१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एएफसी यु–१९ च्याम्पियनसिप छनोट, हारसँगै नेपालको सुरुआत

काठमाडौं– आयोजक किर्गिस्तानलाई मंगलबार २–० को नतिजा सुम्पदै नेपाली युवा टोलीले एएफसी यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिताको सुरुआत गरेको छ।

शुकुरोभ अलिमार्डनले एक गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्को वर्ष हुने एएफसी च्याम्पियनसिपको छनोट अन्तर्गत समुह ‘ए’ मा किर्गिस्तानले सुखद सुरुआत गरेको थियो । बिस्केकको ओर्मुजाकोभ रंगशालामा घरेलु टोलीले बोरुस्बाइभ गुल्झिगिटको गोलमा २१औं मिनेटमा अग्रता लिएको थियो । गुल्झिगिटले शुकुरोभको पासमा नेपाली रक्षक विश्वास उदासलाई पछि पार्दै गोल गरेका थिए ।

सुरुमै अग्रता लिए पनि किर्गिस्तानले जित पक्का गर्न भने अन्तिम समयसम्म कुर्नुपरेको थियो । इन्जुरी समयमा प्राप्त काउन्टर अट्याकको मुभलाई शुकुरोभले घरेलु टोलीका लागि विजयी गोलमा परिणत गरे । मिडफिल्डर सार्शेनबेकोभ अर्लेनले आफ्नै पोस्टबाट प्रहार गरेको बल नेपाली गोलकिपर अर्पण कार्कीले पेनाल्टी बक्सभन्दा बाहिर निस्किएर फर्काएका थिए । कार्कीले राम्ररी क्लियर गर्न नसकेको बललाई शुकुरोभले पेनाल्टी बक्स बाहिरबाट सहज गोलमा परिणत गर्दै घरेलु टोलीको जितअन्तर फराकिलो पारेका थिए ।

हारपछि नेपाली टोलीका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले आफ्नै स्तरअनुसारको प्रदर्शन हुन नसक्दा पराजय भोग्नु परेको प्रतिक्रिया दिए । ‘दूर्भाग्यवश आज हामीले राम्रो फुटबल खेल्न सकेनौं । लामो यात्राका कारण खेलाडीहरु थकित थिए, त्यसले गर्दा पनि स्वभाविक फुटबल खेल्न सकेनन्,’ लोप्साङले भने ।

बिस्केकको हावापानीसँग टोली राम्ररी भिज्न भ्याइ नसकेका कारण पनि पहिलो खेलको नतिजा प्रभावित भएको उनको ठम्याई थियो । पहिलो खेलमा पराजय भोगे पनि अर्को वर्ष हुने एएफसी यु–१९ च्याम्पियनसिपलाई छानिने सम्भावना अझै कायम रहेको उनले बताए ।

‘एउटा खेलमा पराजित भएका छौं । यत्तिमै प्रतियोगिता सकिएको छैन । हामी आगामी खेलका लागि तत्काल तयारीमा जुटनेछौं । हामीले छनोट हुने आशा मारिसकेका छैनौं,’ गत महिना भुटानमा सम्पन्न यु–१९ साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि जिताएका लोप्साङले भने ।

राउन्ड रोबिन पद्दतिमा हुने छनोट प्रतियोगितामा नेपालले बिहीबार बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको तेस्रो खेल शनिबार युएईसँग हुनेछ भने अर्को बुधबार अन्तिम खेलमा टोलीले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्को वर्ष अक्टोबर १८ देखि नोभेम्बर ४ सम्म इन्डोनेसियामा हुने एएफसी यु–१९ च्याम्पियनसिपका लागि विभिन्न १० छनोट समुहबाट विजेताले स्वत स्थान पक्का गर्नेछन् । यसवाहेक १० समुहका उपविजेतामध्ये उत्कृष्ट पाँच र आयोजक इन्डोनेसिया गरी १६ टोलीको प्रतियोगितामा सहभागिता रहन्छ । इन्डोनेसियामा हुने च्याम्पियनसिपमा शीर्ष चार स्थान हासिल गर्ने टोली २०१९ मा हुने १९ वर्षमुनिको विश्वकपलाई छानिन्छन् ।

किर्गिस्तानका मुख्य प्रशिक्षक निकोलाई लुझानिनले आफ्ना खेलाडीहरु सुरुमा नेपालको सामना गर्न आत्तिए पनि खेल सुरु भएको केही बेरमै लय समाएको बताए । ‘सुरुमा खेलाडीहरु आत्तिएका थिए, तर केही बेरमा हामी खेलमाथि नियन्त्रण राख्न सफल भयौं,’ उनले भने, ‘हामीले नेपाललाई धेरै अवसर सिर्जना गर्न दिएनौं । जितका साथ प्रतियोगिता सुरु गर्नु पक्कै पनि सकारात्मक पक्ष हो । तर हामीले धेरै सुधार गर्नुपर्नेछ ।’

प्रकाशित: १५ कार्तिक २०७४ ०४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App