१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘हामी आफूलाई मात्रै हतार भएको ठान्छौँ’

विपिन कार्की, अभिनेता
तपाईंलाई मनपर्ने सहर कुन हो ?
धेरैलाई पोखरा मन परेजस्तै मलाई पनि पोखरा नैै मनपर्छ । यो सहरमा धुवाँधुलो र प्रदूषण छैन । पोखरा रमणीय ठाउँ हो । फेवाताल, प्याराग्लाइडिङ, गुफा र वरिपरि देखिने स–साना हिमाल त्यहाँका मुख्य आर्कषक हुन् । पोखरामा घुम्न र रम्न पाउने क्षेत्र धेरै छन्।

काठमाडौं उपत्यका कस्तो लाग्छ ?
काठमाडौं पनि राम्रो लाग्छ । यो सहरलाई मैले धेरै नजिकबाट चिन्न पाएको छु । मैले आफ्नो जीवन संर्घषको सुरुवात यहीबाट गरेको हुँ । काठमाडौंमा हरेक सेवा सुविधा पाइन्छ । उपत्यका महŒवपूर्ण ऐतिहासिक सहर मानिन्छ । उपत्यकाले नेपाली सभ्यताको इतिहास बोल्ने किंवदन्ती छन् । उपत्यका मठ–मन्दिर र मौलिक कलाले सजिएका छन् । यहाँ टोलैपिच्छे फरक–फरक संस्कृति पाइन्छ । यो यहाँको अर्को महत्वपूर्ण पक्ष हो।

उपत्यकाको अस्तव्यस्त देख्दा दिक्क लाग्दैन ?
अति नै दिक्क लाग्छ, तर कतिन्जेल दिक्क मान्ने ? कहिलेकाहीँ त म कस्तो सहरमा बाँचेछु भन्ने लाग्छ । यहाँका सरकारी निकायले दिने झन्झट र जनताको जीवनमाथि हुने खेलवाडको विरोध पनि हामी गर्न सक्दैनौँ । सहरवासी सहरप्रति नै सचेत छैनन् । बरु सहन्छन्, तर दुःख गर्न खोज्दैनन् । जिम्मेवार निकायलाई खबरदारी गर्न सकेको भए विकास निर्माणका काम छिट्टै सकिन्थे । हाम्रो देशमा सरकारी निकायको कामकाज पनि पारदर्शी हुँदैन । कतै–कतै विकास निर्माणका काम भएको देख्दा खुसी लाग्छ । यहाँका धेरै पक्षहरू राम्रा हुँदाहुँदै पनि केही नकारात्मक कुराले काठमाडौंलाई अव्यवस्थित बनाएको हो।

तपार्इंको विचारमा काठमाडौं कसरी राम्रो बन्ला ?
सरकारी निकाय र सहरवासीले बेवास्ता नगरेको भए काठमाडौं यस्तो दिक्क लाग्दो हुँदैनथ्यो होला । काठमाडौं बिग्रनुको मुख्य कारण विकास निर्माण समयमै नहुनु हो । सरकारले सुरु गरेका विकास निर्माणलाई छिट्टै सक्ने, सहरलाई हरियाली र सफा राख्ने काम अघि बढाएको भए उपत्यका अव्यवस्थित हुने थिएन।

काठमाडौं बाहिरका सहर कत्तिको घुम्नुभएको छ ?
प्रायः सबैजसो सहर पुगेको छु । मलाई सहरभन्दा मौलिकता बोकेका ग्रामीण क्षेत्र घुम्न मन लाग्छ । ग्रामीण भेगमा घुम्दा आफ्ना पुराना कुरा जान्न पाइन्छ।

तपाईं कुन–कुन देशका सहर घुम्नुभएको छ ?
मैले पाँचभन्दा बढी देशका सहर घुमेको छु । त्यसमध्ये बंगलादेशको ढाका, भारतको नयाँ दिल्ली र चीनको बेइजिङ मलाई राम्रो लाग्यो । विदेशी सहर व्यवस्थित, अनुशासित, शान्त र सुविधायुक्त छन् । हाम्रा सहर व्यवस्थित छैनन्।

