१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यालयले उठाएको परीक्षा शुल्क मेयरको निर्देशनपछि फिर्ता

रौतहट– रौतहटको ईशनाथ नगरपालिकाका विद्यालयले विद्यार्थीबाट उठाएको परीक्षा शुल्क फिर्ता गरेका छन्। नगर प्रमुख सन्तोष मेहताले नगरको कक्षा १ देखि १० सम्मका सम्पूर्ण छात्रछात्राको परीक्षासम्बन्धी व्यवस्था नगरपालिकाले व्यहोर्ने बताएपनि केही विद्यालयले आफूखुसी विद्यार्थीबाट परीक्षा शुल्कको नाममा रकम असुल गरेका थिए। प्रमुख मेहताले केही विद्यालयले रकम असुलेको गुनासो सुनेपछि स्थलगत निरीक्षण गरेर विद्यार्थीको रकम फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिएपछि विद्यार्थीको हातमा रकम फिर्ता भएको हो।

जिल्लाको शिक्षा देशमै कमजोर रहेको भनेर तथ्यांकमा आएपछि केही स्थानीय तहले विद्यालय तहको परीक्षा निःशुल्क गराउन थालेका छन्। कटहरिया र गढीमाई नगरपालिकाले गत अर्धवार्षिक परीक्षादेखि नै परीक्षाको सम्पूर्ण व्यवस्थापन निःशुल्क गर्दै आइरहेको छ। 

परीक्षामा लाग्ने प्रश्नपत्रको निर्माण, कपी, परीक्षामा काम गर्ने कर्मचारी, कपी परीक्षण, खाजा र नतिजा प्रकाशनसम्मको परीक्षाको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले बेहोरेपछि अभिभावक र विद्यालय दुवैलाई सजिलो भएको नगरस्तरीय परीक्षा समिति कटहरियाका संयोजक भुरेन्द्र पंडितले जानकारी गराएका छन्। यसैगरी गढीमाई नगरपालिकामा रहेको शंकर गुदर माविका प्रधानाध्यापक देवेन्द्र साहले नगरपालिकाले नै परीक्षा सम्बन्धी सम्पूर्ण व्यवस्थापन हेरेपछि विद्यालय र शिक्षकलाई पनि निकै सजिलो भएको र अभिभावकहरु पनि सन्तुष्ट भएको बताएका छन्।

ईशनाथ नगरपालिकाले भने वार्षिक परीक्षामा आएर परीक्षाको सम्पूर्ण खर्च व्योहोर्ने बताएको थियो। कतिपय विद्यालयमा केही ढिलो गरी सूचना पुगेकोले कतिपय विद्यालयले परीक्षा शुल्क संकलन गरिरहेको थियो। नगर प्रमुख मेहताले स्थलगत अनुगमन गरेर जानकारी गराएपछि विद्यालयहरुले परीक्षा शुल्क फिर्ता गरेको एकजना शिक्षकले जानकारी गराएका छन्।

जिल्लाको सम्पूर्ण सामुदायिक विद्यालयमा गत फागुन २८ देखि वार्षिक परीक्षा सुरु भएको छ। जिल्ला शिक्षा कार्यालय रौतहटले कक्षा ८ को आधारभूत तहको परीक्षा फागुन २९ देखि लिने निर्णय गरेपछि जिल्लाका झण्डै सबै स्थानीय तहले एकसाथ सबै कक्षाको वार्षिक परीक्षा संचालन गरेका छन्।

प्रकाशित: ३ चैत्र २०७४ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App