्रकट भएको छ ।  
देवकोटाले ‘शाकुन्तल’ महाकाव्यका विविध रूपका प्रकृतिको चित्रण गरेर प्रकृति नै मानवको मूल आधार भएको कुरा व्यक्त गरेका छन् । प्रकृतिमय प्राचीन आर्य सभ्यता र संस्कृतिको उद्घाटन गरेर त्यसैमा आध्यात्मिक शान्ति पाइने कुरा उनले गरेका छन् ।
हाम्रा पूर्वीय वैदिक दर्शनहरूले प्रकृतिलाई अनेक दृष्टिले हेरेका छन् । सांख्य दर्शनले प्रकृतिलाई सृष्टिको मूल कारण मानेको छ । योग दर्शनमा पनि प्रकृतिलाई फरक ढंगबाट सृष्टिकै कारण मानिन्छ । वेदान्त दर्शनले यही प्रकृतिलाई मायाको नजिक पु¥याएको छ । ऋग्वेदको उषासूक्तमा त प्रकृतिको महिमा गाउँदै त्यसलाई महŒवपूर्ण शक्ति मानिएको छ । प्रकृतिलाई देवताको रूप मानिएको छ । प्रकृतिको मानवीकरण गरिएको छ । ऋषिहरूले उषालाई सुनको रथमा चढेर आएकी दिप्तिपूर्ण शक्तिशाली देवीको रूप मानेका छन् । उषालाई मानवीय व्यवहारको पथप्रदर्शक मानेर कुशल गृहिणी, उज्यालोतर्फ लैजाने शक्ति भएकी, दिव्य प्रकृतिदेवी मानिएको छ । देवकोटाले पनि शाकुन्तलमा यिनै उषाको यिनै प्रकृतिको भव्य रूपको चित्रण गरेका छन् ।
संग्रह नगर्नु, लोभी नहुनु वा नांगो हुनु नै सुखको मूल हो । फूल नांगा भए पनि उज्याला र सौन्दर्ययुक्त हुन्छन् । त्यसैले देवकोटा प्रकृतिका माध्यमबाट सुखी जीवन वा वास्तविक लक्ष्य प्राप्तिको आध्यात्मिक जीवनतर्फ संकेत गर्छन् । प्राकृतिक वैभवबाट टाढिनुप¥यो भने दुःख हुने कुरा समेत शकुन्तलाले प्रकट गरेको पाइन्छ ।  
देवकोटाले ‘शाकुन्तल’ महाकाव्यमा सत्यलाई सर्वोपरि मानेका छन् । सत्यको उद्घोष गरेर सत्यवादी जीवन चिन्तनतर्फ आकृष्ट भई आध्यात्मिक शान्तितर्फ उनी अभिमुख भएको पाइन्छ । देवकोटा ‘शाकुन्तल’ का २३औँ र २४औँ सर्गमा सत्यवादी जीवन चिन्तनतर्फ लागेका देखिन्छन् । देवता र दैत्यको युद्धका प्रसंगमा सत्यको नै विजय हुने धारणा यहाँ पाइन्छ ।
सत्यमा चल्ने मान्छेमा अनन्त प्रबलता हुन्छ । आदि अन्त्य नभएको शक्तिशाली आत्मा पनि सत्यको पछि लाग्छ । सत्य नै ईश्वरको रूप हो, जुन सत्यजस्तै जान्न–बुझ्न नसकिनेछ । विश्वका ईश्वरको रूप पनि सत्य नै छ । सत्यको पछि लागेमा आत्मा पनि उज्यालोतिर लाग्छ वा ज्योतिस्वरूप प्राप्त हुन्छ । सत्यको आदि अन्त्य छैन । सत्य आशातीत भएकाले चिताउनै सकिँदैन । यो अगम्य अर्थात् अज्ञेय छ । शक्ति प्राप्त गर्न सत्यकै भर चाहिन्छ । सत्यको घेरो फराकिलो पारेमा वास्तविक तŒव फेला पार्न सकिन्छ । भक्ति र श्रद्धा (श्रीपेच) भन्दा पनि सत्य ठूलो भएकाले यसकै खोजीमा लाग्नु मनुष्य जीवनको सार्थकता देखिन्छ ।