विदेश घुम्दा कस्तो महसुस भयो ?
रमाइलो लाग्यो । म नाटक देखाउने सिलसिलामा नेपालभन्दा बाहिर घुमेको हुँ । नेपाल नछाड्दासम्म विदेशका सहर यस्ता छन् भन्ने सुनेको मात्रै थिएँ, तर प्रत्यक्ष देख्न पाउँदा रमाइलो र ठाउँ बुझ्ने अवसर पाएँ।

हाम्रा सहर किन व्यवस्थित बन्न सकेनन् जस्तो लाग्छ ?
हाम्रामा उच्चपदस्थ अधिकारीहरू विदेशका मुख्य सहर घुमेका छन्, तर उनीहरू आफ्नोमा काम गर्दैनन् । बनाउँदा हाम्रा सहर विश्वकै नमुना बन्न सक्छन् । यहाँको प्राकृतिक सुन्दरता अरु मुलुकमा विरलै पाइन्छ । प्राकृतिक रूपमै सुन्दर हाम्रा सहरलाई व्यवस्थित गर्न मात्र जरुरी छ।

तपाईं आफ्नो सपनाको सहर कस्तो होस् भन्ने चाहनु हुन्छ ?
मेरो सपनाको सहर यस्तो होस्, जहाँ सबैखाले सेवासुविधा होस् । कतै पनि भद्रगोल नदेखियोस् । आफ्ना इच्छा पूरा गर्न विदेशी मुलुकमा जान नपरोस् । सहरमा स्वच्छ श्वास फेर्न पाइयोस् । सहरभित्र हरियाली पार्क होस् । सहरवासीमा सहयोगी भावना देखियोेस् । दुःख पर्दा एकले अर्कोलाई हात दिउन्।

यहाँका नकारात्मक पक्ष के हुन् ?
अव्यवस्थित र जोखिमपूर्ण सडक, हदैसम्मको ट्राफिक जाम, अव्यवस्थित पार्किङ, भिडभाड, र प्रदूषणले काठमाडौंलाई बिगारेको छ । यी समस्या समाधान हुने हो भने सहर व्यवस्थित बन्छ।

यहाँका मनपर्ने पक्ष के हो ?
काठमाडौैंमा सबैखाले सेवा–सुविधा पाइन्छ, यो नै यहाँको राम्रो पक्ष हो । सांस्कृतिक सम्पदा, जात्रा पर्व, मठ–मन्दिर, अनुकूल मौसम लगायत पक्ष हेर्दा काठमाडौं रामो लाग्छ।

सहरवासीको बानी कस्तो लाग्छ ?
सहरमा बस्नेहरू सहरप्रति सचेत छैनौँ । सहरवासीकै गलत सोच र प्रवृृतीले सहर बिग्रिएको हो । सहरमा बस्नेहरू आफूलाई मात्रै हतारमा रहेको ठान्छन् । जथाभावी फोहोर फाल्ने, सडक पार गर्ने, जबरजस्ती भवन बनाउने काम सहरवासीले गरिरहेका छन्।

सहर विकासका लागि आफ्नो तर्फबाट के गर्नु भएको छ ?
म एक्लैले गर्दा सहर बन्ने होइन । सहर बनाउन हामी सबैको सोच र नियत ठिक हुनुपर्छ। सबैले आफ्नो घरबाट निस्किएको फोहोर सही ठाउँमा राख्ने हो भने पनि सहर यतिधेरै फोहोर हुने थिएन । हाम्रो सहरका समस्या कुनै व्यक्तिसँग भन्दा पनि कुनै निकायसँग बढी सम्बन्धित छन् । सरकारी निकाय जिम्मेवार र पारदर्शी नभएकाले सहर बिग्रिएको हो।

उपत्यका नजिकै घुम्न मनपर्ने ठाउँ ?
ककनी, नगरकोट, धुलिखेल, दोलालघाटलगायत ठाउँतिर जान्छु । यी ठाउँ रमणीय लाग्छन्।

मन भएर पनि घुम्न नपाएको सहर ?
मलाई अमेरिकाको लस भेगास घुम्ने मन छ । त्यहाँको फोटो र भिडियो हेरेको थिएँ एकदमै रमाइलो लाग्यो।

उपत्यकाको मनपर्ने खानेकुरा ?
यहाँको झोल मःमः मीठो लाग्छ ।

प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: २२ माघ २०७४ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App