१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ह्विलसेयरको चाहना आर्सनल नै

लन्डन – आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले मिडफिल्डर ज्याक ह्विलसेयरलाई सिजन सकिनुअघि नै क्लब छाड्ने अनुमति दिए पनि उनले भने क्लबमा स्थान बनाउन अझै लडिरहने बताएका छन् ।

खुट्टाको चोटका कारण पहिलो रोजाइमा स्थान बनाउन संघर्षरत ह्विलसेयर गत सिजन लोनमा बर्नमाउथ गएका थिए । पूर्ण रूपमा स्वस्थ नभएका ह्विलसेयरलाई वेंगरले जनवरी सरुवाको एक महिनाअघि नै क्लब छाड्न चाहे कुनै अवरोध नगर्ने बताएका थिए । तर अन्य क्लबहरूबाट समेत आकर्षक प्रस्ताव नआएपछि उनले आर्सनल बसाइ नटुङ्ग्याउने निर्णय लिएका थिए।

‘वेंगर र मेरो बीचमा क्लब सम्झौताको विषयमा धेरै पटक छलफल भएका छन्,’ ह्विलसेयरले भने, ‘उनले मलाई क्लबले सम्झौता थप्न नचाहेको र अन्य क्लबबाट प्रस्ताव आए आर्सनल बसाइ टुंग्याउन सक्ने बताएका थिए।’ ‘म उनको प्रस्तावमा सन्तुष्ट छैन,’ ह्विलसेयरले थपे, ‘तर उनले मलाई आर्सनल बस्न चाहे आफ्नो स्थानका लागि लड्न सुझाव दिएका छन् र म त्यसका लागि मिहिनेत गर्न तयार छु।’

यस सिजन क्लबबाट ३१ खेलमा सहमागिता जनाएका ह्विलसेयर २०१६ पछि पहिलो पटक इङ्ल्यान्ड राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका थिए । उनी र आर्सनलबीचको सम्झौता यसै सिजनको अन्त्यसम्म मात्र बाँकी छ  । उनी जुनमा हुने रूस विश्वकपअगावै भविष्यका बारेमा निर्णय लिन चाहन्छन्।

‘मेरो क्लबसँगको सम्झौता सकिन अझै ३ महिना बाँकी छ । म यस अवधिमा आफूलाई प्रमाणित गर्दै क्लबको सम्झौता नथप्ने निर्णयमा परिवर्तन भएको हेर्न चाहन्छु,’ उनले भने, ‘आशा छ विश्वकप अगावै यस विषयमा निर्णय लिइनेछ ।’ इङ्ल्यान्डले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार नेदरल्यान्ड्स र मंगलबार इटालीको समाना गर्दै छ।

प्रकाशित: ९ चैत्र २०७४ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App