देवकोटाले ‘शाकुन्तल’ महाकाव्यमा भौतिक÷आधुनिक जीवनलाई दुःखपूर्ण मानेका छन् । उनले महाकाव्यको प्रथम सर्गमै भौतिक÷आधुनिक जीवन कोलाहलपूर्ण, मरेतुल्य, अत्यासलाग्दो भनेका छन् ।
देवकोटा वस्तुतः धरा (पृथ्वी) मा सम्पूर्ण वैभव देख्ने कवि हुन् । पृथ्वीलाई जीवनदायिनी शक्ति पनि मानेका छन् । यही शाकुन्तल महाकाव्यमा पनि उनी प्रकृतिभित्रै अध्यात्म ज्ञानको भण्डार देख्छन् । उक्त श्लोकमा देवकोटाले धरा भनेर भौतिकताले चुर्लुम्म भएको संसारलाई बताएका हुन् । यस्तो संसारमा अभावैअभाव हुने नै भयो । अशान्ति, दुःख, विभिन्न पीडादायी अवस्था त यसका स्वभाव नै हुन् । असन्तुष्टि र जलनले भरिएको वेदान्त दर्शनका अनुसार मायिक संसार, मिथ्या संसारमा अभाव नभए के होला ? यहाँका वस्तुहरू हेर्दा आकर्षक भए पनि नाशवान् भएकाले दुःख दिनेछन् । वेदान्त दर्शनको पारमार्थिक दृष्टिले हेर्दा त सबै आफ्ना भनिएकाले पनि दुःखको बन्धनमा पर्छन् । त्यस्तै, फूल सौन्दर्ययुक्त आनन्द दिने भए पनि त्यसमा काँढा हुन्छ । यो जहाँ आनन्द छ, त्यहाँ दुःख पनि हुन्छ भन्ने प्राचीय न्याय दर्शनको मतअनुसार मेल खाने देखिन्छ । हरेक प्राणी शोकाकुल छ । आँसुमय जीवनलाई देवकोटाले आधुनिक, भौतिक, कृत्रिम, आडम्बरी मानेको कुरा यहाँ पाइन्छ ।
देवकोटाले भौतिक÷आधुनिक जीवनलाई दुःखैदुःखको समुद्र मानेका छन् । अन्धकारै अन्धकारले घेरिएको यो भौतिक जगत् विषयसुखको खिचातानीमा अल्झिएको छ । लोभी, पापी, कामुक, विषयभोगी आधुनिक सहरिया सभ्यताप्रति देवकोटाले अनास्था प्रकट गरेका छन् ।
भौतिक जगत् अनित्य छ । यो शरीर एक दिन खरानी भएर पृथ्वी, जल, तेज, वायु, आकाशजस्ता पञ्च महाभूतमा मिल्छ । त्यसैले भौतिकतातिर लाग्नु व्यर्थ छ भन्ने चिन्तन देवकोटाले व्यक्त गरेका छन् । भौतिकवादी जीवन पद्धतिप्रति पूर्ण असहमति जनाइएको छ । ब्रह्म मात्र सत्य छ, जगत् मिथ्या छ, जीव ब्रह्मै हो, त्योभन्दा पर अरु केही छैन भन्ने वेदान्त दर्शनको चिन्तन यहाँ पाइन्छ ।
हाम्रा इन्द्रीयहरू इमानदार छैनन् । यिनले नगर भनेको कुरा गर्न खोज्छन् । हामीलाई भौतिक संसारमा चुर्लुम्म डुबाउन खोज्छन् । हाम्रा कानले नराम्रो र नचाहिँदो सुन्न खोज्ने, हाम्रा आँखाले त्यस्तै हेर्न खोज्ने, जिब्राले मीठोमीठो स्वाद खोज्ने, नाकले त्यस्तै गर्नेलगायत पाँच कर्मेन्द्रीय र पाँच ज्ञानेन्द्रीयहरू हाम्रा नियन्त्रणभन्दा बाहिर गए भने यिनीबाट हाम्रो हानि हुन्छ । यिनैले दुःखका वेला अझै दुःख थपिदिन्छन् । तसर्थ देवकोटा त्यसबाट सचेत रहने÷रहनुपर्ने विचार व्यक्त गर्छन् ।
