१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘सहर कुरूप हुँदा नेतालाई लाज लाग्नुपर्ने हो’

सुरेन्द्र केसी, हास्य कलाकार 

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई मनपर्ने सहर पोखरा हो । यहाँ प्रकृतिले नै अनुपम सौन्दर्य भरेको छ । यहाँको मौसम र प्राकृतिक सौन्दर्यले मन लोभ्याउँछ । देशका अन्य सहरभन्दा पोखरा धेरै भिन्न छ । पहाडको नजिक पर्ने यति सुन्दर सहर विश्वमा सायदै होलान्। 

काठमाडौं उपत्यका कस्तो लाग्छ ?
काठमाडौं सहर आफैँमा नराम्रो होइन । अहिलेभन्दा १० वर्ष पहिलेको उपत्यका हेर्ने हो भने धेरै व्यवस्थित र शान्त थियो। उतिबेलाको व्यवस्थित सहर अहिले बस्नै नमिल्नेजस्तो भएको छ । सहरभरि प्रदूषण मात्रै छ । हामीले अलिकति मात्रै ध्यान दिएको भए काठमाडौं यति धेरै बिग्रने थिएन होला । मैले आफ्नो करिअर यहीँबाट सुरु गरेकाले पनि यो सहर मलाई रामै्र लाग्छ । यहाँ हरेक सेवा–सुविधा छन्, धेरैले रोजगार पाएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्र पनि देशका अरु भागमा भन्दा काठमाडौंमा राम्रो छ।  

तपाईंको विचारमा काठमाडौं बिग्रनुको कारण के होला ?
सहरका नागरिक सचेत छैनन् । सहरको कानुन समान छैन । सहरभरि अशिक्षित छन् । एकले अर्कालाई सम्मान गर्न जान्दैनन् । छिमेकीकै खुट्टा तानेर अघि बढ्न खोज्छन् । कसरी होस् सहरको विकास ? 
उपत्यकामा जब मानिसको घनत्व बढ्दै गयो, तब अव्यवस्थित बन्दै गएको हो । बनाउने हो भने काठमाडौं धेरै सुन्दर बन्न सक्छ । तर, कसले बनाउने भन्ने प्रश्न उठ्न । काठमाडौंमा वर्षौं बसेर पनि सहरको विकास गर्न नसक्ने नेताले सहरमै बसेर राजनीति गरिरहेका हुन् । सहर यति कुरूप हुँदा ती नेतालाई पनि लाज लाग्नुपर्ने हो । तर हाम्रा नेतामा लज्जापन छैन । जस्तोसुकै काम गरे पनि नेताहरू लाज मान्दैनन् । सहरको कानुन सामान्य नागरिकलाई मात्रै लाग्छ । ठूलाबडा नेतालाई कानुनले छोएन, त्यसैले पनि सहर यति धेरै कुरूप भएको । 
 
सहरको विकासमा नागरिकले कस्तो भूमिका निभाउनुपर्ला ?
सहरको विकास नागरिक र त्यहाँको सरकारसँग जोडिएको हुन्छ । आफू बसेको ठाउँको विकास गर्नु र सफा राख्नु हरेक नागरिकको दायित्व हो । तर, हाम्रो सहरमा बस्ने नागरिक अराजक छन् । कोही पनि सहरप्रति संवेदनशील छैनन् । सबैले आफूअनुकूल काम गरेका हुन्छन् । यसले गर्दा सहरको विकास हुन नसकेको हो । 

काठमाडौंको राम्रो लाग्ने पक्ष ?
यहाँका केही ठाउँ र कुरा दिक्क लाग्ने भए पनि धेरै थोक राम्रा छन् । सहरलाई सानातिना कुराले मात्रै कुरूप बनाएको हो । हामीले चाहने हो भने ती समस्या समाधान गर्न समय लाग्दैन । ऐतिहासिक मठ–मन्दिर, सबैखाले सेवा–सुविधा र मौसम पनि राम्रो छ । यी पक्षलाई हेर्दा उपत्यका राम्रो लाग्छ । 

उपत्यकाबाहिर कुन–कुन ठाउँ राम्रो लाग्छ ?
पोखरा, नारायणघाट, दमक, विराटनगर, बुटवल, वीरगन्ज, धनगढीलगायत सहर पुगेको छु । यी ठाउँ अलि व्यवस्थित र सफा लाग्छन् । उपत्यका मन्दिरै मन्दिरको सहर हो । यहाँ ऐतिहासिक सम्पदा छन् । यहाँको हावापानी र वरपरका हरियाली डाँडाकाँडा अति नै सुन्दर लाग्छ । 

तपार्इंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ? 
आफू बसेको ठाउँ सफा होस् भन्ने सबैको चाहना हुन्छ । सहरका चोक हरियाली होऊन् । सहरको सबैतिर सफा होस् । सडक र यातायात व्यवस्थित होऊन् । दुर्भाग्य, हाम्रा सहर यस्तो हुन सकेन । 

