१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२३ दिन ढिलोगरी बाहिरियो मनसुन

काठमाडौं— सामान्यतया असोज ७ गते बाहिरिने मनसुन यसपटक २३ दिन ढिलोगरी (अक्टुबर १६) सोमबारबाट बाहिरिएको छ । मनसुन भित्रिने र बाहिरिने समय ढिलो हुँदै जाने हो भने गर्मी महिनामा जाडो र जाडो महिनामा गर्मी हुने अनुमान विज्ञले गर्न थालेका छन्। बितेका ४९ वर्षको तथ्यांक केलाउ“दा मनसुन ढिलो बाहिरिएको यो दोस्रोपटक हो । सबैभन्दा ढिलो सन् २०१३ मा अक्टुबर १९ मा मनसुन बाहिरिएको थियो। 

अघिल्लो वर्ष अहिलेभन्दा एक दिन छिटो मनसुन बाहिरिएको थियो । पछिल्ला वर्षहज्ञमा मनसुन ढिलो बाहिरिने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभागको तथ्यांकले देखाएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले पा“च दिनअघि बारिन सुरु गरेको मनसुन देशको समग्र भूभागबाट सोमबार बाहिरिएको जानकारी दिए । ‘सामान्य मितिभन्दा २३ दिन ढिलो आज (सोमबार) बाट मनसुन देशभरबाट बाहिरिएको छ’, उनले भने। 

उनका अनुसार जाडो याम सुरुसँगै पश्चिमी वायुको प्रभाव बढेको छ । यसले आफ्नो गति लिन थालेका छ । मध्य भारतमा उच्चचापीय रेखाको विकास भएको छ । हावामा जलवाष्पको मात्रा पूरै घटेको छ । ‘यीबाहेक मनसुन बाहिएको अनुमान गर्ने अन्य थुप्रै प्राविधिक कारण छन’, रिमालले भने।

विभागका अनुसार सन् १९६८ देखि सन् २०१७ बीचको ४९ वर्षमध्ये ३० वटा वर्षमा मनसुन ढिलोगरी बाहिरिएको छ। सबैभन्दा ढिलो बाहिरिएको वर्ष सन् २०१३ हो । त्यस वर्ष अक्टुबर १९ मा मनसुन बाहिरिएको थियो। त्यसपछि सन् २००८ मा १७ अक्टुबरमा बाहिरिएको थियो। १६ अक्टुबरमा मनसुन बाहिरिएको यो पहिलो पटक हो । सन् २०१५ मा अक्टुबर १५ मा मनसुन बाहिरिएको थियो। मनसुन बाहिरिने सामान्य मिति सेप्टेम्बर २३ हो। 

काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले दक्षिण एसियामै मनसुनको अवधि परिवर्तन भइरहेको जानकारी दिए। ‘एउटा फ्याक्टरले मात्र यस्तो भएको होइन। यसमा थुप्रै कारण छन् । जलवायु परिवर्तन पनि हुनसक्छ । तर यो वैज्ञानिक अध्ययनको विषय हो’, उनले भने, ‘कारण पत्ता लगाउन सातवटा प्राविधिक विषयको अध्ययन गर्नुपर्छ।’

शाक्यले मनसुन भित्रिने र बाहिरिने अवधि ढिलो हुँदै गए पनि मनसुनी दिन भने यथावत रहेको जानकारी दिए। ‘समय ढिलो भइरहेको छ । तर मनसुनी दिन भने ११२ नै कायम छ’, उनले भने । शाक्यका अनुसार यसैगरी मौसमको समय परिवर्तन हँुदै जाने हो भने सय वर्षपछि गर्मी महिनामा जाडो र जाडो महिनामा गर्मी हुनसक्छ। 
‘७÷१० वर्षदेखि अक्टुबर नलागेसम्म मनसुन नबाहिरिने र जुन १५÷१६ तारिख नभएसम्म नभित्रिने भइरहेको छ’, उनी भन्छन्। 

मनसुन बाहिरिने मात्र नभई भित्रिने अवधि पनि ढिलो हुँदै गएको तथ्यांकले देखाउँछ। सामान्य समय अनुसार हरेक वर्षको जुन ५ मा मनसुन भित्रिनुपर्छ। तर ४९ वर्षको तथ्यांकले जम्मा ५ वटा वर्षमा मात्र मनसुन निर्धारित मिति र त्योभन्दा अगावै भित्रिएको देखिन्छ। ४४ वटा वर्षमा मनसुन निर्धारित अवधिभन्दा ढिलो प्रवेश गरेको छ। 
मनसुन सबैभन्दा ढिलो प्रवेश गरेको वर्ष सन् १९८२ हो। यस वर्ष २७ जुनमा मात्र मनसुन भित्रिएको थियो । सन् १९८३ मा जुन २४, सन् १९८१ र २००९ मा जुन २३ मा मनसुन भित्रिएको थियो। 

मनसुन सधै बंगालको खाडी हुँदै पूर्वबाट नेपाल प्रवेश गर्छ र पश्चिम भएर बाहिरिन्छ। अन्तिममा यसका गतिविधि पूर्वबाट हराउँदै जान्छन्। सामान्यतया मनसुन जेठको अन्तिम साता सुरु भएर असोजको पहिलो साता सकिने गर्छ। यो समय जल तथा मौसम विज्ञान विभागले ३० वर्षको तथ्यांक विश्लेषण गरेर तय गरेको हो । तर सामान्य अवधिभन्दा ढिलो प्रवेश गर्ने र बाहिरिने गरेको तथ्यांबाट पुष्टि हुन्छ।

‘यसलाई परिवर्तन गर्न फेरि हामीले ३० वर्षकै तथ्यांक विश्लेषण गर्नुपर्छ’, रिमाल भन्छन, ‘नया“ समय निर्धारण गर्नुपर्छ।’ उनका अनुसार यो विषय नेपालमा मात्र सीमित छैन । यसको विस्तृत अध्ययन आवश्यक छ । किन लम्बिरहेको छ भन्ने प्रश्नको जबाफ दिन सकिने अवस्था छैन। त्यसो त यस वर्ष मनसुन लगभग नियमित समय जेठ २९ मा नेपाल भित्रिए पनि एक सातापछि  सक्रिय भएको थियो ।  सामान्यतया जुनदेखि सेप्टेम्बरसम्मलाई दक्षिण एसियामा मनसुन अवधि भनिन्छ। यो समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी पर्छ। 

 

प्रकाशित: ३१ आश्विन २०७४ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App