१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

नेपालमा बुटिक व्यवसाय

सुस्मिता लाल
नेपालमा बुटिक व्यवसायको इतिहास प्रजातन्त्र आएपछि सुरु भएको हो । त्यसअघि राणा प्रधानमन्त्रीहरूले आफ्ना महारानीहरूलाई विदेश जाँदा विश्व बजारमा चलेका साडी लगायत सामग्रीहरू ल्याइदिन्थे । तर, त्यसमा आम जनताहरुको पहुँच भने थिएन । प्रजातन्त्र स्थापना भएपछि व्यवसाय विस्तार तथा आधुनिकरण भएसँगै सहर केन्द्रित साडी सोरुम हुँदै बुटिकको जन्म भएको हुन थाल्यो । दुई दसक अघिदेखि फस्टाउँदै आएको बुटिक व्यवसाय महिलाहरुको मात्रै नभएर पुरुषहरुको पनि पहिलो रोजाइमा पर्ने गरेको छ । त्यही अनुपातमा व्यवसाय विस्तार हुँदैगएको छ भने बुटिक सहरी क्षेत्रमा अनिवार्यजस्तै बनिसकेको छ ।
साधारणतः बुटिक भन्नाले कपडा डिजाइन तथा सिलाइ गर्ने व्यवसायलाई जनाउँछ । बुटिकमा अर्डरअनुसार व्यक्तिको वर्ण उचाइ, मोटाइलगायत कुरालाई ख्याल गरेर उपयुक्त डिजाइन दिने काम गरिन्छ । बुटिक पारखीहरूका अनुसार शरीरलाई सुहाउँदो किसिमको कपडा सिलाइ तथा डिजाइन हुने स्थान नै बुटिक हो । काठमाडौंमा थापाथली, लाजिम्पाट, जमल, कुमारीपाटी लगायत ठाउँहरुमा बुटिकहरु रहेका छन् ।
क्यास क्रेयटिभ एन्ड स्टाइल हाउसका प्रमुख संगीता खड्काका अनुसार अहिले बुटिकको बिजनेस त्यति धेरै चलेको छैन । एक दुई वर्षअगाडि बुटिकको बिजनेसमा धेरै फाइदा थियो । बुटिकको टेलरिङमा बढी खर्च हुन्छ । अन्य ठाउँमा सिलाएको लुगाको भन्दा बुटिकमा सिलाएको लुगाको फिनिसिङ राम्रो हुन्छ । त्यसैले गर्दा ग्राहकले  आफ्नो लुगाहरु बुटिकमा बनाउने चलन बढ्दो छ । बुटिकमा बनाएका लुगा बलियो र टिकाउ हुन्छ । क्यास क्रेयटिभ एन्ड स्टाइल हाउसमा मध्यम वर्गीयदेखि उच्च वर्गका ग्राहक आउने गर्छन् । त्यसैले यहाँ हरेक किसिमका लुगाहरु बन्ने खड्का बताउँछिन् । यहाँ रेडिमेड कुर्तीका साथै ग्राहकको माग अनुसारका कुर्ती बनाउने गरिन्छ । यस बुटिकमा डिजाइनर कुर्तीहरु बनाउने गरिन्छ । यसले आपूmलाई चाहिने कच्चा पदार्थहरु भारतको दिल्लीबाट ल्याइने खड्का बताउँछिन् ।
दसैँ र तिहारका लागि लाइट रंगहरु जस्तै पहेंलो, पिङ्क, पिच, नीलो लगायतका रङका कपडाबाट विभिन्न परिधान बनाइएको उनी बताउँछिन् । यसपालि दसैँ र तिहारका लागि लेहेँगाको माग बढ्दो छ । अहिले लेहेँगा भन्दा लेहेँगासँग आउटरको माग पनि बढिरहेको छ । पहिले ग्राहकहरु धेरै उज्याला रङ र हेभी बोर्डर भएका लेहेँगा मन पराउँथे भने अहिले ग्राहकहरुले हल्का रङ र कम बोर्डर भएको लेहेँगा मन पराइरहेका छन् । यस बुटिकले ग्राहकको माग र मूल्य अनुसारको लुगा बनाइदिन्छ । यसले विशेष गरेर दुलहीका परिधान पनि निर्माण गर्ने गर्छ । यसले हिन्दु तथा इसाई दुलहीका लागि विभिन्न किसिमका लुगा तयार पार्ने गरेको छ । यसपालिको दसैँ र तिहारका लागि क्यास क्रेयटिभ एन्ड स्टाइल हाउसले गाउन, वन पिस, रसल र सिल्कको अलि खस्रा लुगाहरु ल्याएको छ ।
जूनकीरी बुटिककी विमला महर्जनका अनुसार पहिलेका बच्चाहरुलाई बुबाआमाले जस्तो लुगा ल्याइदिए पनि लगाउँथे तर अहिलेका बच्चाहरु पहिलेजस्तो छैनन् । उनीहरु पनि ‘चुजी’ भइसकेका छन् । अहिले उनीहरुले पनि स्टाइलिस्ट लुगाहरु खोज्न थालिसकेका छन् । उनीहरु आफ्ना साथीहरुभन्दा भिन्न र राम्रो देखिन चाहन्छन् । बच्चाहरुले विशेष गरेर कलरफुल लुगाहरु लगाउन मन पराउँछन् । बच्चाहरुले विशेष गरेर  रातो, पहेंँलो, गुलाफी, सेतो रङका लुगा लगाउन मन पराउने महर्जनको भनाइ छ । बुटिकले ग्राहकहरुलाई दसैँ÷तिहारका लागि ५० प्रतिशतसम्मको डिस्काउन्ट दिइरहेको छ ।
अधिकांश बुटिकहरूमा भारत, जापान र कोरियाबाट कच्चापदार्थ आयात गरिन्छ । त्यसमध्ये पनि ८० प्रतिशत भारतको कच्चा पदार्थ प्रयोग हुने व्यवसायीहरू बताउँछन् । शहरीकरणसँगै उपत्यका बाहिर पनि  बुटिकको संख्या बढ्दै गएको छ । उपत्यका बाहिरका पोखरा, धरान, बुटवल, विराटनगर, नारायणगढ लगायतका स्थानमा बुटिक खुल्न थालेका छन् ।
केही बुटिकहरुले अनलाइनमार्फत पनि आफ्नो बिजनेस गरिहेका छन् । मारसल द बुटिक यस्तै बिजनेस गर्नेमध्येको एउटा हो । यसले आफ्नो ग्राहकलाई अनलाइन सेवा दिइरहेको छ । बुटिकले आफ्नो वेबसाइटमा आफ्ना नयाँ नयाँ डिजाइनका लुगा राख्ने गर्छ । त्यसलाई हेरेर ग्राहकहरुले अनलाइनमार्फत् लुगाको अर्डर गर्छन् । यस बुटिकले लुगाको डेलिभरी पनि गरिदिन्छ । यसले गर्दा मानिसहरुको धेरै समय बच्ने गर्छ ।
अहिले नेपाली बजारमा विभिन्न किसिमका बुटिकहरु सञ्चालनमा रहेका छन् । यसले ग्राहकहरुलाई आपूmले खोजेको र रोजेको लुगा लगाउन सजिलो बनाएको छ ।  

प्रकाशित: १८ कार्तिक २०७४ ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App