सहरको विकासका लागि के गर्नुपर्ला ?
भेडाजस्ता जनता सचेत हुनुपर्‍यो । अदूरदर्शी नेताहरूमा चेतना आउनुप¥यो । लोभ, लालच भुलेर आफूले गर्ने काम नेताले गर्नुपर्‍यो । आफ्नो उद्देश्यप्रति कटिबद्ध भएर लाग्नुप¥यो । सहरमा बस्ने कोही पनि गतिछाडा हुनु भएन । सहरको विकासका लागि सरकारी निकायले प्लानिङ गर्नुपर्छ । मनलाग्दी नीति–नियम बनाउन कसैलाई पनि छुट छैन । कुनै पनि मुलुकमा सहरलाई कस्तो बनाउने सरकारकै हातमा हुन्छ । 

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
विश्वमा सुन्दर मानिने प्रायः सहर पुगेको छु, घुमेको छु । अमेरिका, हङकङ, दुबई, बेल्जियम, अस्टे«लियालगायत देशका सहर पुगेको छु । विदेशका सहर अति नै सुन्दर छन् । सबैतिर व्यवस्थित छन् । त्यहाँ नियमले सबैलाई बाँधेको हुन्छ । त्यहाँ कानुनमा जे छ, त्यो कार्यान्वयन भएरै छाड्छ । हाम्रोमा त्यस्तो भएन । 

यी देशका कुन–कुन सहर पुग्नुभयो ?
बेल्जियमको बुज, हङकङ, मेलबर्न, सिड्नी, आबुधाबीलयागत सहर पुगेँ । 

यीमध्ये धेरै मनपरेको सहर ?
घुम्दाखेरी अनौठो र असाध्यै राम्रो लागेको बेल्जियमका केही सहर पनि हो । त्यहाँ आधुनिक र पुरानो दुवै शैलीबाट सहर बनेको छ । त्यहाँ ढुंगैढुंगाका दरबार छन् । सहरमा तलाउ, पोखरी र सुन्दर पार्क छन् । सडकका छेउछाउ ढुंगा छापिएका छन् । यसले सहरलाई सुन्दर बनाएको छ । 

नेपालका सहर र बाहिरका सहरबीच के भिन्नता पाउनुभयो ?
धेरै भिन्नता छ । विदेशका सहरमा मानिस नीति–नियमले चलेका छन् । सहरमा बस्नेले नचिनेकालाई पनि सत्कार गर्छन् । बिहान भेट्दा गुडमर्निङ र साँझ भेट्दा गुड इभिनिङ टक्र्याउँछन् । यो नै रमाइलो लाग्यो । विकास निर्माणका हिसाबले हामी धेरै पछि छौँ । अरु देश विकासको शिखरमा पुगिसकेँ, तर हामी पछि छौँ । 

हाम्रा सहरलाई पनि त्यसै व्यवस्थित पार्न के गर्नुपर्ला ?
सरकारले काम गर्नुपर्‍यो । सरकारी कर्मचारी हात बाँधेर र घुस खाएर बस्न भएन । सबैले आफ्नो दायित्व निभाउने हो भने सहर र समाज सबैतिर राम्रो हुन्छ । 

काठमाडौं कसरी सफा होला ?
मुख्यतः सहरभित्र बस्नेले तोकिएको स्थानमै फोहोर पाल्नुपर्‍यो। सरकारले ल्याएको नीतिलाई पालना गर्नुप¥यो । हाम्रोमा कानुनलाई माने पनि हुन्छ, नमाने पनि हुन्छ । एक हिसाबले कानुनलाई धर्मजस्तै बनाइएको छ । त्यसैले सहर फोहोर भएको हो । 

काठमाडौंको मननपर्ने पक्ष ?
धुवाँधुलो, ट्राफिक जाम र प्रदूषण कसलाई मनपर्ला र ? 

उपत्यकानजिकै कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
फर्पिङभन्दा माथि पर्ने फाखेल जान मनलाग्छ । फुर्सद हुँदा यहाँ पुग्ने गर्छु । 

उपत्यकाको मनपर्ने खानेकुरा ?
नेवारी खाना मीठो लाग्छ ।

पछिल्लो समय घुमेको सहर ?
केही समयअघि अस्ट्रेलियाको सिड्नी र मेलबर्न सहर गएको थिएँ ।
कस्तो लाग्यो ?
निकै रमाइलो लाग्यो, यी सहर संसारका मानिसको सपनाको ठाउँ हुन् । 

मन भएर पनि पुग्न नपाएको सहर ?
मलाई तीनवटा ठाउँमा घुम्ने मन थियो, त्यसमध्ये दुई ठाउँ पुगिसकेको छु । अब पुग्न बाँकी भनेको अमेरिकाको लस भेगास हो । 
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ९ चैत्र २०७४ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App