भौतिकताको भोकले भरिएको आधुनिक जीवनबाट मुक्ति सम्भव नहुने देवकोटाको चिन्तन यहाँ पाइन्छ । शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शनले प्रतिपादन गरेको जीवनजगत् चिन्तन प्राप्त गर्न सकिन्छ । जीवनजगत्का रहस्यमय विषयलाई चिन्तन–मनन गरी त्यसका गहिराइसम्म पुगेर तŒवज्ञान गर्ने काम दर्शनमा हुन्छ ।
देवकोटाको शाकुन्तलबाहेक अन्य केही कृतिमा हेर्दा उनले जीवनजगत्लाई खाडीसँग तुलना गरी दुःखमय मानेका छन् । उनका सुरुका कविताकृतिमा पनि यस्तो चिन्तन पाइन्छ । उनले क्षणिक, भौतिक जीवनभन्दा आध्यात्मिक, आत्मिक शाश्वत जीवनलाई महŒव दिएका छन् । उनी मानवतावादी, प्रकृतिकेन्द्रित जीवन चिन्तकका रूपमा देखिएका छन् । उनले ईश्वर, आत्मा, स्वर्ग, नरक र धर्मसम्बन्धी चिन्तन गरेर जीवनका लागि यी पाँच कुराको महŒव देखाएका छन् । उनले प्राचीन सभ्यता र संस्कृतिप्रति रुचि देखाएका छन् ।
शाकुन्तल महाकाव्यमा देवकोटाको जीवन चिन्तन आध्यात्मिक, प्राचीन पूर्वीय जीवन पद्धतिप्रति विशेष आकर्षित छ । यिनले उक्त महाकाव्यमा ऋषि, तपोवन, तपस्यामय ऋषिसभ्यता, ऋषिहरूप्रतिको श्रद्धाभाव प्रकट गरेका छन् । मन्त्रद्रष्टा ऋषिहरूको तपोमय जीवनप्रति उनको आस्था झल्किन्छ । आध्यात्मिक जीवनतर्फ आकृष्ट भएका विश्वामित्र, ज्ञानी, परोपकारी, मानवतावादी कण्व, रिसाहा भए पनि त्यसलाई सच्याएर अतिथि सत्कारको पाठ पढाउने दुर्वासा, ज्ञानी, सहयोगी र त्रिकालदर्शी कश्यप ऋषिका माध्यमबाट देवकोटाले आध्यात्मिक जीवनको महिमा गाएका छन् । प्रकृतिलाई नै जीवनको मूल प्रेरणा मान्ने देवकोटाले प्रकृतिलाई अध्यात्म ज्ञानको स्रोत मानेका छन् । प्राकृतिक जीवनतर्फ उनको विशेष अभिरुचि छ । सत्यवादी भएर बाँच्नुपर्ने देवकोटाको अर्को उल्लेख्य पक्ष शाकुन्तलमा आएको छ । भौतिकताप्रतिको आसक्तिले मानिसलाई सुख नहुने उनको चिन्तन महाकाव्यमा प्रशस्त पाइन्छ । देवकोटाको जीवन चिन्तनको मूल आसय पूर्वीय अध्यात्मवादी जीवन नै भएको निष्कर्ष यहाँ रहेको छ ।
(लेखक त्रिवि पद्मकन्या क्याम्पसका उपप्राध्यापक हुन् ।)             







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

विश्वभरिका सुन्दरीहरुका लागि एउटा सपना हो– मिस वर्ल्ड। यस वर्षको मिस वर्ल्ड उपाधि भारतकी मानुसी छिल्लरले जितेपछि सामाजिक सञ्जालमा विभिन्न...

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ...

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा...

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को...